बायुसेवा निगममा खरेलद्वारा पदभार ग्रहण, 'दुई पाइलट' हुँदा बिगतको समस्या दोहोरिने चिन्ता

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 18, 2018 | 08:52:50 AM मा प्रकाशित

laxmi  sunrise bank

पुर्वमहाप्रबन्धक मदन खरेलले नेपाल बायुसेवा निगममा कार्यकारी अध्यक्षको पदभार सम्हालेका छन। भदौ ३१ गतेको मन्त्रिपरिषद्को बैठकले खरेललाई निगमको कार्यकारी अध्यक्षमा नियुक्त गरेको हो।

कार्यकारी अध्यक्षको पदभार ग्रहण गर्दै खरेलले कार्यकारी विवादको कुरा टुंगिएको बताउँदै महाप्रबन्धक सुगतरत्न कंसाकारसँग मिलेर अघि बढ्ने बताए। उनले कंसाकारले ल्याएका वाइडबडी विमानको रुट, बजार विस्तार गर्दै भएका जहाजको अधिकतम सदुपयोग गरिने बताए। निगमको ऐनले कार्यकारी अध्यक्ष, महाप्रबन्धक, निर्देशक, प्रबन्धक आदि सबैको काम कर्तव्यबारे उल्लेख भएको जनाउँदै निगमलाई थप उचाईमा आफू लाग्ने बताए।  

बहालवाला महाप्रवन्धक कसांकारले कार्यकारी अध्यक्ष खरेललाई निगमको केन्द्रीय कार्यालयमा स्वागत गर्दै आफ्नो बाँकी साढे ८ महिनाको कार्यकालमा प्रमुख सल्लाहकारको भूमिका निर्वाह गर्ने बताए। सरकारको निर्णयको पालना गर्ने बताउदै उनले विमानसँग जोडिएका थुप्रै विषयमा काम बाँकी नै रहेकाले आफूले निगमबाट राजीनामा नदिने बताए। कंसाकारले पछिल्लोपटक नेपाल वायुसेवा निगममा २३ अर्ब ऋणमा दुईटा वाइडबडी विमान ल्याएका छन्।  

‘जहाज ल्याइयो तर, जहाजको खरिद प्रक्रियाका विषयमा संसदीय समिति, अख्तियार, सरकारको चासो भएकाले यी विषय टुंग्याउन म निगम छाड्दिनँ,’ कंसाकारले भने, ‘केही तत्वहरु निगमलाई धराशायी बनाउन लागिपरेका छन् तर म कार्यकारी अध्यक्षसँगै मिलेर काम गर्ने छु।’

तत्कालीन सरकारले निगमको सञ्चालक समितिको अध्यक्षमा शिवशरण न्यौपानेलाई नियुक्ति गरेपछि महाप्रबन्धक र अध्यक्षबीच असमझदारी बढ्दै गएको थियो। कंसाकारअघि निगममा खुला प्रतिस्पर्धाबाट ०६९ मंसिरमा खरेल महाप्रबन्धकमा छानिएका थिए। ०७३ मंसिरसम्म कार्यकाल रहेका खरेलले आफ्नै सञ्चालक समितिका अध्यक्ष लगायतबाट काम गर्न नसकिने भएपछि ०७१ चैतमा २९ महिनामै राजीनामा दिएका थिए। उनको कार्यकालमा दुईटा न्यरोबडी एयरबस ३२० र दुईटा चिनियाँ जहाज भित्र्याइएको थियो। 

खरेल निगमबाट बाहिरीएपछी सरकारले ०७२ जेठ मा सुगतरत्न कंसाकारलाई महाप्रबन्धकमा नियुक्त गरेको थियो। उनको कार्यकाल आगामी जेठमा सकिँदै छ। 

निगमका कर्मचारीमा बिगतको समस्या दोहोरिने चिन्ता  

खरेललाई महाप्रबन्धकको सबै अधिकार दिइएको बताइएको छ। तर कसलाई के अधिकार दिइएको बारे औपचारिक रुपमा केहि कुरा खुलाइएको छैन। कार्यकारी अध्यक्ष र महाप्रबन्धकबीच अधिकार बाँडफाँडमा स्पष्टता नहुने हो भने निगममा बिगतको देखिएको समस्या दोहोरिने निगमका कर्मचारीहरुले चिन्ता व्यक्त गरेका छन। 

तत्कालिन महाप्रबन्धक कुलबहादुर लिम्बूको समयमा सरकारले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष सुगतरत्न कंसाकारलाई अध्यक्षमा नियुक्त गरेर निगम भित्र्याएको थियो। तर कार्यकारी अध्यक्ष र महाप्रबन्धकको अधिकार बाँडफाँडका कारणले उत्पन्न विवादले निगम धराशायी हुन थालेपछि तत्कालिन पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गबहादुर विश्वकर्माले मन्त्रिपरिषदमा प्रस्ताब लागि दुवैलाई अवकास दिन लगाएका थिए। 

अध्यक्ष खरेल र महाप्रबन्धक कंसाकारबीचको कार्यक्षेत्र र अधिकार बाँडफाँडको बिषय स्पष्ट नहुँदा बिगतको जस्तै समस्या बल्झिनेमा निगमका कर्मचारीले चिन्ता व्यक्त गरेका छन।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved