बुद्ध एयरको घाटा ४० करोड, किस्ता तिर्न नपर्दा भार कम

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 27, 2020 | 03:00:42 PM मा प्रकाशित

laxmi  sunrise bank

चैत्र ११ गतेदेखि मूलुक लकडाउन हुँदा हवाइ सेवा पूर्ण रुपमा बन्द भयो । आन्तरिक उडानमा सबैभन्दा धेरै यात्रुलाई सेवा दिएको भनेर दाबी गर्ने बुद्ध एयरले लकडाउनको अवधिमा ४० करोड बढी क्षति ब्यहोरेको छ । मासिक ९ करोड रुपैयाँका दरले घाटा ब्यहोरेको बुद्ध एयरले विदेशी पर्यटक नआउने भएकाले तत्काल व्यवसायिक उडानले गति लिनेमा भने शंका गरेको छ ।

‘कर्मचारीलाई आधा तलब’ 

बुद्ध एयरले १ हजार बढीलाई रोजगारी दिएको छ । लकडाउनको अवधिमा आम्दानी नहुँदा कम्पनीले ५० प्रतिशत तलब दिएको छ । आफैँले निर्णय गरेर कर्मचारीलाई बैशाखदेखि असार सम्म ५० प्रतिशत तलब दिईएको बुद्ध एयरका मार्केटिङ सेल्स एण्ड ग्राउण्ड ह्याण्डलिङ विभागका प्रमुख रुपेश जोशी बताउँछन् । 

बुद्ध एयरले कर्मचारीको तलबमा मात्रै मासिक ७ करोडको हाराहारीमा खर्च हुँदै आएको जनाएको छ । बुद्धले आफ्नो खर्चको करिब ८० प्रतिशत कर्मचारीको तलबमा मात्रै हुने र बाँकी २० प्रतिशत भने भाडा तथा सवारीमा हुने गरेको जोशीको भनाई छ ।

‘बैंक लोन नहुँदा सहज’

बुद्ध एयरले अन्य हवाइसेवा प्रदायक कम्पनीमा जस्तो आफ्नो समस्या नरहेको दाबी गरेको छ । 

‘४० करोड जस्तो घाटा भइसक्यो, तर पनि अहिलेसम्म कम्पनीले कर्मचारीलाई तलब सुविधा दिईरहेको छ’ जोशीले भने, ‘हाम्रो बैंक लोन एकदमै कम भएका कारण केही सहज भएको हो, बैंक लोन भएको भए निकै गाह्रो हुन सक्थ्यो ।’ 

भदौ १ बाट दैनिक १८ उडान

सरकारले भदौ १ गतेबाट आन्तरिक तथा अन्तराष्ट्रिय हवाइ उडान खोल्दै छ । बुद्ध एयरले पनि उडानको तयारी गरिरहेको छ । यात्रु सुरक्षाका उपाय अपनाएर आन्तरिक गन्तव्यमा उडान भरिने जोशीले बताए ।

‘पोखरा, भद्रपूर, विराटनगर, भरतपूर जस्ता हाम्रा नियमित गन्तव्यमा भदौ १ बाट उडान गर्छौँ’ जोशीले भने, ‘हामीले टिकट बुकिङ पनि खुल्ला गरेका छौँ, पहिला पनि उडान हुनेभन्दा एक÷दुई दिन अघि मात्रै टिकट काट्ने चलन हो हाम्रो, अहिले दैनिक ५० देखि ६० वटा टिकट बुकिङ भईरहेको छ ।’ 

लकडाउन सुरु हुनुभन्दा पहिले हुँदै आएको उडानका आधारमा भदौ १ बाट बुद्ध एयरले दैनिक १८ वटा उडान गर्न पाउने भएको छ । भारतको वाराणासीमा हप्ताको ३ वटा उडान गर्दै आएको बुद्धले तत्काल भने उक्त उडान नगर्ने भएको छ । बुद्धसँग एटिआर ७२ जहाज ८ वटा, ३ वटा एटिआर ४२ जहाज र डिस्क्राफ्ट २ वटा गरी १३ वटा जहाज छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved