अष्ट्रेलियाबाट नेताका ११ जना मान्छे बोकेर फर्कियो निगमको जहाज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 10, 2020 | 02:15:13 PM मा प्रकाशित

laxmi  sunrise bank

२९६ यात्रु बोकेर अष्ट्रेलिया गएको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज मंगलबार राती रित्ते फर्किएको छ । पहिलो पटक नेपालको राजधानी काठमाडौँबाट अष्ट्रेलियाको राजधानी क्यानबेरा जोड्ने गरी भएको उडानलाई नेपालले र निगमले ऐतिहासिक भनेका छन् । निगमको जहाज अष्ट्रेलिया र न्युजिल्याण्डका नागरिक तथा छुट्टिमा नेपाल आएका ‘पिआर होल्डर’ नेपाली नागरिक लिएर अष्ट्रेलिया गएको थियो । जहाज नेपालस्थित अष्ट्रेलियाली दूतावासले चार्टड गरेको हो ।

सोमबार गएको जहाज फर्किदा अष्ट्रेलियामा रहेका नेपाली लिएर फर्किने भनिएपनि फर्किदा रित्तै फर्किएको हो ।सरकारका अनुसार अष्ट्रेलियाबाट १ हजार ३ सय नेपालीलाई तत्काल उद्धार गर्नुपर्ने अवस्था छ । सरकारले विभिन्न देशबाट तत्कालै उद्दार गर्नुपर्ने नेपाली नागरिकको सूचीमा अष्ट्रेलियाबाट फर्काउनुपर्ने नागरिक १ हजार ३ सय जना छन् । तर सोमबार गएको जहाज फर्किदा जम्मा ११ जना मात्रै बोकेर काठमाडौं आईपुगेको हो ।

यसअघि लकडाउनकै बीचमा २ पटक अष्ट्रेलियामा पुगेर रित्तै फर्किएको जहाज यसपटक भने पूरै भरिएर फर्किन्छ भन्ने अपेक्षा गरिएपनि रित्तै आएको हो । सरकारले विदेशमा रोकिएको नेपाली नागरिकको उद्दार सुरु गरिसकेका कारण अष्ट्रेलिया पुगेको निगमको वाइडबडी ए३३० जहाजले करिब २७४ जना यात्रु ल्याउने अपेक्षा थियो । तर जहाज जम्मा ११ जना यात्रु मात्रै बोकेर आईपुग्यो ।

स्रोतका अनुसार मंगलबार राती १० बजे काठमाडौँ आईपुगेको निगमको जहाजमा अनिशा अधिकारी, चर्चा भट्टराई, जितेन्द्र बलामी, उसा मरासिनी, विशाल पौडेल, सुनिष्ठा दाहाल, नेत्र मरासिनी, जयकला राई, सुनिता परियार, रमेश सिलवाल र ज्योति सिलवाल छन् । अष्ट्रेलियास्थित नेपाली दूतावासले प्राथमिकताका आधारमा २७० जनालाई काठमाडौँ पठाउने बताएको थियो । 

निगमको जहाजमा एकजना पित्तथैलीको क्यान्सरबाट पीडित नेपाली दम्पति, दुई जना तालिमका लागि पुगेका गृह मन्त्रालयका कर्मचारी र एकजना अष्ट्रेलियामै अलपत्र महिला छिन् । यसबारेमा नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले दूतावासले तत्काललाई ११ जना मात्रै लैजानु भनेका कारण जहाज त्यति नै यात्रु बोकेर फर्किएको बताएकी छिन् । 

‘दूतावासबाट औपचारिक पत्र आएको थिएन, उहाँहरुले ११ जना मात्रै लैजान भन्नु भयो हामीले त्यसै अनुसार ११ जना नै लिएर आयौँ’ उनले भनिन्, ‘आवश्यक पहल नै भएको थिएन, दूतावासले फर्मल लेटर दिएको भए त हाम्रो जहाज रित्तै आउनुपर्ने थिएन । यात्रु बोकेर आईहाल्थ्यो नि ।’ 

नागरिक उड्डयन प्राधिकरण र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल स्रोतले भने जहाजमा को को आए भन्ने विवरण सम्बन्धित एयरलाईन्सँग हुने भएपनि उनीहरु सरकारी उच्च अधिकारीका आफन्त रहेको भन्नेबारे जानकारी नहुने बताएका छन् । तर उच्च स्रोतले भने निगमको जहाजमा फर्किएका ११ जनामध्ये ५ जना नेपालका उच्च तहका राजनीतिक नेताका आफन्त छन् ।

नेपाल फर्किन नाम टिपाएर बसेकाहरुले भने अष्ट्रेलियाबाट जहाज ११ जना यात्रु मात्रै लिएर फर्केपछि सामाजिक सञ्जालमा नेताका आफन्त मात्रै बोकेर गएको भन्दै आक्रोश पोखेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved