महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले औपचारिक रुपमा आफ्नो कारोबार शुभारम्भ गर्ने भएको छ। नेपालको सबैभन्दा कान्छो तथा १९ औं जीवन बीमा कम्पनीको रुपमा संचालनमा आएको इन्स्योरेन्सले माघ २७ देखि कारोबार सुचारु गर्न लागेको हो।
कारोबारको शुभारम्भसंगै महालक्ष्मीले नेपालमै पहिलो पटक नौलो बीमा योजना सार्वजनिक गरेको छ। कम्पनीले महालक्ष्मी डबल सावधिक जीवन बीमा, लगानी फिर्ता म्यादी बीमा र महालक्ष्मी सावधिक बीमा गरी ३ वटा बीमा योजना ल्याएको हो।
महालक्ष्मी डबल सावधिक जीवन बीमा योजनामा बोनसको गणना गर्न नपर्ने, अवधि समाप्तिपछि बीमांकको दोब्बर रकम भुक्तानी हुने सुविधा रहेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेश भट्टराइले जानकारी दिए। महालक्ष्मीले ल्याएको तीनवटा योजना मध्ये महालक्ष्मी डबल बीमा योजना र लगानी फिर्ता बीमा योजना नेपालमा पहिलो पटक सार्वजनिक भएको एकदमै नौलो बीमा योजना भएको सीईओ भट्टराईको दाबी छ।
महालक्ष्मीले ल्याएको लगानी फिर्ता म्यादी बीमा योजनामा घटना भएका एकमुष्ट भुक्तानी हुनेछ भने अवधिभित्र घटना नभए जम्मा गरिएको रकम फिर्ता हुनेछ। त्यस्तै महालक्ष्मी सावधिक बीमा योजनामा सुरक्षा, बचत सुविधाका साथसाथै इन्स्योरेन्सको नाफा समेत सरिक हुन पाइने सुविधा रहेको इन्स्योरेन्सले जनाएको छ।
महालक्ष्मीले बीमा समितिबाट १३ वटा शाखा कार्यालय संचालनको अनुमति लिएकोमा फागुनभित्र बाँकी बिर्तामोड, इटहरी, लहान, नारायणगढ, बुटवल, दाङ, सुर्खेत, कोहलपुर, धनगढी र जनकपुरमा शाखा कार्यालय खोलिसक्ने कम्पनीले जनाएको छ। त्यस्तै २०७६ असार भित्र मध्य पहाडी क्षेत्रका १२ वटा र काठमाडौं उपत्यकाभित्र थप १० वटा समेत गरि कुल ३५ वटा शाखा कार्यालय संचालन गर्ने योजना रहेको जनाइएको छ। \
यसअवधीमा कम्पनीको चुक्ता पुंजी २ अर्ब छ। संस्थापकबाट १ अर्ब ४० करोड चुक्ता भैसकेको छ भने ६० करोड सर्वसाधारणको लागि छुट्याएको छ। कम्पनीको संचालक समितिको अध्यक्षमा मनोरंजन रमण शर्मा र संचालकहरुमा उमेश लाल श्रेष्ठ, मोहन राज जोशी र सुरेस सापकोटा छन।
महालक्ष्मीको कारोबारको पुनर्बिमा मुयुनिख री र अनिवार्य पुनर्बिमा नेपाल रि इन्स्योरेन्ससंग रहेन जनाएइको छ। कम्पनीले आगामी असार मसान्तसम्म ५ महिनामा करिब ५० करोड बिमाशुल्क संकलन गर्ने लक्ष्य लिएकोछ। त्यस्तै कम्पनीले २ बर्षभित्र १० वटा नयाँ बीमा कम्पनी मध्ये पहिलो हुने र आगामी ५ बर्षभित्र जीवन बीमा कम्पनी मध्ये उत्कृष्ट लक्ष्य राखेको सीईओ भट्टराइको भनाइ छ।