बिज्ञ भन्छन, नेपाल इन्भेष्टमेन्ट बैंक एउटा उदाहरण मात्रै हो, लोन ग्रिनिङले अर्थतन्त्र नै धरासायी हुन सक्छ'

विजय पराजुली

विजय पराजुली

May 18, 2019 | 04:41:47 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टमेन्ट बैंकले सार्वजनिक गरेको चालू आर्थिक बर्षको तेस्रो त्रैमासमा उल्लेख खराब कर्जाको अवस्थाले सबैको ध्यान खिचेको छ। नेपालकै ठुलो तथा सबल बैंकको रुपमा लिईने नेपाल इन्भेष्टमेन्ट बैकको खराब कर्जा ३०० प्रतिशतले बढेको प्रति सेयरका लगानीकर्ता मात्र नभई अर्थविदहरु समेत ससंकित भएका छन। 

नेपाल इन्भेष्टमेन्टको मात्रै उदाहरण हेर्ने हो भने यो आर्थिक बर्षको ९ महिनामा बैंकले १ खर्ब २८ अर्ब कर्जा प्रवाह गरेको छ। कुल कर्जामा ३.०४ प्रतिशत खराब कर्जाको अंकलाई हेर्दा बैंकको खराब कर्जा ४ अर्ब रुपैयाँ हुन आउँछ। बैंकले खराब कर्जाको ९३ प्रतिशत अर्थात् साढे ३ अर्ब रुपैयाँ प्रोभिजनिङ गर्न बाध्य भएको छ। यसले बैंकको नाफा घटेको छ।

नेपाल इन्भेष्टमेन्ट बैंक मात्र नभई एनआइसी एशिया, सेञ्चुरी, राष्ट्रिय वाणिज्य, मेगा र नेपाल एसबिआइ बैंकको खराब कर्जा अत्याधिक बढेको छ। 

९ महिनाको अवधिलाई आधार मान्दा २८ बाणिज्य बैंकमध्ये १२ बैंकको खराब कर्जा घटेको छ। जनता, एनसीसी, कृषि विकास बैंक, एनएमबि, ग्लोबल, प्रभु, सनराइज, नेपाल, स्टयान्डर्ड चार्टर्ड, नबिल, सानिमा, एभरेष्ट बैंकको खराब घटेको छ। 

९ महिनाको तथ्यांकलाई हेर्ने हो भने २८ वटा बाणिज बैंक र ११ वटा राष्ट्रिय स्तरको बिकास बैंकको खराब कर्जा मात्रै ४१ अर्ब ५५ करोड देखिन्छ। यद्दपी भाका नाघेका ऋणलाई ब्याज जोडेर नबिकरण गर्ने अभ्यासलाई राष्ट्र बैंकले रोक्न सक्ने हो भने बैंक र विकास बैंकमा देखिएको अहिलेको खराब कर्जाको चार्ट ५ गुणाले माथि हुने अर्थविदहरुको भनाई छ।      

अर्थविद, पुर्व गभर्नर र नेपाल राष्ट्र बैंकका पुर्व कर्मचारीले बैंकहरुले खराब कर्जा घटेको तथ्यांक देखाए पनि त्यो यथार्थ नभएको दाबी गरेका छन। पुर्व गभर्नर तथा अर्थविद दिपेन्द्रबहादुर क्षेत्रीले राष्ट्र बैंक यसरि नै निरिह रहने हो भने केहि बर्षमा नै नेपालको बैंकिंङ प्रणालीमा थेग्नै नसक्ने समस्या निम्तिने बताउछन। 

पछिल्लो समय बैंक वित्तीय संस्थाहरुको ध्यान नाफा कमाउन मात्र केन्द्रित भएकाले कर्जा प्रवाहको गुणस्तर भन्दा पनि ब्यापार बिस्तार प्राथमिकता रहेको क्षेत्रीको दाबी छ। उठ्न नसकेको कर्जामा ब्याज समेत जोडी कर्जा नबिकरण गर्ने प्रवृतिले बैंकहरुको खराब कर्जा धेरै नदेखिएको क्षेत्रीको भनाई छ। खराब कर्जा घटाउन बैंकहरुले अहिलेकै अभ्यासलाई निरन्तरता दिने हो र राष्ट्र बैंकले पनि आफ्नो लाचारीपनलाई यथावत राख्ने हो भने वित्तीय क्षेत्रमा 'सुनामी' आउन सक्ने क्षेत्रीले बताए। 

बार्षिक औशत २० प्रतिशत माथिले कर्जा बिस्तार गरिरहेका बैंकहरुको खराब कर्जा औषत १.६ प्रतिशत छ। जुन दक्षिण एसियाकै कम रहेको नेपाल राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक ड़ा गोपाल भट्ट बताउछन।     

यसअघि: बैंकहरुमा खराब कर्जा घटाउन 'लोन ग्रिनिङ' को डरलाग्दो खेल, कसले तिरेन ४१ अर्ब ?

दुई बर्षअघि ८ प्रतिशतमा लिएको कर्जाको ब्याज १५ प्रतिशत पुगेको छ। जसले गर्दा केहि व्यवसायिक घराना ऋण र बढेको ब्याज तिर्न नसक्ने भएपछि पलायन भएका धेरै उदाहरण छन। एकातर्फ ऋण लिएकाले तिर्न नसक्ने अवस्था र अर्कोतर्फ निक्षेप भन्दा कर्जा विस्तार बढिरहेको अवस्था छ। तर पनि बैंकहरुले आफ्नो खराब कर्जा घटेको देखाउने गरेका छन। बिश्व बैंक र अन्तराष्ट्रिय मुद्रा कोषले बैंकहरुको यहि अवस्थालाई मध्यनजर गरेर नेपालका बैंकहरुले जोखिम मोलिरहेको भन्दै ऋणलाई हरियाली बनाईराख्ने 'लोन ग्रिनिंङ' को संकेत गरेको डा. गोपाल भट्टको भनाई छ।  

'तिब्र रुपमा आर्थिक र औद्योगिक बिकास गरिरहेको भारतमा १२ प्रतिशतसम्म खराब कर्जा पुगेको थियो, अहिले पनि ७ प्रतिशत माथि छ, नेपाल जस्तो विकासतर्फ अग्रसर हुँदै गरेको देशमा खराब कर्जा नबढ्नुमा कहीं न कहीं समस्या रहेको प्रष्ट छ' डा. गोपाल भट्टले भने।   

बैंकहरुले आफ्नो भाका नाघेका कर्जालाई हरियाली देखाईरहने 'लोन ग्रिनिङ' को प्रवृतिले अल्पकालिन लाभ पाएपनि दिर्घकालमा भने त्यसले समग्र अर्थतन्त्र नै धरासायि बनाउने विज्ञहरु बताउँछन। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved