लकडाउनमा नेपालबाट २६ सय बढी बाहिरिए, कुन एयरलाइन्सले कति यात्रु बोके ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 06, 2020 | 04:45:55 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल घुम्न आएका विभिन्न देशका नागरिक लकडाउनका कारण रोकिएपछि सम्बन्धित देशले आफ्ना नागरिक फिर्ता लगिरहेका छन् । हालसम्म काठमाडौँस्थित विभिन्न देशका दूतावासले ११ वटा जहाज चार्टर गरेर आफ्ना नागरिक फिर्ता लगिसकेका छन् । 

कुन एयरलाइन्सको कति उडान ? 

हालसम्म भएका ११ अन्तराष्ट्रिय चार्टर उडानमध्ये ७ उडान कतार एयरवेजले गरेको छ । बाँकी ४ उडानमध्ये नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले एक, मलेसियन एयरलाइन्सले एक, मलेसियाकै मालिण्दो एयरले एक र चेक रिपब्लिकले एक उडान गरेको छ ।  

नेपालका विभिन्न क्षेत्रमा रहेका विदेशी पर्यटकको अप्रिल ३ अर्थात् चैत्र २१ सम्म उद्वार भएको थियो । उनीहरुलाई देशका विभिन्न क्षेत्रबाट नेपालका आन्तरिक उडान भर्ने विमान कम्पनीमार्फत काठमाडौँ ल्याईएको थियो । 

कुन एयरलाइन्सले कति यात्रु बोके ? 

कोरोना भाइरसका कारण लकडायन सुरु भएदेखि चैत्र २३ गते आइतबारसम्म २ हजार ६४८ जना पर्यटक काठमाडौँबाट सम्बन्धित देश फर्काइएका छन् । यीसँगै २९ जना नाबालकसमेत छन् । उनीहरुलाई सम्बन्धित देशले नै विमान चार्टर गरेर आफ्नो मूलुक लगेका हुन् । 

लकडाउन पश्चात काठमाडौँ विमानस्थलबाट सबैभन्दा धेरै पटक चार्टर उडान गरेको कतार एयरवेजले मात्रै २ हजार १०८ यात्रु बोकेको छ । यीसँगै २२ नाबालक पनि उडाएको छ । 

कतार एयरलाइन्स पछि नेपाल एयरलाइन्सले २५० जना यात्रु र ७ नाबालक बोकेर उडान भरेको छ । यसपछि मलेसियन एयरलाइन्सले १२२ यात्रु र २ नाबालक, चेक रिपब्लिकले १०२ यात्रु र मलिण्दो एयरले ६६ जना यात्रु बोकेका छन् ।

कुन मितिमा कुन एयरलाइन्स कहाँ उडे ?

मार्च २७ तारिख अथात् चैत्र १४ गते कतार एयरले जर्मन दूतावासको चार्टर उडान गरेको थियो । उसले यो उडानमा ३०४ जना यात्रु र ३ जना नाबालक बोकेको थियो । यसमा जर्मनीका १९० र युरोपेली देशका ११४ जनाले यात्रा गरेका थिए । 

चैत्र १५ गते पनि कतार एयरवेजले जर्मन दूतावासकै २ वटा चार्टर उडान गरेको थियो । यसमा पहिलो उडानमा ३०३ जना यात्रु र दोस्रो उडानमा ३०२ यात्रु तथा ३ नाबालकलाई बोकेको थियो । यो उडानमा यात्रा गर्ने नागरिक पनि जर्मनी र युरोपेली देशकै थिए । 

मार्च ३१ अर्थात् चैत्र १८ गते कतार एयरलाई नै अमेरिकी दूतावासले चार्टर उडान गराएको थियो । यसमा २९३ यात्रु र ९ नाबालक थिए । त्यसपछि कतार एयरलाई अप्रिल ४ (चैत्र २२ गते) जर्मनी दूतावास र फ्रान्स दूतावासले चार्टर गरेका थिए । यी उडानमा क्रमशः ३०५ यात्रु तथा २ नाबालक र ३०३ यात्रु थिए । कतार एयरले अप्रिल ५ (चैत्र २३ गते) अमेरिकन दूतावासको चार्टर उडान गरी २९८ यात्रु र ५ नाबालक बोकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । 

यस्तै नेपाल वायुसेवा निगमको वाईडबडी जहाजले पनि अप्रिल १ अर्थात् चैत्र १९ गते अस्ट्रेलियाका लागि चार्टर उडान गरेको थियो । उक्त दिन २५० यात्रु र ७ नाबालक बोकेर उडेको निगमको जहाजमा अस्ट्रेलियाको ‘पिआर होल्डर’ नेपाली ३५ जना थिए ।  

त्यसैगरी यो बीचमा नेदरल्याण्ड दूतावासले मलेसियन एयरलाइन्सको जहाज चार्टर गरेर आफ्ना नागरिक फिर्ता लगेको छ । चैत्र २० गते काठमाडौँबाट उडेको मलेसियन एयरले १२२ जना यात्रु बोकेको थियो । 

चेक गणतन्त्रले अप्रिल ४ मा आफ्ना नागरिक आफ्नै जहाजमार्फत फिर्ता लगेको छ । चेक रिपब्लिकले १०२ जना यात्रु बोकेर काठमाडौँबाट आइतबार उडान भरेको छ । अप्रिल ४ मै मलेसियाले मालिण्दो एयरको जहाज चार्टर गरेर काठमाडौँबाट आफ्ना नागरिक लगेको छ । उक्त उडानमा ६६ जना यात्रु थिए ।

लकडाउन पश्चात नेपाल एयरलाइन्सले ३ वटा लामो दूरीका उडान गरेको भएपनि एक उडानमा मात्रै यात्रु बोकेको थियो । बाँकी २ उडान भने औषधिजन्य सामग्री ल्याउन चार्टर गरिएको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved