प्रभु बैंकबाट ५.३७ प्रतिशतमै ५ करोडसम्म ऋण, धितो नचाहिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 17, 2019 | 11:52:16 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक @Prabhu ले धितो दिन नसक्नेहरुका लागि परियोजना धितोमा राखेर ऋण दिने योजना ल्याएको छ। पाँच करोड रुपैयाँसम्म ऋण दिने यस योजनाको ब्याज बजारमा चलेको भन्दा आधा हुने बैंकले जनाएको छ। 

बैंकले सरकारले हालै मात्र कार्यन्वयनमा ल्याएको सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदान सम्बन्धि व्यवस्था बमोजिम यस्तो ऋण दिन लागेको हो। २१ भदौ २०७५ मा पारित गरेको ‘सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि’मा यस्तो कर्जामा सरकारले ६ प्रतिशत ब्याज दिने उल्लेख छ। 

आफ्नो औसत ब्याज ९.३७ प्रतिशतमा २ प्रतिशत प्रिमियम जोड्ने हुँदा बैंकको ब्याज ११.३७ प्रतिशत पुग्छ। त्यसमा सरकारले ६ प्रतिशत ब्याज दिने भएकाले यस योजना अन्तर्गत प्रभुबाट ऋण लिनेले कर्जाको ब्याज ५.३७ प्रतिशत तिर्नुपर्ने हुन्छ।   

नियमित भन्दा आधा सस्तो ब्याजमा पाइने यस्तो कर्जा व्यवसायिक कृषि, शिक्षित युवा बेरोजगार, बैदेशिक रोजगारीबाट फर्केका युवा, दलितको लागि कर्जा र उच्च र प्राविधिक शिक्षा अध्ययन तथा भूकम्प पिडितहरुको निजि आवास निर्माणको लागि पाउनेछन। यस्तो कर्जा लिन चाहनेले एसएमएस वा इमेल मार्फत पनि आबेदन दिन सक्नेछन।      

बैंकले व्यवसायिक कृषि कर्जा योजनामा ५ करोड रुपैयाँसम्म ऋण दिनेछ। त्यस्तै व्यवसायिक योजना धितोमा राखेर श्रमशील कर्जा योजनामा १० लाख रुपैयाँभन्दा बढी ऋण लिन सकिने बैंकले जनाएको छ। राम्रो सम्भावना देखिएका परियोजनालाई बैंकले विनाधितो ऋण दिनेछ। तर बैंकले १० लाख रुपैयाँभन्दा बढी ऋण लिनको लागि संस्था हुनै पर्ने र १ करोड रुपैयाँभन्दा बढीको लागि कम्पनी दर्ता भएको हुनुपर्ने शर्त राखेको छ ।

शिक्षित युवा बेरोजगार कर्जाको लागि बैंकले उज्जल कर्जा योजना ल्याएको छ । यो योजनामा योग्य हुनको लागि स्नातक तहसम्मको अध्ययन भएको र ४० बर्ष उमेर ननाघेको व्यक्ति हुनुपर्नेछ ।

विदेशबाट फर्केका युवालाई स्वरोजगार बनाउने सरकारी योजना सफल पार्न बैंकले हातेमालो कर्जा योजना ल्याएको छ । यो योजनामा विदेशबाट फर्केका व्यक्तिले १० लाख रुपैयाँसम्म ऋण विनाधितो पाउने छन् । यस्तो कर्जा लिने व्यक्तिसँग विदेशको पीआर तथा ग्रीन कार्ड हुन नहुने र विदेशबाट फर्केको ३ बर्ष ननाघेको हुनुपर्ने शर्त राखिएको छ ।

बैंकले महिला उद्यमीको लागि उजेली कर्जा योजना ल्याएको छ । यो योजनामा ५ बर्षको लागि १५ लाख रुपैयाँसम्म विनाधितो ऋण पाइनेछ ।बैंकले दलित समुदायको लागि कर्मवीर कर्जा योजना ल्याएको छ । यो योजनामा ५ बर्षसम्मको लागि १० लाख रुपैयाँसम्म ऋण पाइनेछ । यस्तै उच्च र प्राविधिक शिक्षा अध्ययनको लागि बैंकले ५ लाख रुपैयाँसम्म कर्जा दिने जनाएको छ।

त्यस्तै बैकले भूकम्प पीडितहरुको निजी आवास निमार्णको लागि 'साहसी कर्जा' योजना ल्याएको छ। यो योजनामा ५ बर्षको लागि ३ लाखसम्म बीना धितो ऋण पाइनेछ। कर्जा लिनलाई राष्ट्रिय पुननिर्माण प्राधिकरणसंग भएको सम्झौताको प्रतिलिपि बुझाउनुपर्ने हुन्छ। तर भूकम्प पिडितले २०७६ असारसम्म मात्र सस्तो ब्याजदरमा ऋण पाउनेछन। त्यसपछि बैंकहरुले नियमित लिए अनुसारको ब्याज तिर्नुपर्ने हुन्छ।   



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved