भैरहवा विमानस्थल सञ्चालनको जिम्मा जर्मनीलाई नदिन सुझाव

निरोज कुमार थापा

निरोज कुमार थापा

May 12, 2020 | 10:19:46 AM मा प्रकाशित

laxmi  sunrise bank

भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा विदेशी व्यवस्थापकलाई दिने तयारीबाट सरकार पछि हट्ने भएको छ । सरकारीस्तरबाट जिटुजी सम्झौता गरेर उक्त विमानस्थल सञ्चालनको जिम्मा विदेशी कम्पनी वा व्यवस्थापकलाई दिने प्रक्रियाबाट नेपाल पछि हट्ने संकेत देखिएको छ । 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, अर्थ मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारी सम्मिलित प्राविधिक समितिले जिटुजी प्रक्रियाबाट विमानस्थल सञ्चालनको जिम्मा विदेशी व्यवस्थापकलाई दिन नहुने निष्कर्ष निकालेपछि सरकार उक्त प्रक्रियाबाटै पछि हट्ने संकेत देखिएको हो । 

जर्मन कम्पनी म्युनिखले नपाउने सम्भावना बढ्यो

विमानस्थल निर्माणले गति लिएसँगै सरकारले आफैँ सञ्चालन गर्ने वा विदेशी कम्पनीलाई सञ्चालनको जिम्मा दिने भनेर बहस सुरु गरेको थियो । यही बहसका बीचमा २०७५ सालदेखि नै निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा लिन जर्मन कम्पनी म्युनिख एयरपोर्टले इच्छा देखाएको थियो । इच्छा देखाएको मात्रै नभई सरकारी स्तरबाटै उसले प्रक्रियासमेत थालिसकेको थियो । 

तत्कालीन पर्यटनमन्त्री स्वर्गीय रवीन्द्र अधिकारीले नेपाल आफैँले सञ्चालन गर्नुभन्दा व्यवसायिक योजनाका साथ नेपाललाई आर्थिक लाभ हुने र प्राविधिक सहयोग पनि प्राप्त हुने गरी विदेशी कम्पनीलाई गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा विदेशी कम्पनीलाई दिने प्रक्रियाको सुरुवात गरेका थिए । यसो गर्दा नियमन गर्न सहज हुनुका साथै मूलुकले प्रशस्त आर्थिक लाभ लिन सक्ने गरी अनुभवी कम्पनी खोज्नुपर्ने उनको भनाई थियो । 

रवीन्द्र अधिकारीको स्वर्गारोहण भएपछि पर्यटनमन्त्री भएर आएका योगेश भट्टराईले पनि सोही प्रक्रियालाई निरन्तरता दिने संकेत गरेका थिए । जर्मन कम्पनी म्युनिख एयरपोर्टको प्रस्तावमाथि थप अध्ययन गरी भाडामा सञ्चालनको जिम्मा दिने प्रक्रियाको छनौट गर्न भन्दै मन्त्री भट्टराईले सुझाव दिन एक प्राविधिक समिति बनाएका थिए । पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने, अर्थ मन्त्रालयका एकजना सहसचिव र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल सम्मिलित समितिले अध्ययन गरेको थियो ।  

म्युनिखका प्रतिनिधिले नेपाल आएर विमानस्थल सञ्चालनको अध्ययन गरेर फर्किएपनि सरकार त्यतिबेला नै पछि हटेको थियो । तर जिटुजी प्रक्रियाबाट अघि बढ्ने भनिएपनि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भट्टराई नै जिटुजीबाट विमानस्थल सञ्चालनको जिम्मा दिने मनशायमा देखिएका छैनन् । जिटुजीबाटै खरिद प्रक्रिया सुरु गरिएका सेक्युरिटी प्रेसको ठेक्का विवादित बनेपछि मन्त्री भट्टराई भनेली विमानस्थलको सञ्चालनमा पनि यही प्रक्रिया अपनाउँदा विवादित बन्न सक्ने भन्दै जिटुजी प्रक्रियाभन्दा फरक खालको प्रक्रियाको खोजीमा छन् ।

अब ग्लोबल टेण्डर

गत जेठमा नेपाल सरकारले विमानस्थल सञ्चालनको जिम्मा जिटुजी मोडलबाट दिन सैद्धान्तिक सहमति प्रदान गरेको थियो । तर मन्त्री भट्टराईले बनाएको प्राविधिक समितिले जिटुजी प्रक्रिया रद्द गरी ग्लोबल टेण्डर (खुल्ला प्रतिस्पर्धा) मार्फत विमानस्थल सञ्चालकको छनौट गर्न सुझाव दिएको छ । समितिले जिटुजी प्रक्रिया रद्द गर्न भनेपछि यो प्रक्रिया अब अघि नबढ्ने तर समितिले दिएको ग्लोबल टेण्डरको सुझावका ठाउँमा भने सरकारले अन्य कुनै निर्णय गर्न सक्ने प्राधिकरण स्रोत बताउँछ ।

‘हामीले जिटुजीबाट नदिँदा राम्रो हुन्छ भनेर यो प्रक्रिया नै रद्द गर्न भनेका छौँ’ समितिका एक सदस्यले भने, ‘प्रक्रिया रद्द गर मात्रै भनेर भएन, त्यसको विकल्प के हुन सक्छ भनेर समितिले अध्ययन गरी खुल्ला प्रतिस्पर्धाबाट नै विमानस्थल सञ्चालकको छनौट गर्नु उपर्युक्त हुन्छ भन्ने सुझाव पनि दिएको छ । तर सरकारले नै बाँकी निर्णय गर्छ ।’

ग्लोबल टेण्डरबाट सञ्चालक छनौट गर्ने विषयमा सरकारले थप अध्ययन गर्ने र समितिको सुझाव मान्ने सम्भावना पनि रहेको प्राधिकरण स्रोतको भनाई छ । नेपालमा विमानस्थल निर्माण र सञ्चालन आफैँले गर्नुपर्ने भएकाले प्राधिकरण निकट भविष्यमा नियमन र सञ्चालन गरी २ निकायमा विभाजन हुने निश्चित भएकाले उक्त विमानस्थल नेपाल आफैँले पनि सञ्चालन गर्न सक्ने अवस्था आउने अनुमान छ ।

असारमा काम सक्न चूनौती

चिनियाँ कम्पनी नर्थवेष्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सले निर्माणको जिम्मा पाएको उक्त विमानस्थलको काम २०७१ बाट सुरू भएको थियो । एसियाली विकास बैंकको अगुवाइमा लगानी भएको उक्त आयोजनाको भौतिक कामको सुरुवाती लागत ६ अर्ब २२ करोड अनुमान गरिएपनि पहिलो चरणको लागत मात्रै ९ अर्ब नाघ्ने अनुमान छ ।

प्राधिकरणका अनुसार उक्त विमानस्थलको धावनमार्ग, टर्मिनल भवन र टावर निर्माणको काम सकिएको छ । असार मसान्तसम्म फिनिसिङको सक्ने समयावधि रहेपनि लकडाउनलाई देखाउँदै निर्माण सक्ने मिति धकेलिने निश्चित प्राय भएको छ । तर पनि असारमा काम सकिँदै भनेर आफूहरुले भन्न नमिल्ने अधिकारीहरु बताउँछन् । केही महिना अघिको पत्रकार भेटघाटमा मन्त्री भट्टराईले विमानस्थलको व्यवसायीक उडान चाँडै सुरु हुने र त्यसको उद्घाटनमा पत्रकारहरुलाई प्लेनमार्फन नै भैरहवा लैजाने बताएका थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved