सहाराले बनायो शेयरधनीलाई बेसहारा, तालुकी अड्डालाई सुइँको समेत छैन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 01, 2019 | 01:51:47 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्जमा सूचीकृत सहारा, वेस्टर्न, ओम र हाम्रो विकास बैंक विलयमा जाने सम्झौता गरेर विलाए जत्तिकै भएको छ | सहाराले यसका लगानीकर्ता (शेयरधनी) लाई बेसहारा नै बनाएको छ | यस्तै हालत नमस्ते र वेस्टर्नले पनि पारिदिएको छ | यस्तै हालत ओम र हाम्रोले पनि पारिदिएको छ | अहिले पछिल्लोपटक सप्तकोशी र कावेलीले पनि कतिन्जेल यस्तै हालत पार्ने हुन् अनुमान गर्न सकिन्न |

देव (विकास बैंक) सँग मिलनको लागि सहारा (विकास बैंक) ले स्वयम्बर (विलयको लागि सम्झौता) गरेको २ वर्ष भन्दा बढी भईसक्यो तर पनि सहाराको लागि देवको घरमा भित्रिन साइत जुरेको छैन | देवले धोका दिएको हो कि सहाराले जान नमानेको हो अहिलेसम्म यसको भेउ पाउन सकिएको छैन |

सहाराले आर्थिक वर्ष २०७३/७४ को वार्षिक साधारणसभा २०७५ माघ २३ गते सम्पन्न गरेको छ | उक्त सभामा विलयका लागि संचालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गरेको छ | सहाराले देवसँग लगनगाँठो कस्ने भएपछि २०७३ श्रावण २८ गतेदेखि नेप्सेले कारोबार रोक्का राखेको छ | यस हिसाबले सहाराको कारोबार रोक्का भएको २ वर्ष पुरा भएर पनि ७ महिना नाघिसकेको छ | यतिन्जेलसम्म पनि विलयको कारवाही नसकिनुको कारणबारे सहाराले कुनै जानकारी गराएको छैन |

शेयरबजारको तालुकी अड्डा नेपाल धितोपत्र वोर्डले एकपटक पनि कम्पनी (सहारा र देव) सँग सोधनी गर्नुपर्ने आवश्यकता देखेन | शेयरबजार बिग्रियो भन्ने नेतागणले पनि यस बारेमा चासो लिएको देखिन्न | सुधारको प्रक्रिया शुरु हुने भनेका यस्तै गतिविधिबाट नै हो | यस्तो गतिविधि हेर्दा सहाराको देवमा भित्रिने कार्यले अझ समय लिनसक्ने देखिन्छ | सहाराले मात्र हैन भित्र्याउन लागेको देवले पनि विलय गराउने प्रस्ताव पारित गरेको छैन |

सहारा र देव दुबैले अब सम्भवत अब गर्ने आर्थिक वर्ष २०७४/७५ को साधारणसभाबाट यस्तो प्रस्ताव पारित गराउने सम्भावना देखिन्छ | देवले आर्थिक वर्ष २०७३/७४ साधारणसभा २०७५ साल असारमा सम्पन्न गरेको थियो | सभा असारमा गरे पनि सभाको लागि बुक क्लोज भने २०७४ कार्तिकमा नै गरेको थियो | बुक क्लोज गरेको ७ महिनापछि सभा गरेर देवले एउटा अभिलेख नै कायम गरेको छ | यति हुँदा पनि धितोपत्र वोर्ड मुकदर्शक बनेको अर्को अभिलेख पनि कायम भएको छ | सहारा र देवको अभिलेखै अभिलेख कायम हुँदा शेयरधनी भने बेसहारा बनेका छन् | अझै यस्ता कति अभिलेख कायम हुने हो देव र सहारालाई नै थाहा नहोला | अब देवलाई देव हैन दानव पो भन्नुपर्ने हो कि ?

यहि देवमा विलय हुन लागेको अर्को बैंक वेस्टर्नले पनि कयौं शेयरधनीलाई बेसहारा बनाएको छ | साविकमा नमस्ते वित्तीय संस्था (फाइनान्स) र वेस्टर्न गाभिंदा पनि शेयरधनी पिडित बनेका थिए | नमस्ते र वेस्टर्नको गाभिने कार्य पुरा हुन पनि वर्ष भन्दा बढी समय लागेको थियो | यी दुई कम्पनी गाभिएर वेस्टर्न डेभलपमेन्ट बैंकको नामबाट कारोबार शुरु भएपछि नेपाल स्टक एक्सचेन्जमा मुश्किलले एक हप्ता कारोबार खुलेको थियो | नमस्ते र वेस्टर्न दुबैको उच्च बजार मूल्य भएको बेला कारोबार रोकिएर खुल्दा भने सबै कम्पनीको मूल्यमा गिरावट आएकोले उच्च मूल्यबाट कारोबार खुल्दा त्यसलाई बजारले स्वाभाविकरुपमा मूल्य समायोजन गर्ने हुँदा थोरै समय मात्र कारोबार चलेको हुँदा भनेजति मूल्य समायोजन हुन सकेन | कारोबार रोकिँदा हजारौं शेयरधनीको सम्पति बन्धक बनेको छ | तरल सम्पति मानिने शेयर कारोबार लामोसमयसम्म रोक्का हुनुले लगानीकर्तालाइ असिम पिडा दिन्छ |

नमस्ते, वेस्टर्न र सहाराले भन्दा अलि कम तर उस्तै पिडा हाम्रो (ज्योति विकास बैंकसँग), ओम (प्राइम बैंकसँग) विलय हुन लागेकाले पनि दिएका छन् | हाम्रोको कारोबार गत असारदेखि रोक्का रहेको छ | हाम्रो र ज्योतिले विलय प्रस्तावलाई पारित गरेको पनि ३ महिना नाघिसकेको छ तैपनि एकीकृत कारोबार गरेर एक्सचेन्जमा शेयर कारोबार खुलाउन कम्पनी लागेको छैन | ओमको भने गत भदौदेखि रोक्का रहेको छ | बजारमा भने ओम र प्राइमको विलय भाँडिन लागेको भन्ने समाचार पनि आइरहेको छ |

विलय वा गाभ्ने प्रस्ताव पारित भइसकेपछि एकीकृत कारोबार नभए पनि शेयर आदानप्रदान अनुपातको आधरमा साविककै कम्पनीको नाममा कारोबार खुलाउन धितोपत्र वोर्ड, नेप्से, केन्द्रीय निक्षेपक र शेयर रजिष्ट्रारले पहल गर्नु आवश्यक देखिएको छ | गाभिने र विलय हुने कम्पनीको एकीकृत कारोबार पश्चात केहि दिन कारोबार रोकेर एकीकृत कम्पनीको नाममा शेयर मिलान गरि पूर्ण कारोबार खुलाउनतर्फ लाग्नुपर्ने देखिन्छ |

लामोसमयसम्म कारोबार रोकिने स्थिति देखिएको हुँदा वोर्डले अविलम्ब गाभिने र विलय सम्बन्धि नीतिगत व्यवस्था गरि बढीमा ६ महिनाको कार्यसूची तयार पार्नुपर्ने पनि देखिन्छ | 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved