बिजपाटी सम्बाददाता     Jul 11, 2020 | 09:48:31 AM


tansen

बिएन धिताल

सन् २०२० को आधा समय सकियो तर आधा शताब्दीक नै सकिए जस्तो लाग्छ  । विश्व अनि देशमा केहि समयको अन्तरालमा मात्र केहि त्यस्ता परिवर्तनहरु देखा पर्ने गरेको ईतिहाँस छ । तर यो वर्षको गएको ६ महिनासम्मको अवस्था हेर्दा कहालीलाग्दो अवस्था छ । लाग्छ, यो साल विश्वभर प्रकोप, विपद् र महामारी मात्र हुनेछ । कतै मानव अश्तित्वनै समाप्त हुन लागेको त होइन भन्ने भान हुन्छ । 


नव वर्षको आगमन सुरु हुन नपाउँदै अष्टे्लियाको एक जंगलमा लागेको आगोले अन्य देशमा मनाईदै गरेको नव वर्ष पनि खल्लो बनायो । सबै मानिसको हर्षोउल्लास बिलिन भयो । २१० दिन सम्म लागेको आगोले लाखौं जनावर, बोटबिरुवा र हजारौं भौतिक संरचनामा नोक्सानि पुर्याएको थियो । मेडिकल जर्नल अफ अष्ट्रेलियाले सार्वजनिक गरेको प्रतिवेदनमा भनिए अनुसार यो आगलागीले करिब १८.६ मिलियन हेक्टर जमिनमा क्षति पुगेको छ र लगभग ५९०० भवन ध्वस्त भएका छन् । त्यो आगलागीबाट ४०० भन्दा धेरै मानिसको मृत्यू भयो । 

यस्तै नववर्षको पहिलो दिननै ईन्डोनेसियामा आएको भिषण बाढिले राजधानी लगायत नजिकका क्षेत्रको विनाश गरेको थियो । जसबाट ४ लाख भन्दा बढि मानिस यस क्षेत्र बाट विस्थापित बन्नुपरेको थियो भने ६६ जनाले ज्यान गुमाएका थिए । 

यसैगरि डिसेम्बर २०१९ को अन्तिममा चिनको वुहानमा पहिलो पटक कोरोना भाईरस देखा पर्यो । यो देखिएपनि यस्तो महामारी आउँछ भनेर कसैले सोचेको थिएन । तर अहिले यसले  महामारी रुप लिई २२७ भन्दा धेरै देशमा फैलिएर  करोडौंको संक्रमण भई लाखौको मृत्यू भईसकेको छ । फेरी यो सगँसगै अहिले अरु फरक किसिमका भाईरस देखापरेको र यसले पनि महाकारीकै रुप लिन सक्ने अनुसन्धानकर्ताहरुले बताउँदै आएका छन् । आजका दिनसम्म पनि यो कोरोना महामारी बिरुद्धको खोप तथा औषधि पत्ता लाग्न सकेको छैन, जसले गर्दा समग्र विश्वनै यसबाट आक्रान्त बनेको छ ।

विभिन्न घटनाक्रमहरुले पनि पुष्टि गरिसकेको छ कि अहिले यस्ता बलियो आधारहरु छन् जसले २०२० मा स्टक मार्केट र ग्लोबल आर्थिक संकट उत्पन्न गर्ने प्रबल सम्भावना छ । ईतिहासमा यस्ता घटना लगभग १० बर्षको अन्तरालमा हुने गरेको  तथ्याङ्क छ। जबकि २००८ मा विश्वभरका मुख्य स्टक मार्केटका लगानीकर्ता संकटमा परेका थिए । हुनत यस्तो आर्थिक संकट जुनै समयमा पनि आउन सक्ने आर्थिक क्षेत्रका विज्ञहरुले बताउँदै आएका छन् तर पनि यो बर्ष आर्थिक संकट आउने उच्च सम्भावना देखिएको छ । सन् २०२० मा विश्व अर्थतन्त्रमा तिन प्रतिशतले ह्रास आउने अनुमान अन्तराष्ट्रिय मौद्रिक कोषले गरेको छ, जुन २००८–०९ परेको विक्तिय संकट भन्दा पनि खराब तथ्याङ्क हो । यसो हुनुमा मूल कारण भनेको कोरोना महामारी र यसको नियन्त्रणका लागि गरिएको बन्दाबन्दिनै हो, भलै अरु यसले निम्त्याएका बाहिय कारण पनि छन् ।

यस्तै ४३ वर्ष पछि सन् २०२० को जनवरीमै फिलिपिन्समा गएको दोश्रो ठूलो ताल ज्वालामूखीले ३ लाख बढि मनिसलाई प्रत्यक्ष प्रभावित पारेको थियो भने ३९ जनाको ज्यान गएको थियो । करिब आठ दिन सम्म गएको ज्वालामूखीले धेरै कृषियोग्य जमिन तहसनहस पारेको छ । 

यसैगरि २०२० मा नै पूर्वि अफ्रिका र एसियाका विभिन्न देशमा बालिनष्ट गर्ने सलह (लोकष्ट) किरा देखिएको छ । यसले ठूलो क्षेत्रफलमा रहेको बालिनालि नष्ट गरीसकेको छ । नेपालमा पनि यसको प्रभाब परिसकेको अबस्था छ । २६ बर्ष पछि देखापरेको यो एकदम हानि गर्ने किराको रुपमा लिईएको छ । १ वर्ग कि. मि. मा रहेको सलहले ३५ हजार जना मानिसलाई पुग्ने खाना एकैदिनमा खानसक्छ । यस्तो विनाशकारी किराले अहिले धेरै देशमा नोक्सानि पारिसकेको छ । अहिले खासगरि नेपालमा यसले मकै र धान बालिमा धेरै क्षति पुर्याएको देखिन्छ । सन् १९६२ मा पहिलोपटक नेपालमा यो देखिएको थियो भलै त्यो समयमा यसले नोक्सानि गरेको थिएन । यस पछि १९९६ मा फेरी देखिएको यो किराले केहि जिल्लाको बालि ८० प्रतिशत सम्म नष्ट गरेको तथ्याङ्क छ । अहिले यो किरा २७ भन्दा धेरै जिल्लामा पुगिुुसकेको र करिब ८० लाख सलह नेपाल प्रवेश गरिसकेको कृषि मन्त्रालयले जानकारी दिएको छ जसले सयौं हेक्टर जमिनको अन्नबालि क्षति गरेको अनुमान कृषि मन्त्रालयले गरेको छ । हावाको बेगसँगै उड्ने भएकोले अझै पनि भारतबाट यी किरा नेपाल छिर्न सक्ने सम्भावना कायम नै रहेकोले सतर्कता अपनाउन विज्ञहरुले आग्रह गरिररहेका छन् ।  यसबाट खाद्य संकट हुन सक्ने अनुमान पनि गरिएको छ ।

यी बाहेक अन्य साना ठूला भूकम्प, आँधि हुरी, चट्याङ्क, बाढी, पहिरोले विभिन्न देशमा हजारौ मानिस विस्थापित र सयौ मानिसको मृत्यू भईसकेको छ । नेपालमा पनि मनसुनजन्य प्रकोपले ठुलो जनधनको क्षति गरिरहेको छ । प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्दै शुक्रबारसम्ममा ३५ जनाको मृत्यु भएको, ३२ जना घाइते भएको र ३४ जना घाइते भएको सार्वजनिक गरेका छन् । 

मूख्यत माथिका दुई कोरोना र सलह महामारीले भने विश्वनै उथलपुथल पारेको छ । यसले गर्दा समग्र देशको आर्थिक, राजनितिक र सामाजिक अवस्थामा परिवर्तन आउने सुनिश्चित छ । धनी र गरिब बिचको खाडल झन् गहिरो हुनेछ । अन्ततः संयूक्त राष्ट्र संघको  सदश्य राष्ट्रले  अबलम्बन गरेका दिगो विकासको १७ लक्ष्यहरु सन् २०३० सम्ममा उद्देश्य प्राप्त गर्न कठिनाई हुनेछ । 

विपद् र प्राकृतिक प्रकोप न बाजा बजाएर आउँछ न त यो रोक्न नै सकिन्छ । सकिन्छ त मात्र यसको न्यूनिकरण, रोकथाम र ब्यबस्थापन गर्न । तसर्थ यस्ता विपद्  र प्रकोपसँग जुध्न पर्याप्त पूर्व तयारी गरौं, न्यूनिकरण र रोकथामका उपायहरु अबलम्बन गरौं अनि आउन सक्ने जोखिम कम गरौं । प्रतिकार्य, उद्दार र पुर्नस्थापनाका कार्यक्रमहरु समय सापेक्ष तबरले संचालन गर्नुनै यस्ता विनाशकारी विपद बाट बिकाश तिर जाने उचित तरिका हो । 

लेखक शान्ति, शुशासन र विकासको क्षेत्रको गैससमा आवद्द छन् ।

लेखकबाट थप : 

कोरोना कहरका सकारात्मक पाटा


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका






Close in 7