विमानभित्रै गालिगलौज: कानुनी रुपमा अपराध, एक वर्ष कैद र एक लाखसम्म जरिवाना !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 15, 2019 | 08:45:02 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई गरिएको दुर्व्यवहार पछि विमानभित्र गरिने झैझगडाका सजायका बिषयमा चर्चा सुरु भएको छ।

विमानभित्र चर्को स्वरमा बोल्ने, होहल्ला गर्ने, अन्य यात्रु तथा विमान कर्मचारीलाई दुर्व्यवहार गर्ने कामलाई कानुनले कसरि व्याख्या गर्छ भन्नेबारे सर्वत्र चाँसोको बिषय बनेको छ। आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता बताउने ज्ञानेन्द्र शाहीको समूहले मन्त्री भट्टराईका कारण विमान ढिलो भएको भन्दै विमानस्थल र विमानभित्रै पनि होहल्ला र हुलहुज्जत गरेपछि यस्तो चर्चा सुरु भएको हो। 

संसारभरिका एयरलाइन्सको छाता संगठन इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसन (आईएटीए) ले दुर्व्यवहार गर्ने यात्रुहरू हवाई सुरक्षाका लागि गम्भीर र वास्तविक खतरा भएको बताएको पाइएको छ। 

नेपाल लगायत सबै देशको कानूनमा विमानभित्र गरिने असामान्य व्यवहार कसूर ठहरिने व्यवस्था रहेको पाइएको छ। नेपाल नागरिक उड्डयन ऐन, २०७३ को नागरिक उड्डयनको नियमन तथा नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनमा ‘वायुयानमा यात्रुबाट हुने अवांछित व्यवहारजन्य कसुर’ को व्यवस्था छ।

उक्त व्यवस्थामा उल्लेख गरिएबमोजिम, ‘उडानमा रहेको वायुयानमा कुनै यात्रुले वायुयानमा सवार चालकदलका सदस्य वा अन्य यात्रु माथि हातपात वा दुर्व्यवहार गरेमा वा वायुयानका यन्त्र, उपकरण वा सरसामानमा हानि नोक्सानी पुर्‍याउने कार्य गरेमा वा वायुयानभित्रको शान्ति सुव्यवस्थाका साथै उडान सुरक्षामा समेत खलल पुग्ने अन्य कुनै किसिमको कार्य गरेमा अवांछित व्यवहार गरेको कसूर मानिनेछ र यस्तो कसुर गर्नेलाई रु. दश हजारदेखि एक लाख रुपैयाँसम्म जरीवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।’

शनिवार बुद्ध एयरको विमानमा मन्त्री भट्टराईमाथि गरिएको दुर्व्यवहारले ‘वायुयानभित्रको शान्ति सुव्यवस्था’ खल्बल्याएको देखिन्छ । मन्त्री भट्टराईमाथि दुर्व्यवहार गरिँदा अन्य यात्रु तथा विमान कर्मचारीमा त्रास फैलिएको थियो। त्यसैले दुर्व्यवहार गर्ने यात्रुहरूमाथि कानूनी कारवाही चलाउन सकिने कानुनि आधार खडा भएको छ।

शनिबार नेपालगन्ज बिमानस्थलमा बुद्ध एयरका क्रु मेम्बर, नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारी र बिमानस्थल सुरक्षा गार्डका प्रहरीले यस्तो अति संवेदनशिल बिषयमा कानुनी कारबाहीको सट्टा 'सम्झौता' गरेर गम्भीर त्रुटि गरेको आरोप समेत लागेको छ। बिमानभित्र गैरकानुनी कार्य गर्नेलाई 'गैर सैनिक हवाई उडान (सिभिल एभियसन) ऐन २०१५' अनुसार कारबाही र लापरबाही गर्ने कर्मचारीहरुलाई बिभागिय कारबाही गर्न सकिने कानुनी व्यवस्था छ।   

अनायास आइलाग्ने यस्तो परिस्थितिले उडानको सुरक्षामा नै प्रश्न उठाउने हुनाले पनि विमानभित्र गरिने दुर्व्यवहारलाई गम्भीर कसूरका रूपमा लिने गरिएको हो।

मन्त्री भट्टराई स्वयंले आफ्ना कारण विमान उड्न केही ढिला भएको स्वीकार्दै सामाजिक सञ्जालमार्फत क्षमायाचना गरेका छन्। विदेशमा मन्त्रीहरूले पनि यस्ता कमजोरीमा राजीनामा समेत दिएको उदाहरण छ। केही समयअघि मेक्सिकोकी वातावरण तथा प्राकृतिक स्रोतमन्त्री जोसेफा गोन्जालेज ब्लान्को ओर्टिज मिनाले आफ्ना कारण आधा घण्टा प्लेन डिले भएको भन्दै राजीनामा दिएकी थिइन् ।





Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved