९० प्रतिशत बजार हिस्सा ओगटेको नेपाल एयरलाईन्स कसरी घाटामा ?

निरोज कुमार थापा

निरोज कुमार थापा

May 16, 2019 | 01:58:05 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायु सेवा निगम अहिले ३५ अर्ब रुपैयाँ ऋणमा छ । मासिक १ अर्ब १३ करोड किस्ता बुझउन हम्मे परेपछि एयरलाईन्सले सरकारसँग हारगुहार गर्यो । सरकारसँग २० अर्ब रुपैयाँ माग गरेपनि सरकारले भने २ अर्ब रुपैयाँ दिने भनेको छ । तर त्यो रकम पनि अहिलेसम्म निगममा पुगेको छैन ।

राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमले अहिले चार वटा विमानमार्फत अन्तराष्ट्रिय उडान भर्दै आएको छ । दुई वटा वाइडबडी र दुई वटा न्यारोबडी जहाजमार्फत उडान भर्दै आएको निगमले जहाज अपुग भएको बताएको छ । 

‘जहाज आवश्यक हो, किन्नु पर्छ । तर आफैँ निर्णय गरेर किन्ने अवस्थामा निगम छैन’ निगमका एक उच्च अधिकारीले भने, ‘मन्त्रीपरिषद्ले निर्णय गरेर किन्यो भने सहज हुन्छ, केही लफडा पनि हुँदैन ।’ वाईडबडी जहाज खरिदमा अनियमितता भएको भन्दै प्रचार भएपछि अहिले निगम आफैँ निर्णय गरेर जहाज ल्याउने मनशायमा छैन । 

कस्तो छ बजार हिस्सा ?

भारतको जेट एयरवेजले नेपालमा उडान बन्द गरेपछि जेटको बजार हिस्सा नेपाल एयरलाईन्सले पाएको छ । यद्यपी जेटको विकल्पका रुपमा नेपाल एयरलाईन्सले आफूलाई उभ्याउन भने सकेको छैन । 

जेटले उडान बन्द गर्नासाथ असर नपरोस भन्नका लागि नेपाल वायु सेवा निगमले आफ्नो सेवामा चुस्त दुरुस्तता अपनाएको दाबी गरेको छ । निगमका अधिकारी जेटको विकल्प एनएसी नै भएको दाबी गर्छन् । यसका लागि जहाज थप गर्नुपर्ने उनीहरुको भनाई छ । 

अहिले नेपाल वायुसेवा निगमको व्यापार बढेको छ । नेपाल भारत उडानमा करिब ९० प्रतिशतभन्दा धेरै बजार हिस्सा ओगटेको नेपाल एयरलाईन्सले अहिले भारतमा मात्रै हप्तामा २० वटा उडान भर्दै आएको छ । काठमाडौँ–दिल्ली हप्तामा १४ (दिनमा दुई), काठमाडौँ–मुम्बई हप्तामा तीन र काठमाडौँ–बैङ्लोर हप्तामा तीन उडान नेपाल एयरलाईन्सले भर्दै आएको छ । 

निगमका सबैजसो जहाज अहिले दैनिक करिब एघार घण्टा सञ्चालन हुँदै आएका छन् । यसरी जहाजको उडान अवधि लम्बिएको र भारतबाट जेटले उडान बन्द गरेपछि बजार हिस्सा बढेको अवस्थामा नेपाल एयरलाईन्सको नाफा प्रति उडान सरदर ४० प्रतिशत पुगेको छ । ‘वाईडबडी जहाजले जति कमायो त्यति नै सकिन्छ, तर न्यारोबडीबाट भने आम्दानी राम्रो भएको छ’ निगमको उच्च स्रोतले भन्यो । 

निगमको एउटा वाईडबडीको यात्रु क्षमता २७४ छ । काठमाडौँ–दिल्ली हवाई भाडा ३४ हजार छ । काठमाडौँबाट दिल्ली उडान भर्दा सबै सिट बिक्री भई उडान भएको अवस्थामा सबै खर्च कटान गर्दा निगमले ४० प्रतिशत नाफा कमाउँछ । तर सधैँ सबै सिट पूरा भएर उडान नहुने हुँदा नाफामा कहिलेकाही तलमाथि हुन सक्नेछ । 

निगमले पैसा लुकायो 

उच्च स्रोतका अनुसार नेपाल एयरलाईन्ससँग पैसा नभएको विषय साँचो होईन । एयरलाईन्ससँग पैसा हुँदाहुँदै पनि किस्ता तिर्न आनाकानी गरेको र टाट पल्टिएको भन्दै सरकारसँग गुहार मागेको भनेर पटकपटक आलोचना पनि हुने गरेको छ ।

तर निगमका सह–प्रवक्ता नवराज कोईराला भने निगमसँग पैसा भएको र लुकाएको भन्ने आरोप गलत भएको दाबी गर्छन् । ‘हामी किस्ता तिर्ने हो, तर हामीसँग पैसा छैन’ उनले भने, ‘सरकारले लगानी गर्नुपर्छ । नेपाल एयरलाईन्स माथि नउठी नेपालको पर्यटन माथि उठ्न सक्दैन ।’

जहाजको आम्दानीमध्ये तेल, ल्याण्डिङ पार्किङ चार्ज, ग्राउण्ड ह्याण्डलिङ, जहाज तथा यात्रुको बीमा लगायत शिर्षकमा सबैभन्दा धेरै खर्च हुने गरेको छ । आम्दानीको आधा पैसा त तेलमै खर्च हुने कोईरालाको भनाई छ । 

निगमलाई सधैँ टाट पल्टिएको अवस्थामा रहन नदिने र घाटाको व्यापार नगर्ने उद्घोष गरेका संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि निगमको हालत छन खराब भएको छ । 

निगमका अधिकारी नेपाल एयरलाईन्सले पर्यटक बोक्ने भएकाले निगम मात्रै घाटामा गएको कुरा हेरेर पर्यटन मार्फत भएको आम्दानी विर्सन नहुने बताउँछन् । सह–प्रवक्ता नवराज कोईराला निगमको जहाजले बोकेर ल्याएका पर्यटकले देशको कुल ग्राहस्थ उत्पादनमा पुर्याएको योगदान पनि हेर्नुपर्ने बताउँछन् । निगम आर्थिक रुपमा संकटमा परेर उडान भर्न छाडेको दिनदेखी पर्यटक आगमन घट्ने भएकाले पर्यटन क्षेत्रको विकासका लागि निगममा सरकारले लगानी गर्नुपर्ने उनको भनाई छ । संसारका सबैजसो राष्ट्रिय ध्वजाबाहक विमान घाटामा नै रहेको उनले दाबी गरे । राष्ट्रिय एयरलाईन्सको व्यापारलाई नाफा घाटा नहेरी प्लेटफर्मको रुपमा हेरिनुपर्ने कोइरालाको भनाई छ । 

उड्ययन क्षेत्रका जानकारहरु पनि प्रतिउडान ४० प्रतिशत नाफा कमाउने नेपाल एयरलाईन्सले वाइडबडी खरिदको किस्ता तिर्न सक्दिन भन्नु शंकास्पद भएको बताउँछन् । नेपाल एयरलाईन्सलाई सधैँ घाटामा देखाएर नीजि र विदेशी एयरलाईन्सको हिस्सा बढाउन लागिपरेकाहरुले निगमलाई सधैँ घाटामा देखाउने गरेको तत्कालिन हवाई विभागका महानिर्देशक यज्ञप्रसाद गौतमको भनाई छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved