पर्यटनमन्त्रीकै कारण बढ्यो ‘कार्गो’ उडानको भाडा, नेपाली बस्तु नलिने विदेशीको चेतावनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 19, 2020 | 02:31:35 PM मा प्रकाशित

laxmi  sunrise bank

कार्गो ढुवानीका लागि हवाइ भाडा ३ गुणासम्म बढेको छ । नेपाली उत्पादन विदेश पठाउने काम गर्दै आएका नेपाली निर्यातकर्ताहरु महामारीको समयमा बस्तुको निर्याता गर्दा भाडा महँगो तिर्नुपर्ने भएपछि निराश बनेका छन् ।

निर्यात परिषद्ले बन्दाबन्दी हुँदा पनि निर्यात व्यवसायमा संलग्न उद्यमी व्यवसायीले सानो परिणाममा भएपनि नेपाली बस्तुहरु निकासी गर्दै आएको तर, हवाइ कम्पनीहरुले हवाइ कार्गो भाडादर बढाउँदा समस्या भएको जनाएको छ । 

‘हवाइ कम्पनीहरुबाट पहिलाको भन्दा २/३ गुणाभन्दा बढी हवाइ कार्गो भाडादर बृद्धि गरिरहेको र यसबाट हवाइ कार्गो भाडादर महंगो भएबाट नेपाली वस्तु निर्यातकर्ता तथा आयातकर्ता व्यवसायीहरुसमेत आक्रान्त भईरहेकोप्रति यस परिषद्को गम्भिर ध्यानाकर्षण भएको छ’ परिषद्को विज्ञप्तिमा भनेको छ ।

कसले बढायो कार्गो भाडा ?

परिषद्का महासचिव रामशरण थपलियाले पहिला एक किलोको ४ डलर शुल्क लाग्दै आएकोमा अहिले ८ देखि ९ डलरसम्म लाग्ने गरेका कारण विदेशी आयातकर्ताले नेपालको बस्तु नै नलिने अवस्था सिर्जना भएको बताएका छन् । आयातकर्ताले एयरलाइन्सले कार्गो शुल्क धेरै लिएको भनेर नबुझी नेपाली उत्पादक र निर्यातकर्ताले नै बढी पैसा लिएको भनेर बुझ्ने हुँदा नेपाली बस्तु आफूहरुले किन्न नसक्ने र किन्दा आन्तरिक बजारमा प्रतिस्पर्धा गर्न गाह्रो भएको भनेर विदेशीले चेतावनी दिईसकेको उनको भनाई छ ।

नेपाल फ्रेइट फरवाडर्स एसोसियसन (नेफा) ले भने कार्गोको भाडादर आफूहरुले नभई सम्बन्धित एयरलाइन्स कम्पनीले बढाएको बताएको छ । नेफाका अध्यक्ष प्रकाश सिंह कार्कीले आफूहरुले पहिलादेखि नै प्रति एक किलो जम्मा ५ रुपैयाँ मात्रै नाफा राखेर निर्यात गर्दै आएको र अहिले पनि त्यही कायम रहेको बताएका छन् । तर, बन्दाबन्दीलाई देखाएर कार्गो उडान गर्नका लागि जहाजहरुले बढी शुल्क लिने गरेको उनको भनाई छ ।

‘पहिलो कुरा शुल्क बढाउन हाम्रो हात हुँदैन, दोस्रो कुरा हामीले अहिले पनि प्रति किलो ५ रुपैयाँ नाफामा सामान पठाउँदै आएका छौँ’ नेफाका अध्यक्ष कार्कीले भने, ‘नेपाल सरकारले नै रेगुलर फ्लाइट गर्न नदिएर चार्टड मात्रै दिँदाखेरीको समस्या अहिले निर्यातकर्ता र हामीले भोगिरहेका छौँ, रेगुलर फ्लाइट गर्नुको सट्टा चार्टड उडान अनुमति दिँदा पर्यटनमन्त्री योगेश भट्टराई र त्यहाँका अरु अधिकारीहरुका केही व्यक्तिगत इन्ट्रेष्ट होलान्, जसको मार हामीलाई परेको छ ।’

उनले प्यासेन्जर बोकेर पनि चाटैड उडानमार्फत मात्रै जहाजलाई आउन दिनु भनेको ‘अण्डर टेबल बिलिङ’ हुनु नै भएको दाबी गरेका छन् । 

‘चार्टडमार्फत नै सामान लिन हामीले विदेशबाट जहाज बोलाउँदा पनि अनुमति पाउँन गाह्रो छ, मन्त्रालयमा पुगेर टेबलमुनिबाट यसो हात मिलाएपछि अनुमति पाइन्छ भन्ने सुनेको छु’ कार्कीले थपे ।

कहाँ कति बढ्यो शुल्क ?

पहिला अमेरिकी देशहरुमा नेपालबाट प्रतिकिलो कार्गोको ४ डर लाग्दै आएको थियो । तर अहिले तेब्बरभन्दा बढीसम्म बढाएर १० डलरसम्म पुर्याइएको छ । त्यस्तै युरोपमा १.८ डलर लाग्नेमा अहिले ४ देखि ५ डलर प्रतिकिलो कार्गो भाडा लाग्दै आएको छ ।

बस्तुको ढुवानीको मूल्य बिना कुनै कारण बढ्दा नेपाली उत्पादन विदेशमा जान नसकी व्यापार घाटा थप चुलिने चिन्ता बढेको छ । सन् १९८१÷०८२ देखि अन्तराष्ट्रिय हवाइ उड्डयन संगठन (आयटा) ले भुपरिबेष्ठित मूलुक भनेर नेपाललाई दिँदै आएको विशेष सुविधाबापत नेपालले सस्तो भाडादरमा सामान विदेश पठाउँदै आएको थियो । विश्वकै सबैभन्दा सस्तो दरमा सामान निर्यात हुने देशको सूचीमा पर्ने नेपाललाई कोरोना कारण कार्गो भाडा बढ्दा अब सामान निर्यात गर्न कठिनाई भएको छ ।

कसले बोक्छन् बढी कार्गो ?

नेपालबाट सबैभन्दा धेरै कार्गो बोक्नेमा कतार एयरवेज र नेपाल एयरलाइन्स पर्दछन् । यसपछि टर्किस एयरलाइन्सले पनि चार्टड उडानबाट कार्गो ढुवानी गर्ने गरेको छ । नेपाल एयरलाइन्सको कार्गो उडानमा बिचौलिया खडा गर्ने प्रवृत्ति रहेका कारण समस्या रहेको निर्यातकर्ता र फरवाडर्सहरुको भनाई छ ।

‘विदेशी एयरलाइन्सले बढी लियो भन्ने ठाउँ नै छैन, किनकी हाम्रै देशको राष्ट्रिय ध्वजाबाहकले त महँगो पैसा लिन्छ’ एक जना फरवाडर्सले भने, ‘नेपाल एयरलाइन्सको त पाइला पाइलामा बिचौलिया घुस्छन्, जति धेरै बिचौलिया भयो त्यति नै धेरै ढुवानी शुल्क महँगो हुन जान्छ, हाम्रो सामान महँगो भएपछि विदेशीले माग गर्दिदैन । यदि यस्तो अवस्था आयो भने के होला ?’

अहिले नेपालबाट गार्मेन्ट, ह्याण्डिक्राफ्ट, कटनका स्वीटरहरु र कार्पेट बढी निर्यात हुँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved