मन्त्रीले बोलाएर झाँको झारेपछि एयरलाइन्सले घटाए हवाई भाडा (भाडादरसहित)

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 22, 2020 | 04:21:08 PM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबारपछि वायु सेवा प्रदायक कम्पनीहरुले आफूखुशी हवाई भाडा बढाएपछि उपभोक्ताले निकै आलोचना गरे । कोरोना भाइरसको संक्रमण प्रवेह गर्न नदिन सरकारले २५ जनाभन्दा धेरै मानिस एकै ठाउँमा भेला हुन नपाउने लगायतका निर्णय गरेपछि राजधानी छोड्ने मानिस बढिरहेका छन् । काठमाडौँ छोड्ने यात्रु बढेसँगै हवाई व्यवसायीहरुले तेब्बरसम्म भाडा बढाएपछिको आलोचना थेग्न नसकी संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आन्तरिक हवाई सेवा व्यवसायीलाई बोलाएर छलफल गरे । 

छलफलमा मन्त्री भट्टराईले विपदको समयमा भाडा बढाउँदा राम्रो सन्देश नजाने भन्दै व्यवसायीलाई भाडादरमा पुनर्विचार गर्न आग्रह गरे । व्यवसायको सामाजिक उत्तरदायित्व, सरकारको नागरिकप्रतिको दायित्व लगायतका विषयमा जानकारी गराउँदै मन्त्री भट्टराईले विपदमा संवेदनशील बन्न आग्रह गरे ।

सुरुवातमा नै ‘एक्कासी भाडा बढाउनुको कारणबारे जानकारी गराउनुस्’ भनेर प्रस्तुत भएका मन्त्री भट्टराईले व्यवसायीको जवाफमा चित्त नबुझेपछि भाडा घटाएर सामाजिक उत्तरदायित्व पूरा गर्न निर्देशन दिए । केही समयदेखि यात्रु नपाएको र अहिले पाउन थालिएको भन्दै यात्रुको चापको आधारमा भाडा बढाईएको अभिव्यक्ति दिएका व्यवसायीले मन्त्रीको निर्देशन नै आएपछि ‘हुन्छ’ भन्ने जनाउ दिएर बाहिरिए ।

कुन कुन कम्पनीले घटाए भाडा ?

मन्त्रीको निर्देशन पाएका व्यवसायीले आइतबारबाटै भाडा घटाउन सुरु गरेका छन् । सरकारले सार्वजनिक सवारीका साधन कन्द गर्ने निर्णय गरेपछि सार्वजनिक सवारी सञ्चालन नहुँदासम्मका लागि भाडादर नै कायम गरेको छ । 

शनिबारको बैठकबाट लचिलो बनेका व्यवसायीले आइतबार बिहानैबाट सरकारले तोकेकोभन्दा कम भाडादर सार्वजनिक गरिरहेका छन् । आइतबार बिहान निजी क्षेत्रको श्री एयरलाइन्सले हवाई भाडा घटाएको जानकारी दियो । श्री एयरले लामो गन्तव्यमा यसअघिको तुलनामा २५ प्रतिशतसम्म भाडा घटाईएको जनाएको छ । 

कम्पनीका प्रबन्धक अनिल मानन्धरले भरतपुर, जनकपुर र सिमराबाहेकका गन्तव्यको भाडा कम गरिएको जनाकारी दिएका छन् । श्री एयरलाइन्सले काठमाडौँ–भद्रपुर ७ हजार ४ सय, काठमाडौँ–विराटनगर ६ हजार १ सयमा उडाउने छ । काठमाडौँ–जनकपुर ३ हजार ३ सय, काठमाडौँ–सिमरा ३ हजार, काठमाडौँ–पोखरा ३ हजार ७ सयमा यात्रुलाई दिने जनाएको कम्पनीले काठमाडौँ–भैरहवा ४ हजार ९ सय, काठमाडौँ–नेपालगञ्ज ६ हजार २ सय र काठमाडौँ–धनगढी ७ हजार ९ सय रुपैयाँ भाडादर तोकेको छ ।

आतबार दिउँसो निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले हवाई भाडा घटाएको छ । यसअघि लिँदै आएको अधिकत भाडादर आइतबार बुद्ध एयरले घटाएको हो । हाल कायम उच्चतम भाडादर सार्वजनिक सवारी साधन नचल्दासम्म लागू हुने बुद्ध एयरले जनाएको छ । 

बुद्ध एयरको भाडादरः

त्यस्तै यति एयरले पनि भाडा घटाएको छ । यति एयरका जहाजले अब नयाँ भाडादर अनुसार काठमाडौँ–भद्रपुर ६ हजार २ सय, काठमाडौँ–बिराटनगर ५ हजार ५ सय र काठमाडौँ–भैरहवा ४ हजार ९ सयमा यात्रा गराउने भएका छन् । 

काठमाडौँ–नेपालगन्ज ६ हजार ३ सय रुपैयाँमा उडाउने भएको यतिले काठमाडौँ–पोखरा ३ हजार ७ सय रुपैयाँमा नै उडान गर्ने भएको हो । कम्पनीले घटेको भाडा चैत्र १० देखि २१ चैत्रसम्म कायम रहेको जनाएको छ ।

अन्य वायुसेवा प्रदायक कम्पनीले पनि चाँडै नयाँ भाडादर कायम गर्ने जानकारी दिएका छन् । नेपालमा हाल आन्तरिकतर्फ नेपाल एयरलाइन्सका २ गरी जम्मा ११ विमान कम्पनीले सेवा दिँदै आएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved