बैंकहरुले मानेनन राष्ट्र बैंकको निर्देशन, सिसिडी मिलाउन महँगोमा पैसा उठाउँदै

विजय पराजुली

विजय पराजुली

Jun 19, 2019 | 06:29:00 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप भन्दा कर्जा बिस्तारमा जोड दिएका छन। चालू आर्थिक बर्षको बैशाख मसान्तसम्ममा बैंकहरुले निक्षेपको संकलनको तुलनामा करिब ६ प्रतिशतले बढी कर्जा बिस्तार गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

बैंकहरुको निक्षेप संकलन ११.७ प्रतिशतले वृद्धि हुँदा कर्जा १७.१ प्रतिशतले बढेको राष्ट्र बैंकको सार्वजनिक गरेको दश महिनाको नेपालको आर्थिक तथा वित्तीय स्थितिको प्रतिबेदनमा उल्लेख छ। वार्षिक विन्दुगत आधारमा भने निक्षेपको वृद्धिदर १९.८ प्रतिशत र कर्जाको वृद्धिदर २१.५ प्रतिशत रहेको छ।

चुक्तापुंजी वृद्धिको अनुपातमा नाफा बढाउँनलाई ब्यापार बिस्तारमा जोड दिंएका बैंकहरुको अन्तरबैंक ब्याजदर बढेको छ। कर्जा निक्षेप अनुपात (सिसिड़ी रेसियो) मा परेको चापको व्यवस्थापन गर्नलाई पनि बैंकहरुले महँगो दरमा अन्तरबैंक सापटी बढाएका छन। यसले गर्दा एक महिनामा बैंकहरुको अन्तरबैंक ब्याजको दर ५.२८ प्रतिशतबाट ६.१२ प्रतिशतमा उक्लिएको छ। 

त्यस्तै बैंक वित्तीय संस्थाहरुले निक्षेपमा दिने र कर्जामा लिने ब्याजको अन्तरमा राष्ट्र बैंकको निर्देशन कायम गर्न नसकेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ। यस अवधिमा बाणिज्य बैंकहरुको ब्याजदर अन्तर (स्प्रेड रेट) ५.५४ प्रतिशत रहेको छ। जुन राष्ट्र बैंकको निर्देशन भन्दा करिब १ प्रतिशतले बढी हो। यसअवधिमा स्प्रेड रेट ४.७५ प्रतिशत हुनुपर्नेमा ५.५४ प्रतिशत छ। चालू आर्थिक बर्षको असार मसान्तसम्ममा बैंकहरुले स्प्रेड रेट ४.५० प्रतिशत कायम गर्नुपर्ने छ।

त्यस्तै नेपालको भुक्तानी सन्तुलन बिगतको तुलनामा झनै खस्किएको प्रतिबेदनमा उल्लेख छ। अघिल्लो बर्षको यस अवधीमा १ खर्ब ९२ अर्ब ५ करोड चालु खाता घाटा रहेकोमा यस अवधीमा २ खर्ब २१ अर्ब ४० करोड पुगेको छ। त्यस्तै शोधनान्तर स्थिति ६८ अर्ब २० करोडले घाटामा रहेको छ।    

यस अवधीमा नेपालको बस्तु तथा सेवा खरिद क्षमतामा समेत ह्रास आएको छ।  गत असार मसान्तमा ११ खर्ब २ अर्ब ५९ करोड विदेशी विनीमय सञ्चिति रहेकोमा यस अवधिमा १० खर्ब ६० अर्ब ७० करोड कायम रहेको छ। यस तथ्यांकले नेपालसँग सञ्चित रहेको विदेशि विनिमयले ८ महीनाको बस्तु तथा सेवाको आयातलाईै धान्न सक्ने देखाउँछ। 

त्यस्तै प्रत्यक्ष बैदेशिक लगानी पनि घटेको छ। गत आर्थिक वर्षको बैशाख मसान्तमा १५ अर्ब ५१ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएकोमा यस अवधिमा ९ अर्ब ४७ करोड रहेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved