त्रिभुवन विमानस्थल भित्रको ‘सांसदको पसल’ले सरकारलाई तनाव

निरोज कुमार थापा

निरोज कुमार थापा

Jan 28, 2020 | 02:34:32 PM मा प्रकाशित

laxmi  sunrise bank

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको यात्रु प्रस्थान कक्षसँगैको एयरपोर्ट टि-कफी एण्ड कन्फेक्सनरी सप र विमानस्थलबीचको विवाद चुलिएको छ । केही वर्ष एयरपोर्ट परिसरमा चिया र कफी पसल सञ्चालन गर्ने भनिए अनुसार उक्त कफी सपले सञ्चालनमा आएको थियो ।

तर ४ वर्षदेखि सञ्चालित उक्त पसल सुरक्षाका दृष्टिकोणले एयरपोर्ट भित्रै राख्नु गलत भएको भन्ने बहस सुरु भएपछि विमानस्थलले सुरक्षा समितिको राय माग गरेको थियो । सुरक्षा समितिले २०७६ बैशाखमा सञ्चालन भईरहेको उक्त पसल हटाउने निर्णय गरेपछि कफी सप अदालत पुगेको थियो ।

एयरपोर्टको कर्पोरेट विभागका हेम दाहालका अनुसार सर्वोच्च अदालतले सुरक्षा संवेदनशीलताका आधारमा पसल हटाउनुपर्ने कुनै कारण नदेखिएको भन्दै एयरपोर्टको निर्णय लागू नगर्न अन्तरिम आदेश दिएपछि उक्त कफी सप पूर्ववत् अवस्थामै सञ्चालन भईरहेको छ । 

तर अदालती पक्रिया भने थप जटिल बन्दै गएको छ । २०७२ जेठ ३ देखि साउन १९ सम्म गरी ४ वटा मुद्दा दर्ता भएका छन् । मंगलबार सो मुद्दामा बहस हुने भनिएपनि सर्वोच्च अदालतले हेर्न नभ्याईने सूचीमा राखेको छ । 

मुद्दामा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल, उपमहानिर्देशक राज कुमार क्षेत्रीको नाम समेत जोडिएको छ । यस विषयमा उपमहानिर्देशक क्षेत्रीले भने आफू एयरपोर्टको जिएम हुनुभन्दा पहिलेको मुद्दा रहेको र एयरपोर्टमा जिएम भएर आफू पनि बसेका कारण नाम जोडिएको हुनसक्ने बताएका छन् ।

भएको के थियो ?

बिमानस्थल भित्रको स्टेराइल एरियामा रहेको कफी सपबाट अबैध विदेशी मुद्राको कारोबार गरेको प्रमाण भेटिएपछिसञ्चालक सुवास श्रेष्ठलाई प्रहरीले पक्राउ गरी मुद्दा चलायो । तर, सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलाशले जेठ ५ गते एयरपोर्ट टी–कफी एण्ड कन्फेक्सनरी सप बन्द नगर्न भन्दै अन्तरिम आदेश दिएपछि उक्त पसल सञ्चालनमा आयो । 

प्रहरीले श्रेष्ठले डलर तस्करी गरेको प्रमाण फेला पारेपछि पक्राउ गरी मुद्दा चलाएपछि गृह मन्त्रालयले उक्त पसल हटाउन नागरिक उड्ययन प्राधिकरण र विमानस्थल प्रहरीलाई भनेको थियो । सर्वोच्चको आदेशपछि पनि सुरक्षाका कारण देखाउँदै गृहले पसल खोल्न दिएको थिएन । तर कफी सप फेरि अदालतको अवहेलना भयो भन्दै अदालत पुग्यो । 

अदालतले उक्त पसल सुवास श्रेष्ठको नभनी ‘निवदेक प्रालिसँग सम्बन्धित नभएको व्यक्तिले गरेको कार्यलाई आधार लिई पसल बन्द गर्ने कार्यले निवेदकलाई पुग्न जाने अपुरणीय क्षतिसमेतलाई विचार गरी सुविधा सन्तुलनको दृष्टिकोणबाट हाल निवदेक प्रालिको पसल बन्द नगर्नु नगराउनु भनी विपक्षीहरुको नाउमा सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ (२) (क) बमोजिम यो अन्तरिम आदेश जारी गरिदिएको छ’ भनेको छ । गोपालबाबु श्रेष्ठको नाममा दर्ता रहेको उक्त प्रा.लि. एवम् कफी सप चलाउने सुवास श्रेष्ठ गोपालबाबु श्रेष्ठका बहिनी ज्वाई हुन् । सुवास गत चैत २१ गते २२ हजार १ सय ५० थाई भाट, १० हजार अमेरिकन डलर, ८० हजार चिनियाँ यूआन र १ हजार ३ सय ८० यूरो अबैध विदेशी रकमसहित पक्राउ परेका थिए । 

सुवासले कसरी खोले एयरपोर्टमा कफी सप ? 

एयरपोर्टका अधिकारीहरुले टेण्डर आह्वान नै भएको भनेर दाबी गरेपनि त्यो साँचो नभएको भेटिएको छ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता शरतसिंह भण्डारी पर्यटनमन्त्री रहको बेला उनैले नागरिक उड्ययन प्राधिकरणको सञ्चालक समितिबाट निर्णय गराएर निर्जला राउत र सुवास श्रेष्ठको साझेदारीमा हुने गरी विमानस्थलको प्रस्थान कक्षमा टी–कफी सप सञ्चालनको अनुमति दिएका थिए ।

गोप्य स्रोतका अनुसार उक्त टी–कफी सपकी सञ्चालिका एवम् पार्टनर समेत रहेकी राउत नेता भण्डारीकी प्रेमिका समेत हुन् । तर यो कुरा भने उनीहरुले सार्वजनिक रुपमा पुष्टि गरेका छैनन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved