नेपालको ७५३ स्थानीय तह मध्ये २१ मा अझै पनि वाणिज्य बैंकको शाखा पुग्न बाँकी रहेको छ । १ नगरपालिका र २० गाउँपालिलमा अझै शाखा नपुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
सबैभन्दा धेरै कर्णाली प्रदेशको ८ स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुग्न बाँकी रहेको छ भने प्रदेश ५ को सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगिसकेको छ ।
नेपाल सरकारले आर्थिक वर्ष २०७४/०७५ को बजेट मार्फत स्थानीय तहको बजेट खाता वाणिज्य बैंकमाफर्त् संचालन गर्नुपर्ने र त्यसको लागि ७५३ वटै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुर्याउने बताएको थियो ।
बजेटको व्यवस्था बमोजिम नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७४/०७५ को मौद्रिक नीतिमा वाणिज्य बैंकहरुलाई अनिवार्य रुपमा वाणिज्य बैंकको शाखा खोल्न निर्देशन दिएको थियो भने प्रोत्साहन स्वरुप १ करोड रुपैयाँ र्निव्याजी चलाउन दिने बताएको थियो । सोही बमोजिम स्टान्डर्ड चाटर्ड बैंक बाहेक २७ वटै वाणिज्य बैंकले वाणिज्य बैंक नपुगेका स्थानीय तहमा शाखा स्थापना गरिरहेका छन् । यस अन्तर्गत गत असार मसान्त सम्ममा ७५३ मध्ये ७३२ स्थानीय तहमा बैंक शाखा पुगिसकेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकले बैंकहरुलाई एक वर्ष भित्रमा नै सबै स्थानीय तहमा शाखा खोल्न निर्देशन दिएको थियो तर नेपाल बैंकर्स संघले भने पहिलो चरणमा बैंक शाखा स्थापनाको लागि सुरक्षा र पुर्वाधार पुगेका स्थानीय तहमा मात्र बैक शाखा खोल्न सक्ने अन्य स्थानीय तहमा पुर्वाधारको विकास भएमा शाखा खोल्न सक्ने भन्दै पत्र पठाएको थियो ।
पुर्वाधार पुगेक स्थानीय तहमा बैंकहरु पुगिसकेको र अब केही विगत स्थानीय तहमा मात्र बैंक शाखा पुग्न बाँकी रहेकोले अवको केही महीनामा नै सबै स्थानीय तहमा बैंकको शाखा पुग्ने नेपाल राष्ट्र बैंकका अधिकारीहरु बताउँछन ।
कुन कुन स्थानीय तहमा पुगेनन बैंक शाखा ?
प्रदेश नंम्बर १ मा ताप्लेजुङ जिल्लाको मिक्वाखोला गाउँपालिका र प्रदेश नंम्बर २ मा पर्साको जिराभवानी गाउँपालिका र धनुषाको धनुषाधाम नगरपालिकामा बैंक शाखा पुग्न बाँकी रहेको छ । त्यस्तै प्रदेश नंम्बर ३ मा धादिङको रुभिभ्याली र नेत्रावती गाउँपालिका तथा गण्डकीमा गोरखाको धार्चे र मनाङ नार्फु गाउँपालिकामा वाणिज्य बैंकको शाखा पुग्न बाँकी रहेको छ ।
कर्णाली प्रदेशका ८ स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगेको छ्रैन । कर्णाली प्रदेशमा बैंकको शाखा नपुगेको स्थानीय तहहरुमा डोल्पाको काइके, छार्का ताङसोङ, डोल्पो बुद्ध र शे–फोक्सुण्डो गाउँपालिका, कालिकोटको महावै गाउँपालिका तथा जारजरकोटको कुसे, जुनीचाँदी र बारेकोट गाउँपालिका रहेका छन् ।
यस्तै सुदुपश्चिम प्रदेशका पनि ६ वटा स्थानीय तहमा बैंकको शाखा पुग्न बाँकी रहेको छ । सुदुपश्चिम प्रदेशमा बाजुराको पाण्डप गुफा, गौमुल, बुढीनन्दा र स्वामीकार्तिक गाउँपालिका तथा बझाङ तलारा र काँडा गाउँपालिकामा वाणिज्य बैंकमो शाखा पुग्न बाँकी रहेको छ ।