यती समूहले 'फालेका' जहाजमा भविष्य खोज्दै नेपाल एयरलाइन्स

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 12, 2020 | 03:26:49 PM मा प्रकाशित

laxmi  sunrise bank

निजीक्षेत्रको वायुसेवा कम्पनी यती एयरले प्रयोग गर्दै आएको ट्विनअटर विमान सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगमले लिने तयारी गरेको छ । आन्तरिक उडानका लागि जहाज नभएको भन्दै नयाँ किन्नभन्दा यतीबाट लिजमा लिएर कमीशन खाने तयारी गरेको पाईएको छ । 

यतीले एटिआर विमानबाट आन्तरिक उडान गर्दै आएपछि खासै प्रयोगमा नभएको उक्त विमान निगमलाई भिडाउने तयारी गरिएको हो । निगम सञ्चालक समितिका सदस्य तथा कर्मचारीको मिलोमोतोमा यतीले लिजमा ल्याएको विमान निगमलाई दिएर कमिशन सगैँ सम्बन्ध समेत राम्रो बनाउने तयारी भएको निगम स्रोतले जनाएको छ । 

स्रोतका अनुसार यतीले लिजमा ल्याएको विमानको लिज अबधि सकिएको छैन, ग्राउन्डेड राख्नभन्दा निगमलाई दिदा फाईदा हुनेभन्दै यतीको मिलोमोतोमा ल्याउने तयारी भएको छ । यतीबाट जहाज लिँदा पर्याप्त मात्रामा कमिशन आउने तथा सम्बन्ध यर्थावत रहने र निगमको आवश्यकता पूराहुने स्वार्थमा जहाज ल्याउने तयारी गरिएको स्रोतको दाबि छ।

निगमका नायब महाप्रबन्धक गणेशचन्द्र ठाकुरको संयोजकत्वमा गठित जहाज खरिद अध्ययन समितिलाई दुई थान एटिआर ७२ सिरिज र तीन थान ट्विनअटर जहाज खरिद गर्ने गरी व्यावसायिक योजना तयार पार्ने जिम्मा दिईएतापनि कर्मचारी तथा सञ्चालक समिति सदस्यले दबाद दिदैँ आएका छन् । 

निगमका लागि उपयुक्त ट्विनअटर जहाज भएको भन्दै एटिआरको अध्ययन नगर्न धेरै दबाब आउने गरेको उक्त समितिका एक सदस्यले विजपाटीलाई जानकारी दिए । नाम नभन्ने सर्तमा ती सदस्यले हाल नीजि क्षेत्रको यती एयरलाइन्सले लिजमा ल्याएको ३ वटा टिवनअटर विमान नै निगमका लागि उपयुक्त हुने भन्दै त्यही अनुसार प्रतिवेदन बनाउन दबाब आएको छ । 

यतीले ल्याएको जहाज नेपाली आकाशमा उडेको भन्दै सोही जहाज लिदा उपयुक्त हुने र दुर्गमका क्षेत्रमा समेत प्रतिस्पर्धा गर्न सहज हुने  तर्क अघि सारेर दबाद दिने गरिएको पाइएको  छ। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निगमसँग आन्तरिक उडानमा ४० वर्ष पुराना जहाज रहेको भन्दै नयाँ जहाज खरिदको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएतापनि अध्ययन समितिले प्रतिवेदन सार्वजनिक गर्न सकेको छैन् । 

नेपाल वायुसेवा निगम सञ्चालक समितिको साउन १५ गते बसेको बैठकले आन्तरिक उडानमा प्रयोग भएका ६ वटा चिनियाँ जहाज ग्राउन्डेड गर्ने निर्णय सगैँ हाल २ वटा ट्विनअटर जहाजले आन्तरिक उडान भर्दै आएका छन् । निगमसँग सुगम तथा दुर्गम क्षेत्रमा उडान भर्न ९ वटा जहाज रहेकोमा अहिले २ वटामा सिमित भएको छ। ६ जहाज ग्राउन्डेड हुँदा तथा १ जहाज लामो समयदेखि सञ्चालनमा नआउदा  निगम २ वटा जहाजमा सिमित भएको हो।

निगमसँग प्रतिस्पर्धा गर्ने यती तथा बुद्ध एयरले १३ वटा विमानमार्फत आन्तरिक उडान गर्दै आएकोमा सरकारी ध्वजावाहक नेपाल वायुसेवा निगमभने २ विमानमार्फत दुर्गमका क्षेत्रमा मात्र उडान गर्दै आएको छ । पुराना जहाज भएका कारण ट्विनअटर विमान उडानभन्दा धेरै ग्राउन्डेड हुने गरेका छन् । 

निगमको नवनियुक्त महाप्रबन्धक डिमप्रकाश पौडेल निगमको दुर्गम क्षेत्रको उडानमा पकट भएको भन्दै दुर्गम क्षेत्रको उडानका लागि आवश्यक पर्ने जहाज खरिद गर्ने बताउँछन् । दुर्गमका क्षेत्रमा सानो जहाजमार्फत उडान हुने भन्दै उनले ट्विनअटर विमान नै उपयुक्त हुने भन्दै तराईका क्षेत्रको उडानमा नीजि क्षेत्रलाई छोड्ने उनले बताए । 

यती तथा बुद्ध एयरले व्यवसायीक उडान गरेको क्षेत्रमा उडान रोकेर दुर्गम क्षेत्रमा मात्र उडान गर्ने भन्नुनै नीजि क्षेत्रसँग मिल्नु भएको निगमका अधिकारी बताउँछन् । निजी क्षेत्रको प्रतिनिधित्व गर्दै सञ्चालक समितिकाे सदस्यहुँदै महाप्रबन्धककाे रुपमा नियुक्ति पाएका पौडेलले समेत निजी क्षेत्रको स्वार्थमा काम गर्न लागेको उनिहरु बताउँछन् । गत बुधबार विजपाटीसँग भएको कुराकानीमा समेत पौडेलले तत्कालका लागि ट्विनअटर विमान आवश्यक रहेको बताएका थिए । 

‘हामीसँग एटिआर जहाजका लागि आवश्यक पर्ने संरचना छैन, संरचना बनाउन, ईन्जिनियर, क्यापटेन तथा कोपाइलटको नियुक्त देखि तालिमसम्म गर्न धेरै समय र खर्च लाग्न सक्छ, आर्थिक अवस्था कमजोर भएको निगममा झन आर्थिक भार थप्नुभन्दा टिवनअटर नै उचित हो’, उनले भनेका थिए ।  

तराईका क्षेत्रको उडानमा नीजिसँग प्रतिस्पर्धा गर्न नसक्ने भन्दै उनले दुर्गम क्षेत्रकै उडानलाई प्राथमिकता राख्ने समेत बताएका थिए । यतीले उडान गरेको जहाज लिजमा लिन मिल्ने भए झनै राम्रो हुने भन्दै नेपाली आकाशमा उडान गरेको जहाज सहज हुने समेत बताएका थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved