नेपाल राष्ट्र बैकले एक सय रुपैयाँ अंकित दरका ४० करोड थान नोट छाप्न अन्तर्राष्ट्रिय बोलपत्र आब्हान गरेको छ। अन्तर्राष्ट्रिय प्रतिस्पर्धी बोलपत्र प्रक्रियाअन्तर्गत योग्य कम्पनीले नोट डिजाइन, प्रकाशन र आपूर्ति गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका अनुसार इच्छुक कम्पनीले पुस १५ भित्र बोलपत्र खरिद गरिसक्नुपर्ने छ। बोलपत्र खरिदका लागि इच्छुक कम्पनीले २० हजार रुपैयाँ लाग्ने छ भने यो रकम फिर्ता हुनेछैन। बोलपत्रअनुसार ४० करोड थान १ सय दरका नोटको मूल्य ४० अर्ब रुपैयाँबराबर हुन्छ।
बोलपत्र पेस गर्ने कम्पनीका प्रतिनिधिको उपस्थितिमा थापाथलीस्थित राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा बोलपत्र खोलिने छ । बोलपत्र खोलिएको १ सय २० दिनसम्म म्याद रहने र यसका लागि ३ करोड १० लाख रुपैयाँ वा सो सरहको विनिमय दरअनुुसारको रकम जम्मा गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । यसको म्याद २०७६ जेठ १४ सम्म रहने छ ।
नेपालमा नोट छाप्ने ‘सेक्युरिटी प्रेस मेसिन’ नभएका कारण केन्द्रीय बैंकले विदेशबाट नोट छपाउँदै आएको छ । यसबाट ठूलो परिमाममा रकम विदेशिने गरेको छ । सेक्युरिटी प्रेसले कागजी नोटमात्र नभई बैंक चेक, राहदानी लगायत छाप्ने गर्छ ।