हायर पर्चेज कर्जाले थलिए बैंक र व्यवसायी, गाँठो फुकाउने प्रयासमा बैंकर्स

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 06, 2020 | 07:12:33 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोनाको लकडाउनका कारण यातायात व्यवसाय ठप्प भएपछि व्यवसायीसँगै बैंकहरु समेत समस्यामा परेका छन्। व्यवसाय ठप्प हुँदा व्यवसायीहरुले सावाँ ब्याज तिर्न नसकेपछि त्यसले बैंकहरुको व्यवसाय समेत प्रभावित भएको हो। 

कोरोनाका कारण अन्य क्षेत्र प्रभावीत भएपनि यातायात व्यवसाय खरानी नै भएको नेपाल यातायात व्यवसायी महासघंका महासचिव सरोज सिटौलाले बताए। सरकारले साउन २५ देखि छोटो दुरीका सार्वजनिक यातायात खुलाउने भनेपनि पूर्ण क्षमतामा यातायात चल्न नपाएकाले चलाउनु र बन्द हुनुमा कुनै फरक नभएको सिटौलाले बताए। 

सरकारले निर्धारण गरेको मापदण्ड पालना गरेर सवारी चलाउँदा खर्च समेत उठेको छैन सिटौलाले भने, दशैंमा समेत अग्रिम बुकिङमा गाडी खालि खालि नै भए, त्यसैले सवारी चले भन्ने अवस्था नै छैन

चैत ११ यता सार्वजनिक यातायात ठप्प हुँदा समेत सरकारले कुनै राहत तथा सहुलियत दिन नसकेको सिटौलाको गुनासो छ।   कोरोना प्रभावित व्यवसायलाई राहत दिने भनेर सरकारले बजेट तथा मौद्रिक नीति मार्फत बिभिन्न सुविधा घोषणा गरेपनि यातायात व्यवसायीले कुनै पनि सेवा सुविधा तथा राहत नपाएको उनले बताए। 

यातायात क्षेत्र खरानी भएको अवस्थामा समेत नेपाल राष्ट्र बैंकले यातायात व्यवसायीलाई अति प्रभावितमा नराखेको सिटौलाको गुनासो छ।  

राष्ट्र बैकले असारमा मौद्रिक नीति ल्याउँदा कोरोनाको प्रभाव कतिसमय र कहिलेसम्म रहन्छ भन्ने यकिन नहुँदा यातायात व्यवसायलाई मध्यम प्रभावितमा राखेको राष्ट्र बैंकका प्रवक्ता डा गुणाकर भट्टले बिजपाटीलाई बताए। 

त्यो बेलाको परिस्थिति अनुसार नै यातायात व्यवसायलाई मध्यम प्रभावितमा राखिएको थियो मौद्रिक नीतिको पहिलो त्रैमासको समिक्षा हुँदै छ, यसमा अहिलेसम्मको परिस्थिति हेरेर थप निर्णय लिन्छौं  उनले भने। 

त्यस्तै यातायात व्यवसायीहरुले सावाँ ब्याज तिर्न नसक्दा त्यसको प्रत्यक्ष असर बैंकहरुको ब्यालेन्स सिटमा देखिएको छ। यातायात व्यवसायीहरुले तिर्न नसकेको कर्जाको प्रोभिजन गर्नुपर्दा मोटो रकम फ्रिज हुने भएकाले लगानीको अवसर नै बन्द हुने बैंकहरुले चिन्ता जनाएका छन्। 

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार भदौ मसान्तसम्ममा १ खर्ब ७१ अर्ब ५७ करोड रुपैयाँ बराबरको हायर पर्चेज कर्जा गएको छ। यसमध्ये १ खर्ब १४ अर्ब ३८ करोड रुपैयाँ व्यवसायिक उदेश्यको लागि हायर पर्चेज कर्जा गएको छ।  व्यवसायिक उदेश्यले लगानी भएको हायर पर्चेज कर्जाको ५ प्रतिशत मात्रै प्रोभिजन गर्दा झन्डै ६ अर्ब रुपैयाँ फ्रिज हुने देखिन्छ। 

हायर पर्चेज कर्जामा बाणिज्य बैंक भन्दा बिकास बैंक र फाइनान्सहरुको हिस्सा धेरै देखिन्छ। विकास बैंकहरुको कुल कर्जा लगानीको झन्डै ७ प्रतिशत हायर पर्चेजको हिस्सा छ। 

एकातर्फ सावाँ ब्याज नउठ्ने, अर्को तर्फ नउठेको कर्जाको प्रोभिजन गर्नुपर्ने बाध्यताले गर्दा बिशेषगरि बिकास बैंकहरु बढी मारमा परेको एक विकास बैंकका प्रमुख कार्यकारी अधिकृतले बिजपाटीलाई बताए। कोभिड १९ ले यातायात व्यवसायी सबैभन्दा बढी मारमा परेकाले अहिलेको अवस्थामा सबैले जोखिम व्योहोर्नुपर्ने उनको भनाई छ।   

यातायात व्यवसायीले तिर्नुपर्ने ६ महिनाको सावाँ पछि लिने  र अहिले कात्तिकबाट पहिलो किस्ता लिने गरि समस्याको समाधान खोज्नुपर्ने उनको सुझाव छ। 

पछि लिने गरि छुट्याइएको ६ महिनाको सावाँको बैंकले कुनै ब्याज नलिने र नेपाल राष्ट्र बैंकले पनि प्रोभिजन गर्नलाई बाध्य नपार्ने नीति लिने हो भने अहिलेको मूल समस्याबाट व्यवसायी र बैंक दुवैलाई केहि भएपनि राहत मिल्छ उनले भने। 

हायर पर्चेज कर्जामा २० प्रतिशत सम्बन्धित व्यवसायीहरुको लगानी छ भने ८० प्रतिशत बैंकहरुको रहेको छ। सामान्यतया न्यून तथा मध्यम आय भएकाहरु यातायात व्यवसायमा लागेकाले यी बर्गका झन्डै ४ लाख बढी व्यवसायीहरुलाई राज्यले बिशेष राहत प्याकेज दिनुपर्ने ति बैंकर्सको भनाई छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved