‘मन्त्रीको प्रस्ताव लागु भए ‘पर्यटन’ क्षेत्र नै धराशायी हुन्छ’

निरोज कुमार थापा

निरोज कुमार थापा

Dec 16, 2019 | 02:53:21 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आन्तरिक उडानको भाडादर समायोजना गर्ने सार्वजनिक अभिव्यक्ति दिँईरहेका बेला नीजि क्षेत्रका वायु सेवा प्रदायक कम्पनीले भने असहमति जनाएका छन् । मन्त्री भट्टराईले आइतबार पोखरा पुगेर नेपाली र विदेशी दुवै यात्रुका लागि हवाई यात्रामा समान भाडादर कायम गरिने दाबी गरे । विदेशी र स्वदेशी यात्रुका लागि भाडामा विभेद गरिनु हुन्न भन्ने मान्यतामा सरकार दृढ रहेको र अन्य देशमा यस्तो अभ्यास नरहेको दाबी गर्दै उनले अब नेपालमा पनि एकरुपता कायम गरिने बताए ।

तर मन्त्री भट्टराईको यो अभिव्यक्तिसँग नीजि क्षेत्रका विमान कम्पनीले समेत असहमति जनाएका छन् । सरकारले केही महिना अघि गठन गरेको सरकारी अध्ययन समितिले पनि स्वदेशी र विदेशी यात्रुका लागि भाडादरमा एकरुपता कायम गर्न सुझाव दिएको छ । पूर्वपर्यटन सचिव सुरेशमान श्रेष्ठको संयोजकत्वमा गठित आठ सदस्यीय कार्यदलले पर्यटनमन्त्री भट्टराईलाई बुझाएको प्रतिवेदनमा असमान भाडादर हटाउन सुझाईएको छ । कार्यदलको सुझाव आउनासाथ मन्त्री भट्टराईले भाडादरलाई समान बनाईने अभिव्यक्ति दिन थालेका हुन् । 

नीजि क्षेत्रको आपत्ति 

सरकारी कार्यदलको सुझाव र मन्त्री भट्टराईको अभिव्यक्तिसँग रुष्ट रहेको नीजि क्षेत्रले पर्यटन क्षेत्र नै मास्ने नियतले ‘डलर फेयर’को कुरा आएको प्रतिक्रिया दिएको छ । जहाज नेपालमा नबन्ने र जहाज विग्रिएमा बनाउन आवश्यक पार्टपूर्जा समेत यहाँ नबन्ने भएकाले नेपालीलाई सरह एउटै भाडादरमा विदेशी पर्यटक बोक्न नसकिने वायुसेवा सञ्चालक संघको अडान छ । संघका कोषध्यक्ष एवम् बुद्ध एयरका मार्केटिङ सेल्स एण्ड ग्राउण्ड ह्याण्डलिङ विभागका प्रमुख रुपेश जोशी नेपाल आएका मध्ये २५ प्रतिशत पर्यटकले पनि आन्तरिक उडान नगर्ने भएकाले सरकारको अनुमान नै गलत भएको बताउँछन् । 

आन्तरिक उडानमा महँगो भाडा तिर्नुपर्दा पर्यटक आगमन सोचे अनुरुप नरहेको भन्दै सरकारी तर्कको खण्डन गर्दै उनले पर्यटकका लागि जहाजमै यात्रा गर्नुपर्छ भन्ने बाध्यकारी नियम नभएकाले आफूहरु पनि विदेशीलाई नेपालीलाई सरह सस्तोमा उडान नसक्ने प्रष्ट पारे । जोशीले ट्राभल एजेन्सीको कमिशन, ट्राभल र टूर कम्पनीको प्याकेज लगायतका कारण महँगो देखिएपनि यसले दिएको योगदान बिर्सन नहुने बताए । ‘होटलको खानामा पनि नेपालीलाई सस्तो र विदेशीलाई महँगो छ, हिमाल चढ्न पनि नेपालीलाई सस्तो छ, विदेशीलाई महँगो नै छ’ उनले भने, ‘अनि हवाई क्षेत्रले मात्रै एकरुकपता कायम गर्दिनुपर्ने किन ?’ उनले फेरि सोधे, ‘नेपाल आउनेमध्ये २५ प्रतिशत पर्यटकले पनि प्लेन चढ्दैनन् भने सस्तो बनाउनुको के अर्थ ?’ 

सन् १९९५ मा तत्कालिन ‘रोयल नेपाल एयरलाइन्स कर्पोरेशन (आरएनएसी)’ हालको ‘एनएसी’ले नेपालीलाई सस्तो र विदेशीलाई केही बढी भाडा लिने तय गरेको थियो । हालसम्म पनि सोही अभ्यास सौहार्दपूर्ण रुपमा प्रयोगमा रहेको भन्दै नीजि क्षेत्रले यसमा हात नहाल्न सरकारलाई अनुरोध गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved