अर्थमन्त्रीको अडानले अप्ठ्यारोमा अटो व्यवसाय, क्षेप्यास्त्र प्रहार भएको व्यवसायीको भनाई

निरोज कुमार थापा

निरोज कुमार थापा

Jan 27, 2020 | 05:35:19 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले व्यक्तिगत घर तथा गाडी कर्जामा कडाई गर्दाको असर ‘अटो व्यवसाय’ मा देखिएको छ। राष्ट्र बैंकले पौष ८ गते मंगलबार एक सर्कुलर जारी गर्दै घर तथा गाडी खरिद गर्न ऋणीले लिने कर्जामा कडाइ गरेपछि सुस्ताएको अटो बजार अझ शिथिल बनेको हो । 

किन खस्कियो बजार ?

बैंक कर्जा, डाउन पेमेन्ट र भन्सार दरका कारण व्यवसाय सुस्ताउँदै गएको र यसको असर सरकारलाई नै पर्ने अटो मोबाइल्स डिलर्स एसोसियसन नाडाका अध्यक्ष कृष्ण प्रसाद दुलाल बताउँछन् । सरकारले कर्जामा कडाईँ गर्दा विक्रि कम हुने र विक्रि कम हुँदा आयात पनि कम हुने भएकाले सरकारले लिएको राजश्व लक्ष्य पूरा हुन समस्या आउने उनको भनाई छ । 

नाडाका सचिव अनुप वराल अर्थमन्त्रीले मेरो गोरुको बाह्रै टक्का भनेर अडान लिएका कारण समस्या उहाँलाई नै परेको बताउँछन् । प्रदूषण बढेको भनेर अर्थमन्त्री र अन्य निकायले तर्क गरेकोप्रति उनले आक्रोशित हुँदै प्रश्न गरे, ‘नागरिकले गाडी चढ्दा प्रदूषण बढ्ने, अनि उहाँहरुले चढ्दा नबढ्ने ?’ 

‘अटोमोबाइल्सलाई लक्जरी भन्ने, पैसा सबै विदेश जान्छ भन्ने । जनताले गाडी चढ्दा लक्जरी देख्ने, उहाँहरुले आफू चढ्दा किन देख्नु हुन्न ?’ वरालले अटो क्षेत्रमाथि क्षेप्यास्त्र प्रहार भएको गुनासो गर्दै प्रश्न गरे, ‘एउटा गाडी भित्र्याउँदा दुइवटा बराबरको पैसा सरकारलाई बुझाएका छौँ, कसरी पैसा बाहिर गयो ?’ 

राष्ट्र बैंकले आवधिक कर्जा, घर कर्जा र हार्यर पर्चेज कर्जामा कडाई गर्दै आम्दानीको ५० प्रतिशत भन्दा बढी किस्ता नबढ्ने गरि कर्जा प्रवाह गर्न बैंकहरुलाई निर्देशन दिएसँगै बजार झन खस्किएको अटो मोबाइल्स विक्रेताहरुको गुनासो छ । 

कर्जामा कडाईँ किन ?

आम्दानी अनुसारको मात्रै कर्जा दिनुपर्छ भन्ने उदेश्यले यस्तो व्यवस्था गरिएको राष्ट्र बैंक नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकाल बताउँछन् । आम्दानी थोरै हुनेले पनि धेरै आम्दानी देखाएर बढी कर्जा लिने क्रम बढेपछि त्यसलाई निरुत्साहित गर्न यस्तो व्यवस्था गरिएको उनको भनाई छ । 

‘२० हजार आम्दानी हुनेले पनि लाखको आम्दानी देखाएर बढी कर्जा लिए, जसले गर्दा कर्जाको जोखिम बढ्न पुग्यो’ उनले भने, ‘अब ऋणीको वास्तविक आम्दानी कति हो त्यसैको आधारमा कर्जा प्रवाह हुनुपर्छ भनेर यस्तो व्यबस्था लागु गरिएको हो ।’

मौद्रिक नीतिको समिक्षाले ‘अटो लोन’ लाई के गर्ला ?

नाडा अटोमोबाइल्स डिलर्स एसोसियसनका पदाधिकारीले केही दिन अघि अर्थमन्त्री डाक्टर युवराज खतिवडालाई भेटेर व्यापार सुस्ताएको गुनासो सुनाएका थिए । राष्ट्र बैंकले सवारी कर्जामा कडाइ गरेपछि अटो व्यवसायीहरूले अर्थमन्त्री खतिवडालाई सो व्यवस्थाले व्यवसाय कमजोर बन्दै गएको गुनासो गरेका थिए । 

अटो व्यवसायीसँगको भेटमा अर्थमन्त्री खतिवडाले बैंक कर्जामा भईरहेको व्यवस्था पुनरावलोकन गर्ने भन्दै आश्वासन दिएका थिए । बैंक कर्जा, डाउन पेमेन्ट र भन्सार दरका कारण व्यवसाय सुस्ताएको व्यवसायीका गुनासो मौद्रिक नीतको समिक्षाले समेट्ने संकेत देखिएको छ। 

गाडी कर्जामा कडाईपछि आयात घटेको र सरकारको राजश्व लक्ष्यसमेत पूरा नहुने अवस्था आउने संकेत देखिएपछि अटो लोन केही खुकुलो बनाउन अर्थमन्त्री सकारात्मक देखिएको स्रोतको भनाई छ । हाल गाडी कर्जामा ५० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्ने ब्यवस्था छ । मौद्रिक नीतिको समिक्षाले यो ब्यवस्थामा केही खुकुलो गर्ने सम्भावना रहेको स्रोतको भनाई छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved