खारिएनन् खरेल, ‘मौका परीक्षा’मा पनि असफल

निरोज कुमार थापा

निरोज कुमार थापा

Jan 20, 2020 | 12:58:49 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षबाट मदन खरेलले आइतबार राजीनामा बुझाए । संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईसमक्ष उनले पदबाट राजीनामा बुझाएपछि सरकारी स्वामित्वको नेपाल एयरलाइन्समा अब नयाँ अध्यक्ष वा कार्यकारी महाप्रवन्धक आउने छन् । उनलाई राजीनामा दिन लगाइयो वा आफैँले खुशी भएर दिए भन्नबारे जनमत बिभाजित छ ।

किन दिए खरेलले पदबाट राजीनामा ?

खरेलले १४ महिनासम्म अध्यक्ष भएर बस्दा सरकारी अपेक्षा अनुसार काम गर्न नसकेको आरोप खेपिरहेका छन् । खरेल २०७५ भदौमा निगमको कार्यकारी अध्यक्ष बनेका थिए । महाप्रवन्धकमा सुगतरत्न कंसाकार भएबै बेलामा कंसाकारको कार्यकारी अधिकार कटौती गरी खरेललाई ल्याईएको थियो । २०७० सालमा पनि निगमको महाप्रबन्धक बनेका खरेल एक वर्ष नपुग्दै असफलको बिल्ला भिरेर बाहिरिएका थिए । तर उनलाई सरकारले फरि ल्याएको थियो ।

यस पटक पनि विवादित र असफल अध्यक्षको उपनाम पाएका उनी आफू सफल हुँ भन्ने प्रमाणित नगरी राजीनामा दिए । खरेललाई मन्त्रालयले धेरै पटक स्पष्टीकरण पनि सोध्यो । तर पार नलागेपछि साउन २२ गते पूर्व सचिव सुशील घिमिरेको संयोजकत्वमा मन्त्रालयले निगम सुधार गर्न भन्दै सुझाव दिन पाँच सदस्यीय कार्यदल बनायो । उक्त कार्यदलले १ असोजमा मन्त्री योगेश भट्टराईसमक्ष सुझावसहितको प्रतिवेदन बुझायो । प्रतिवेदनमा निगमले पर्याप्त उडान गर्न नसकेको र नयाँ जहाज ल्याएर व्यापारीक योजना बनाउन नसकेको उल्लेख थियो । त्यति बेलादेखि नै मन्त्री भट्टराई खरेलसँग रुष्ट थिए ।

त्यसपछि मन्त्री भट्टराईले नेपाल नागरिक उड्डयन प्राधिकरणको बोर्डमा वायु सेवा सञ्चालकका २ जना प्रतिनिधि रहने प्रावधानमा असहमति जनाउँदै वायु सेवा सञ्चालकबाट प्रतिनिधित्व गरेकालाई राजीनामा दिन भने । त्यसलगत्तै हिमालय एयरलाइन्सबाट प्रतिनिधित्व गरेका विजय श्रेष्ठले राजीनामा दिए । खरेलले भने दिन आनाकानी गर्दै आएका थिए । तर पौष २८ गतेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको बोर्डबाट वायु सेवा सञ्चालकका प्रतिनिधिलाई हटाउने निर्णय गरेपछि खरेल स्वतः हटाईए । योसँगै मन्त्री भट्टराईले स्पष्ट कार्ययोजनासहित काम गर्ने प्रतिवद्धता व्यक्त गर्न नसके निगमको अध्यक्ष पदसमेत खाली गरिदिन निर्देशनात्मक अभिव्यक्ति दिएपछि खरेलले बाध्य भएर राजीनामा दिएको स्रोत बताउँछ । 

खरेलले निगमको अनावश्यक आर्थिक भार घटाएको, खर्च कटौती गरेको, उडान विस्तार गरेकोलगायत दाबी गरेपनि निगमको ऋण ४० अर्बभन्दा माथि छ । वाइडबडी जहाज खरिद गर्न सञ्चयकोष र नागरिक लगानीकोषबाट लिएको २४ अर्बको ब्याज तिर्नसमेत निगम असक्षम छ । ऋण तिर्नकै लागि पटक पटक सरकारसँग पैसा माग गर्दापनि सरकारले नदिएपछि र निगम सुधार गर्न नसकेपछि बाध्य भएर उनले राजीनामा दिएको मन्त्रालय स्रोतको दाबी छ ।

खरेल कसरी असफल ?

खरेलमाथि मुख्यतः ५ वटा आरोप छन् । मन्त्रालयले गठन गरेको कार्यदलले बुझाएको प्रतिवेदनलाई आधार मान्ने हो भने खरेलमाथि उडान गन्तव्य विस्तार नगरेको र व्यवसायिक योजना बनाउन सरकारले दिएको निर्देशनात्मक सुझाव नमानेको आरोप छ । 

मन्त्रालयले यसअघि पनि यी विषयमा पटक पटक स्पष्टिकरण सोधेको थियो । उडान गन्तव्य विस्तार गर्न नसकेको, आन्तरिक उडानको हिस्सा बढाउन नसकेको, चीनको सांघाईँ र बेइजिङ उडानमा चासो नदिएको र स्वार्थमा लागेर तुलनात्मक रुपमा यात्रु कम हुने जापानको ओसाका उडान सुरु गरेको आरोप उनीमाथि छन् । तर खरेलले यी आरोपको खण्डन गरेर ‘आफू सफल कार्यकारी अध्यक्ष हुँ’ भन्ने प्रमाणित गर्न नसकेकाले उनी असफल साबित भएको मन्त्रालय स्रोत दाबी गर्छ ।

यसअघिः

नेपाल एयरलाइन्सका अध्यक्ष खरेलले दिए राजीनामा


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved