२ दिन लगाएर बैंक खाता खोल्नु पर्ने बाध्यता, १० हजारभन्दा बढी खर्च

रासस

रासस

Feb 07, 2019 | 02:22:23 PM मा प्रकाशित

laxmi  sunrise bank

दार्चुलास्थित अपी हिमाल गाउँपालिका–२ का ललितसिह लोथ्याल र बिन्दु लोथ्याल उपभोक्ता समितिको बैंक खाता खोल्न दुई दिन लगाएर सदरमुकाम खलङ्गा आए । 
साविकको घुसा गाविसबाट खलङ्गा आउन दुई दिन र फर्किदा दुई दिन गरी चार दिन समय लाग्छ । बैंकमा उपभोक्ता समितिको खाता खोल्नका लागि अध्यक्ष र कोषाध्यक्षको हस्ताक्षर अनिवार्य छ । त्यसका लागि दुई दिन लगाएर भएपनि दुबै जना खलङ्गा आउन बाध्य भए । 

खलङ्गा आउन एकतर्फी गाडीभाडा प्रतिव्यक्ति रु एक हजार खर्च भयो । दुई दिन सदरमुकाम खलङ्गामा कागजात बनाउँदा होटल बाँस र खाना खर्च भयो । सामान्य होटल खर्चप्रति दिन प्रतिव्यक्ति रु ५०० र खाना दुई छाक रु ३०० तिर्नुपर्छ । यसरी दुई जनाको एक पटक खलङ्गा आउँजाउँ गर्दा त्यही रु १० हजारभन्दा बढी खर्च हुने गरेको छ । 
स्थानीय गुरुखोलामा आरसिसी पुल निर्माणका लागि गाउँपालिकाबाट रु दुई लाख बजेट विनियोजन गरेपछि सो योजना निर्माणका लागि छनौट भएका उपभोक्ता समितिको बैंक खाता खोल्न उनीहरु खलङ्गा पुगेका हुन । खलङ्गा आउनजान र त्यहाँ बस्दा लाग्ने रु १० हजार त्यही योजनाको रकमबट खर्च भएको बिन्दु लोथ्यालले बताए । 

यसैगरी अपी हिमाल गाउँपालिका–६ का गोवद्र्धन महता र जानकी महताले पनि योजना निर्माणका लागि उपभोक्ता समितिको खाता खोल्न सदरमुकाम खलङ्गा आए । गाउँपालिकाको सहयोगमा निर्माण हुन लागेको बर्थिङ सेन्टरका लागि बैंक खाता खोल्न उनीहरु पनि दुई दिन लगाएर खलङ्गा आएका हुन  । गाउँपालिकाको रु १३ लाख बजेट लागतमा बर्थिङ सेन्टर निर्माण हुन लागेको हो । खलङ्गा आएको तीन चार दिन भइसक्यो । “बैंकमा खाता खोल्नका लागि आवश्यक पर्ने कागजी प्रक्रिया पु¥याउन बढी समय लाग्ने भयो”, गोवद्र्धन महताले भने , “विकास निर्माणमा लगाउनुपर्ने बजेट गाँसबासमै जाने जस्तो छ ।” दुई जनालाई खाना बस्न र टिकट गर्दा ठूलो रकम खर्च यसैमा देखिने जस्तो छ । 

यी त प्रतिनिधिमूलक घटना मात्र हुन् । गाउँपालिकामा गत पुस अन्तिम साता माछापुच्छ«े बैंक खुलेको छ तर गाउँपालिकामा खुलेको बैंकमा कारोवार शुरु नहुँदा अहिले पनि स्थानीयवासीले हजारौँ रुपैयाँ खर्च गरी सदरमुकाम खलङ्गा आउनुपरेको वाध्यता छ । योजनाका लागि खाता खोल्न र कामका लागि पेश्की निकाल्न खलङ्गा आउँजाउँ गर्दा बजेटको आधा रकम त्यतिकै सकिने गरेको छ, स्थानीय राइसिंह धामीले भने । उस्तै ढिलो गरी गाउँमा बैंक आयो भने पेश्की निकाल्न तथा प्रमुख प्रशासकीय अधिकृत र लेखापाल गाउँपालिकामा नहुँदा अहिले पनि स्थानीयवासी खलङ्गा धाउन वाध्य छन् । 

अपी हिमाल गाउँपालिकामा लेखापाल र सहायक लेखापालको दरबन्दी छ । तर दुवैको सरुवा भएपछि त्यहाँ लेखापाल छैनन् । अहिले जिल्ला अदालत दार्चुलाका लेखापाल दीपकसिंह धामीले सदरमुकाम खलङ्गाबाटै अपी हिमाल गाउँपालिकाको लेखाको काम हेर्ने जिम्मेवारी पाएका छन् । अपी हिमाल, जिल्ला अदालत, अपी नाम्पा संरक्षण क्षेत्र गरी तीन वटा कार्यालयको लेखा राख्नुपर्ने उनलाई बाध्यता छ । आफ्नै बाध्यताले गाउँपालिकामा गएर सेवा दिन सकिने अवस्था छैन, उनले भने , “काम चलाउनकै लागि जिम्मेवारी लिएको छु ।” 

यसैगरी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत जयसिंह धामी पनि स्वास्थ्यको कारण देखाउँदै र त्यसमा पनि लेखापाल जिल्लामै हुँदा खलङ्गामै बस्ने गर्छन । गाउँपालिकामा गएर पनि काम छैन, लेखापाल यही भएपछि पेश्कीदेखि लिएर तलब भुक्तानीका लागि दस्तखत गर्न यही बस्नुको विकल्प नभएको उनको भनाइ छ । 

गाउँपालिकाको खाता यसअघि राष्ट्रिय वाणिज्य बैंकमा छ । वाणिज्य बैंकको खाता गाउँपालिकामा खुलेको माछापुच्छे«े बैंकमा परिवर्तन गर्नका लागि राष्ट्र बैंकले अनुमति दिनुपर्ने हुन्छ, गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले भने । गाउँपालिकाले गत पुस २३ गते नै राष्ट्र बैंकलाई पत्रचार गरेको थियो । केन्द्रीय बैंकबाट अनुमतिमा ढिलाइका कारण गाउँपालिकाको खाता परिवर्तनमा ढिलाइ भएको हो उनले भने  । 

बैंकले स्थापना भएसँगै आर्थिक कारोवार शुरु गरिसकेको छ । गाउँपालिकाको खाता परिवर्तनमा ढिलाइ भएका कारण कतिपय उपभोक्ता समितिका पदाधिकारी सदरमुकाम खाता खोल्न गएको हुनसक्ने शाखा प्रबन्धक नवीन रोकायाले बताए । हामीले एक महीनाको अवधिमा झण्डै १०० खाता खोलिसकेका छाँै । 

गाउँपालिकाको खाता सञ्चालन नभएकाले पेश्की रकमको लागि उपभोक्ता समितिका पदाधिकारी खलङ्गा आउने गरेका छन् । गाउँपालिकाको खाता नहुँदा यहाँबाट रकम दिन मिल्दैन उनले भने । गाउँपालिकाको आफ्नो खाता परिवर्तनपछि मात्रै योजनामा पेश्की दिन सकिन्छ । 

नागरिकको वित्तीय संस्थासँग गाउँपालिकाबाटै सहज पहुँच पु¥याउने उद्देश्यका साथ हरेक स्थानीय तहमा बैंक स्थापना गरिए पनि सहजरुपमा कारोवार हुन नसकेको स्थानीयवासी बताउँछन् । गाउँपालिकामा बैंकबाट कारोवार भइदिएको भए खलङ्गा आउँजाउँ गर्नुपर्ने खर्च जोगिने उनीहरु बताउँछन् । लेकम गाउँपालिकामा स्थापना भएको लक्ष्मी बैंकबाट राजश्व बुझाउनेलगायतका केही आर्थिक सेवा प्राप्त नहँुदा अहिले जिल्ला सदरमुकाम आउनुको विकल्प नरहेको लेकम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज उपाध्यायले बताउनुभयो । अधिकांश खाता यही सञ्चालन गरिएको छ उहाँले भन्नुभयो, “तर राजश्वजस्ता केही खाता अझै परिवर्तन गर्न नसकिँदा स्थानीय सरकारले सदरमुकाम पुग्नुपरेको छ ।” 

दुई नगरपालिका र सात वटा गाउँपालिका रहेको दार्चुलाका सबै स्थानीय तहमा बैंक पुगिसकेका छन् तर ग्रामीण क्षेत्रमा अहिले पनि बैंकले इन्टरनेट, विद्युत्लगायत सञ्चारको समस्या भोग्नुपरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved