काठमाडौँ विमानस्थलले थाल्यो उडानको तयारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2020 | 12:26:45 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा मार्किङको काम थालेको छ । लकडाउनका कारण सञ्चालन स्थगित भएको विमानस्थलमा धमाधम मार्किङ सुरु भएपछि यसलाई सेवा सञ्चालनको पूर्व तयारीका रुपमा लख काटिएको छ । लकडाउन हुनु अघि नै चैत्रको पहलिो हप्ताबाटै अन्तराष्ट्रिय उडान रोकिएको काठमाडौँ एयरपोर्टमा चैत्र ११ गतेबाट आन्तरिक उडान पनि रोकिएको थियो । 

सरकारले विभिन्न मितिमा बाह्य तथा आन्तरिक उडान स्थगितको मिति थप गर्दै आएको छ । पछिल्लो पटक थप भएको उडान स्थगितको अवधि जेठ १८ सम्म कायम छ । यसबीचमा विभिन्न देशका लागि चार्टड उडान, औषधि आयात गर्न कार्गो उडान र केही हेलिकप्टरहरुको रेस्क्यु उडानबाहेक अन्य उडान रोकिएका छन् ।उडान स्थगितको मिति कहिलेसम्म लम्बिन्छ भन्ने यकिन छैन ।

लकडाउनकै बीचमा त्रिभुवन विमानस्थलमा मार्किङ सुरु भएपछि यसलाई सेवा सञ्चालनको तयारीका रुपमा हेरिएको छ । सामाजिक दूरी कायम हुने गरी यात्रु उभिने स्थान तय गरिएको छ । सरकारले विमानस्थल खोल्नासाथ सेवा सूचारु गर्न सकियोस् भनेर स्वास्थ्य मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रालयले तोकेको मापदण्ड अनुसार एयरपोर्टमा मार्किङ सुरु गरिएको विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीको भनाई छ ।

‘विमानस्थलको टिकट लिने ठाउँ, आन्तरिक टर्मिनलमा जाने बाटो र लगेज संकलन गर्ने ठाउँमा मार्किङ गर्न लागिएको छ’ महाप्रवन्धक केसीले भने, ‘यसलाई पूर्व तयारीका बुझ्दा हुन्छ । सरकारले एयरपोर्ट खोलेको छैन, अहिले नै सेवा सञ्चालनबारे घोषणा चाँही नगरौँ ।’

उनका अनुसार जेठ १८ बाट हवाई उडान स्थगितको संकेत देखिएको छ । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिले अहिले नै अन्तराष्ट्रिय उडान नखोल्ने भनिसकेपनि आन्तरिक उडानका विषयमा भने बोलेको छैन । विमानस्थलको तयारीले आन्तरिक उडान खेुल्न सक्नेतर्फ संकेत गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved