दराजसँग मिलेर गैरकानुनी धन्दामा नेपाल एयरलाइन्सका एयरहोस्टेस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 01, 2020 | 09:29:07 PM मा प्रकाशित

laxmi  sunrise bank

अनलाइन सपिङ साइट दराजले नेपाल वायुसेवा निगमका एयरहोस्टेजलाई भरिया बनाएर नेपाल भित्र्याएको सामान बिक्रि गरेको पाईएको छ। यसबारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्र काटेपछि यो प्रकरण बाहिर आएको हो। 

भन्सार छलेर कस्मेटिक सामग्री नेपाल ल्याई दराज मार्फत बिक्री वितरण गर्ने गरेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरेपछि घटना बाहिरिएको हो। निगममा कार्यरत निगमको एयरबस ३२० तथा ३३० मा कार्यरत एयरहोस्टेज दिदी बहिनी प्रजिता तथा प्रदा कार्की र करिश्मा मालाकारले विगत ४ वर्षदेखि ‘ब्रान्ड डिल’ नामक कम्पनीको नामबाट दराजमा सामग्री बिक्री गर्दै आएको प्रमाण बिजपाटीले पाएको छ । 

बुधबार बिजपाटीले नेपाल एयरलाइन्समा कार्की दिदी बहिनी र ज्वार्चन परिवारको रजाइँ, अख्तियारको चासो भन्ने शिर्षकमा समाचार प्रकाशन गरेपछि उनीहरुले दराजमा फोन गर्दै कारोबारको विवरण बल्क गरे नगरेको बारेमा बुझेको थाहा हुन आएको छ। उनीहरुले फोन मार्फत कारोबार विवरणका साथमा कम्पनीको नाम समेत हटाउन अनुरोध गरेका थिए ।

उनीहरुको विषयमा अख्तियारले छानविन सुरु गरेपछि हाल दराजमा उक्त सामग्री बिक्री भएको छैन् भने दराजमा हालसम्म भएका कारोबारको विवरण बन्द गर्नलाई उनीहरुले दबाब दिंदै आएको पाइएको छ। एयरहोस्टेज मालाकारले सामाजिक सञ्जाल (फेसबुक) मा नै ब्राण्ड डिलको फाउन्डर रहेको लेखेकि छिन् । उक्त ब्राण्डको फेसबुक पेजमा नै दराजमार्फत बिक्री हुने उल्लेख गरिएको छ । 

उनीहरुमाथि भन्सार पास बिना नै कस्मेष्टिक सामग्री नेपाल ल्याएर अनलाईन सपिङ साइट दराजमार्फत बिक्रि गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो । यसअघि सहकर्मीलाई सामाजिक सञ्जालमार्फत धम्क्याएको अभियोगमा महिला प्रहरी सेल ललितपुरमा समेत प्रजितालाई राखिएको खुल्न आएको छ ।

निगमका अपरेशन विभाग स्रोतले अख्तियारले छानविन गरेको कुरा पर्यटन मन्त्रालयबाट पत्र आएपछि थाहा भएको जनाएको छ। एक उच्च अधिकारीले भने ‘यो धेरै अगाडीको कुरा हो, उनीहरुलाई बोलाएर थप कुरा सोधिएको थियो । मन्त्रालयबाट आएको पत्रको जवाफ समेत उनीहरुले पठाईसके’। उनीहरुले गल्ती गरेको प्रमाण भेटिए तत्काल आवश्यक कारवाही गर्ने निगम तयार रहेको निगमले जनाएको छ । 

उक्त ब्राण्डका सामग्रीहरु दराज मार्फत बिक्री हुँदै आएको दराजले स्वीकार गरेको छ। एयरहोस्टेज दिदी बहिनी  प्रजिता र उनीहरुको साथि मालाकारलाई अख्तियारले छानविन गरिरहेको छ । 

यसअघि बजार अनुगमनको जिम्मा पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले दराज अनलाईनलाई अनुचित व्यापारीक कारोबार गरेको भन्दै कारवाही स्वरुप ३ लाख जरिवाना समेत गरेको थियो । दराजले गुणस्तरहीन तथा अनलाईनमा एउटा राख्ने र अर्काे सामग्रीको डेलिभरी गर्ने गरेको उपभोक्ताले गुनासो गर्दै आएका छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved