उड्ययन क्षेत्रमा १६ अर्ब बजेट, अधिकांश कार्यक्रम पुरानै, हवाई सुरक्षा प्राथमिकता बाहिर

निरोज कुमार थापा

निरोज कुमार थापा

May 30, 2019 | 09:05:12 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले आगामी आर्थिक वर्षका लागि उड्ययन (हवाई) क्षेत्रमा १५ अर्ब ८५ करोड रुपैयाँ खर्च गर्ने भएको छ । सन् २०२० मा मनाउन लागिएको नेपाल भ्रमण वर्षलाई सघाउ पुर्याउनका लागि हवाई क्षेत्र सुधार गर्नुपर्ने बाध्यता रहेकाले सरकारले मोटो रकम छुट्याएको हो । निर्माण र स्तरोन्नतिको क्रममा रहेका विमानस्थललाई प्राथमिकता दिएर बजेट ल्याएपनि हवाई सुरक्षा सुधारमा भने बजेटले कुनै व्यवस्था गरेको छैन ।

अन्तराष्ट्रिय विमानस्थलमा पूरानै कार्यक्रम 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई मौलिक परम्परा र संस्कृति झल्कने बुटिक अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा रूपान्तरण गर्ने कार्यक्रम दोहोर्याइएको छ । काठमाडौँ उपत्यका नजिकको उपयुक्त स्थानमा वैकल्पिक आन्तरिक विमानस्थल निर्माण गर्ने घोषणा पनि बजेटले गरेको छ ।

सरकारले गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलका लागि सरकारले ३ अर्ब ३४ करोड विनियोजन गरेको छ । यो विमानस्थल सन् २०१९ भित्रै सञ्चालनमा ल्याउने लक्ष्य छ । पोखरा अन्तराष्ट्रिय विमानस्थलका लागि सरकारले ८ अर्ब बजेट छुट्याइएको छ । यो विमानस्थलको पनि धावनमार्ग बनिसकेको छ । 

निकै चर्चामा रहेको निजगढ अन्तराष्ट्रिय विमानस्थलका लागि पनि सरकारले बजेट विनियोजन गरेको जनाएको छ । तर कति बजेट छुट्याईएको छ भन्ने उल्लेख छैन । निर्माण्को मोडालिटी नै नटुंगिएका कारण बजेट भाषणमा कति पैसा विनियोजन गर्ने भन्ने उल्लेख नगरिएको अनुमान गरिएको छ । उक्त विमानस्थल निर्माणमा कतार सरकारले चासो देखाएको छ । तर कतारले समेत फाइनल निर्णय गर्न सकेको छैन । 

आन्तरिक विमानस्थलमा पनि विगतकै निरन्तरता 

बजेटले आन्तरिक विमानस्थल निर्माण तथा स्तरोन्नतिको सवालमा पनि पूरानै कार्यक्रमलाई निरन्तरता दिएको छ । विराटनगर, जनकपुर, सिमरा, नेपालगञ्ज, दाङ, धनगढी लगायतका विमानस्थलहरुको स्तरोन्नति गरी ठूला विमान अवतरण गर्न सक्ने बनाईने बजेटमा उल्लेख छ । 

बजेटले सुर्खेतमा विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गर्ने, गोकुलेश्वर, कमलबजार, स्वर्गद्वारी र चुहानडाँडामा विमानस्थल निर्माण सुरु गर्ने घोषणा गरेको छ । 

रात्रीकालिन उडानलाई सुरक्षित बनाउन उडान–अवतरणको सुविधा नभएका आन्तरिक विमानस्थलमा रात्रि उडान सम्भवन हुनेगरी पूर्वाधार बनाईने बजेटमा व्यवस्था छ । 

हवाई सुरक्षामा बजेट अनुदार 

हवाई सुरक्षा कमजोर रहेको भन्दै नेपालको उड्ययन क्षेत्र युरोपियन युनियनको कालोसूचीमा छ । बजेटले हवाई सुरक्षाका सन्दर्भमा कुनै व्यवस्था गरेको छैन । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बजेट भाषणमा ‘आन्तरिक आवद्धता बढाउन, आवागमनलाई सहज गर्न तथा आन्तरिक र वाह्य पर्यटन क्षेत्रको विकास गर्न सुरक्षित, नियमित, विश्वसनीय र गुणस्तरीय हवाई पूर्वाधारलाई प्राथिमिकता दिएको’ उल्लेख गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved