गौतम बुद्ध विमानस्थलको काम ३ महिना धकेलियो, परीक्षण उडान कहिले ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 17, 2019 | 03:12:48 PM मा प्रकाशित

laxmi  sunrise bank

सन् २०१९ को अत्यबाट परीक्षण उडान गर्ने भनिएको गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको काम थप ३ महिना लम्बिने भएको छ । डिसेम्बरमा निर्माण कार्य सम्पन्न गरी जनवरीमा परीक्षण उडान गर्ने भनिए पनि २०२० को मार्चमा मात्रै परीक्षण उडान हुने भएको हो । 

उपकरण आयातमा ढिलाई, ठेकेदार कम्पनीलाई भूक्तानीको समस्या र व्यवस्थापनमा कमजोरीका कारण आयोजनाको काम सक्न ढिलाई भएको हो । सन् १९५८ देखि सञ्चालित ६१ वर्ष पुरानो विमानस्थललाई स्तरोन्नति गर्ने सरकारको निर्णयसँगै तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले २०७१ माघ १ गते अन्तराष्ट्रिय विमानस्थल निर्माणको औपचारिक उद्घाटन गरेका थिए । 

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको उक्त विमानस्थल २०१७ को डिसेम्बरमा निर्माण सक्ने लक्ष्य भएपनि मधेश आन्दोलन, भारतको नाकाबन्दीलगायत कारणले २ पटक म्याद थप भएको थियो । आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार निर्माण सम्पन्न गर्न केही महिना थप लाग्नेछ । ८४ प्रतिशत निर्माण सम्पन्न भएपनि परीक्षण उडान भने आगामी मार्चमा गर्ने लक्ष्यका साथ कामलाई तीव्रता दिईउको उनको भनाई छ । 

६ अर्ब ८० करोड रुपैयाँ लागतमा बन्दै गरेको उक्त एयरपोर्टमा एशियाली विकास बैंक (एडीबी)को ऋण ४०.५ प्रतिशत, एडीबीको अनुदान ८ प्रतिशत, ओएफआईडीको ऋण ३०.५ प्रतिशत र नागरिक उड्डयन प्राधिकरणको ११ प्रतिशत लागत साझेदारी छ ।

करिब ८ सय बिघा क्षेत्रफलमा स्तरोन्नति र विस्तार भईरहेको विमानस्थल काठमाडौँ विमानस्थलभन्दा सुरक्षित मानिएको छ । वरीपरी डाँडाकाँडा नभएका कारण उक्त एयरपार्टलाई सुरक्षित मानिएको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved