अटो व्यवसायी भन्छन्, ‘लकडाउन खोलौँ, हामीलाई सरकारले पैसा दिनुपर्दैन’

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 23, 2020 | 04:26:12 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरसका कारण सम्भाव्य महामारीबाट बच्न मूलुक लकडाउनमा छ । चैत्र ११ बाट सुरु भएको बन्दाबन्दी एक महिना पूरा भएको छ । यसअघि घोषित लकडाउन नै बैशाख १५ सम्म कायम छ, सरकारले अझै केही दिन थप्ने संकेत गरिरहेको छ । 

अटो व्यवसायी भन्छन्, ‘लकडाउन खोलौँ’ 

अटो व्यवसायीहरुले भने अब लकडाउन लम्ब्याउन नहुने तर्क गरिरहेका छन् । अटो व्यवसायीको छाता संगठन नाडा अटोमोवाइल्स डिलर्स एसोसियसनका सदस्य प्रकाश कपुरी सरकारले लकडाउन खोल्नुपर्ने भएपनि कसरी खोल्दा उपर्युक्त हुन्छ भनेर सरकारले नीति बनाउनुपर्ने बताउँछन् । 

‘लकडाउन खुल्नुपर्छ, तर कसरी खोल्ने भनेर सरकारले स्पष्ट निती लिनुपर्छ’ कपुरी भन्छन्, ‘सरकारलाई कर तिर्ने व्यवसायी नै मारमा छन् । तर व्यवसायी मारमा परेका छन् भन्दैमा धन्धाधुन्ध लकडाउन खोल्नुपर्छ भन्ने हाम्रो मान्यता होईन ।’ 

उनले अहिले आयात कम मात्रा भएको र आयातमा हुने खर्च व्यवसायीमा कर्जाका रुपमा प्रवाह गर्नसमेत सरकारलाई सुझाव दिएका छन् । 

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले जतिसक्दो चाँडो लकडाउन खुला हुनुपर्ने बताउँछन् । व्यवसायीहरुले लिएको कर्जाको व्याज बढ्दै गहिरहेको भन्दै उनले तत्काल लकडाउन खोल्न आग्रह गरेका छन् । उनले कर्जाको ब्याज ५ देखि ६ प्रतिशतमा झार्न र असार पछिको ब्याज एक वर्षपछि तिर्न सक्ने व्यवस्था गर्न सरकारसँग माग पनि गरेका छन् । 

‘भन्सार नाकालाई कच्चा पदार्थ मात्रै आयात गर्न पाउने गरी खोल्नुपर्यो, नाकाहरुलाई रेड जोन, ग्रिन जोनमा वर्गीकरण गरेर खोल्ने व्यवस्था गर्नुपर्छ’ उनले भने, ‘नेपाल भित्रका उद्योग खोल्नुपर्छ र सरकारले कृषिमा लगानी बढाउनुपर्छ भन्ने हाम्रो सुझाव र माग दुबै हो ।’ 

अटो क्षेत्रले सरकारलाई १ खर्ब राजश्व बुझाउँदै आएकोमा चालु वर्ष त्यो घटेर ५० अर्बमा झर्न सक्ने अवस्था सिर्जना भएको उनको भनाई छ । सबै किसिमका सवारी साधन थन्किँदा २० लाखको रोजगारी गुमेको स्मरण गर्दै उनले यसले भोली आर्थिक संकटको भयावह अवस्था आउन सक्नेतर्फ बेलैमा सचेत बन्न सरकारलाई अनुरोध पनि गरेका छन् । 

‘सोचौं, गम्भीर भएर सोचौं, हजार पटक सोचौं’ उनी प्रश्न गर्छन्, ‘हामी कति दिन बसेर खान सक्छौँ ? हामीसँग कति दिन पुग्ने खाद्यान्न संचिति छ र कहाँ छ ? भोकै सुत्ने व्यक्तिको संख्या जब करोड पुग्छ, बाँकीले के खान पाउलान ? हाम्रो बजेट कति हो ? कति घाटा हुँदैछ, त्यसपछि के हुन्छ ?’

इतिहासका कुरा गर्दै उनले भने, ‘इतिहास पढ्दा ५औं शदाब्दीमा खाना अभाव भएर मान्छेले मान्छे खाएको इतिहास गुगलमा भेट्न पाइन्छ अब के हुन्छ ? हाम्रो पुस्ताले पनि पढ्ने छन्, कोरोनाकै कारण मान्छे भोक भोकै मर्न थाले भने के हुन्छ ? त्यसैले मेरो अनुरोध छ, बैशाख पछि एक दिन पनि लकडाउन लम्ब्याउनु हुँदैन ।’ 

‘व्यवसायीले सरकारसँग पैसा होइन सहुलियत मागौँ’

व्यवसाय सत्प्रतिशत शून्यमा रहेको अवस्थामा व्यवसायीले सरकारसँग छुटको अपेक्षा गरेको भएपनि पैसा नै माग्न नहुने अध्यक्ष दुलाको तर्क छ । 

‘सरकारकै हालत कमजोर बन्दै गएको छ, ४ खर्ब सरकारले नोक्सान ब्यहोरिसकेको छ । जम्मा १५ खर्ब जतिको बजेट हो, हामी पैसा नै दिनुपर्छ भन्ने पक्षमा छैनौँ, व्यवसायीले ट्याक्स तिरे न सरकारसँग पैसा हुन्छ, व्यवसाय शून्य छ, ट्याक्स तिर्न सक्ने अवस्था छैन । यस्तो बेलामा सरकारसँग माग्ने होईन’ उनले भने, ‘सरकारले केही सुविधा त दिनुपर्छ । कर्जाको ब्याजदरका कुरा, कर्जाको पुर्नतालिकीकरणको कुरा सरकारले गर्दा हुने कुराहरु हुन् । सरकार आर्थिक रुपमा कमजोर बन्नु हुँदैन । त्यसको लागि लकडाउन खोलौँ भन्ने मेरो प्रस्ताव हो ।’

उनले लकडाउन खुल्नासाथ पनि व्यवसाय पूर्ववत् अवस्थामा नफर्कने भन्दै शून्यमा झरेको व्यवसायले गति समात्न केही समय लाग्ने बताएका छन् । तर लकडाउन खुल्ला भए सरकारले व्यवसायीलाई राहत दिन नपर्ने पनि उनको भनाई छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved