लकडाउनले दैनिक पौने ३ करोड आम्दानी गुमाउँदै नेपालका विमानस्थल (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 22, 2020 | 03:03:10 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले सरकारले बैशाख १८ सम्म हवाई उडानमा प्रतिबन्ध लगाएको छ । बाह्य तथा आन्तरिक उडान नहुँदा काठमाडौँस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलसहित देश भित्रका व्यवसायिक उडान हुने आन्तरिक विमानस्थलहरु आफ्नो दैनिक आम्दानी गुमाईरहेका छन् । 

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल दैनिक साढे २ करोड घाटामा

नेपालको एक मात्र अन्तराष्ट्रिय विमानस्थल भएका कारण विगतमा काठमाडौँ एयरपोर्ट निकै खचाखच हुन्थ्यो । जहाजको अधिक चापका कारण एक घण्टासम्म आकाशमै होल्ड गर्नुपर्ने बाध्यता ब्यहोरेको काठमाडौँ विमानस्थल अहिले सुनसान छ । 

विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीका अनुसार सामान्य अवस्थामा दैनिक ३५० वटासम्म उडान हुने काठमाडौँ विमानस्थलबाट दैनिक २ करोड ५० लाखसम्म आम्दानी हुन्थ्यो । यो विमानस्थलबाट मात्रै सरकारले मासिक ७० करोड रुपैयाँ आम्दानी गर्दै आएकोमा अहिले त्यो आम्दानी शून्यमा झरेको छ । 

‘एरोनोटिकल, ननएरोनटिकल र विमानस्थल विकास शूल्कका नाममा रकम उठाईदिने गरिएको थियो’ महाप्रवन्धक केसी भन्छन्, ‘अहिले उठान नै हुँदैनन्, शुल्क उठ्ने त कल्पना नै गर्न सकिँदैन ।’ 

उनका अनुसार त्रिभुवन विमानस्थलले यो हप्ताबाट दैनिक २ करोड रुपैयाँ राजश्व गुमाईरहेको छ । 

विमानस्थल क्षेत्रभित्र रहेका पसलहरुले बुझाउने नियमित भाडा, प्रत्येक अन्तराष्ट्रिय यात्रुबाट उठाइने १ हजार रुपैयाँ विमानस्थल विकास शुल्क लगायतका आम्दानी हुने शीर्षकहरु गुम्दा मासिक औसतमा मासिक ६० देखि ७० करोड रुपैयाँ राजश्व आम्दानी गुम्ने उनको भनाई छ । 

केही दिन अघिसम्म विदेशी नागरिकहरु सम्बन्धित देशले फिर्ता लैजान गरेका चार्टर उडानहरुबाट केही आम्दानी भईरहेपनि अहिले चार्टर उडानसमेत पातलिएको विमानस्थलका प्रवक्ता देवचन्द्र लाल कर्ण बताउँछन् । 

आन्तरिक विमानस्थल दैनिक १३ लाख गुमाउँदै

पोखरा एयरपोर्ट, पोखरा

पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलबाट अहिले आन्तरिक उडान मात्रै भईरहेका छन् । काठमाडौँको विकल्पका रुपमा अन्तराष्ट्रिय उडान भर्ने साना जहाजहरुको अवतरण र उडान गर्न सकिने गरी स्तरोन्नति भईरहेको यो एयरपोर्टबाट हप्तामा २ सय बढी उडान हुँदै आएका छन् ।

काठमाडौँपछि धेरै उडान हुने विमानस्थलमा पर्ने यो एयरपोर्ट पोखरा, मुस्ताङलगायत अन्नपूर्ण क्षेत्रमा जाने पर्यटकहरुको चाप बढी हुने गथ्र्यो । तर लकडाउनका कारण पर्यटन व्यवसाय थला परेपछि पोखरा विमानस्थलको व्यवसायीक उडान शून्यमा झरेको छ । लकडाउन अगाडी मासिक ६३ लाख रुपैयाँ सरदार आम्दानी गर्दै आएको यो विमानस्थलले आफ्नो आन्तरिक खर्च व्यवस्थापन गरेर राज्यलाई राजश्वमा योगदानसमेत गर्दै आएको थियो । 

भरतपूर विमानस्थल, चितवन

चितवनको भरतपूर विमानस्थल व्यस्त मध्येको एक विमानस्थल हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यो विमानस्तलबाट मासिक १६ लाख ५५ हजार रुपैयाँ राजश्व संकलन हुँदै आएको थियो । 

विशेष गरी जाडो मौसम र सौराहामा हुने मेला अवलोकनका लागि आहोरदोहोर गर्ने पर्यटकहरु भरतपूर एयरपोर्टका उपभोक्ता हुन् । तर लकडाउनका कारण यो विमानस्थलबाट हुने आम्दानी शून्य भएको छ । 

विराटनगर विमानस्थल, मोरङ

विराटनगर विमानस्थल काठमाडौँ एयरपोर्टपछि धेरै राजश्वमा योगदान दिने विमानस्थल हो । लकडाउनका कारण विराटनगर विमानस्थलमा अहिले चार्टर उडान समेत भएको छैन ।

सामान्यतय, सरदर मासिक ८५ लाख रुपैयाँ कमाउने यो विमानस्थलले अहिले आफ्नो आम्दानी गुमाएको छ । 

नेपालगञ्ज विमानस्थल, बाँके

नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपालगञ्ज विमानस्थलबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मासिक ६३ लाख रुपैयाँको हाराहारीमा आम्दानी गर्दै आएको थियो । तर लकडाउनले आन्तरिक उडानसमेत स्थगित भएपछि तराई उडानको हब विमानस्थल मानिने नेपालगञ्ज एयरपोर्टमा कोरोना भाइरसका सम्भावित संक्रमितको संकलित स्वाब लिन कहिलेकाही चार्टर हुने गरेको छ । 

तर उद्वार र औषधीजन्य प्रयोजनमा हुने चार्टर उडानबाट विमानस्थललाई आम्दनी हुँदैन । 

चन्द्रगढी विमानस्थल, झापा

झापास्थित चन्द्रगढी विमानस्थल पूर्वी भेगमा हुने आन्तरिक उडानका लागि निकै व्यस्त हुने एयरपोर्ट हो । लकडाउन अगाडी मासिक करिब ३१ लाख रुपैयाँ आम्दानी गर्दै आएको यो विमानस्थल अहिले सुनसान छ । 

धनगढी विमानस्थल, कैलाली

कैलालीको धनगढी विमानस्थल पनि आन्तरिक उडान हुने व्यस्त मध्येको एक विमानस्थल हो । यो विमानस्थलबाट मासिक २५ लाख रुपैयाँ आम्दानी हुँदै आएकोमा हाल यो आम्दानी लकडाउनसँगै शून्यमा झरेको छ । 

जोमसोम विमानस्थल, सिमिकोट विमानस्थल, सिमरा विमानस्थल र जनकपूर विमानस्थल पनि मध्यम आम्दानी गर्ने गर्ने विमानस्थल हुन् । तर अहिले यी सबै विमानस्थलको आम्दानी शून्यमा झरेको छ । 

यीसँगै सगरमाथा क्षेत्रको उडान हुँदै आएको सोलुखुम्बुको लुक्ला विमानस्थलले मासिक १५ लाख र बसन्त ऋतुको सिजनमा अझ बढी आम्दानी गर्दै आएको थियो । गत वर्षको बसन्त ऋतुबाट रामेछाप विमानस्थलले पनि शन्तोषजनक आम्दानी गर्दै आएकोमा यसवर्ष भने सगरमाथा क्षेत्र सिजनमै सुनसान हुँदा रामेछाप विमानस्थल व्यवसायीक सञ्चालनको वर्षदिनमै फेरि घाटामा फर्किएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved