राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले अन्य लघुवित्तलाई प्राप्ति गर्ने भएको छ। लघुवित्तको जेठ ३१ गतेको बिशेष साधारण सभाले राष्ट्र बैंकको मर्जर नीतिलाई सफल बनाउने उदेश्यले अन्य लघुवित्तलाई प्राप्ति गर्ने निर्णय गरेको जनाइएको छ।
राष्ट्र बैंकको योजनालाई सहयोग पुग्ने गरि जेठ ३१ गतेको बिशेष साधारणसभाले अन्य ५-७ वटा लघुवित्तलाई प्राप्ति गरि अगाडी बढ्ने निर्णय भएको राष्ट्र उत्थान लघुवित्तका संचालक सुधिर प्रसाद लोहनीले बिजपाटीलाई बताएका छन।
'कुन कुनलाई प्राप्ति गर्ने भन्ने निर्णय अबको बिशेष साधारणसभाले टुंग्याउने छ' उनले भने, 'अहिलेलाई राष्ट्र बैंकको निर्देशनलाई पालना गर्दै शाखा कार्यालय प्राप्ति मात्र होइन अन्य लघुवित्तलाई प्राप्ति गर्ने निर्णय भएको छ।'
लघुवित्तको केन्द्रिय कार्यालय बनेपामामा बसेको बिशेष साधारणसभाले अब अन्य लघुवित्तलाई प्राप्ति गर्ने निर्णय गरेको छ। यसअघि गत फागुन ४ गते बसेको बिशेष साधारणसभाले कुनै संस्थाको शाखा कार्यालय खरिद गर्ने वा मर्जरमा जाने निर्णय गरेको थियो। यसअवधिमा राष्ट्र उत्थानको चुक्ता पुंजी २६ करोड रहेको छ।
एनजिओको रुपमा लघुवित्त कार्यक्रम संचालन गरीरहेको राष्ट्र उत्थानले नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार लघुवित्तको रुपमा लघुवित्त सेवा प्रदान गर्दै आएको छ। २०४९ सालदेखि नेपालमा गैर सरकारी संस्थाहरुले फिन्गोको रुपमा लघुवित्त कार्यक्रम संचालन गरीरहेका छन्। २०५४ सालमा अर्थ मन्त्रालयको निर्देशनमा फिन्गोलाई नेपाल राष्ट्र बैंकले लघुवित्त कार्यक्रम संचालन गर्न अनुमति दिएपछि यस्ता संस्थाहरुको संख्या पनि बृद्धि हुँदै गयो।