नेपाल राष्ट्र बैंकले बैंकहरुको आक्रमक कर्जा लगानीलाई सन्तुलनमा राख्न काउन्टर साइक्लिकल बफरलाई लागु गर्ने तयारीमा जुटेको छ । चालु अर्थिक वर्षको मौद्रिक नीति मार्फत नेपाल राष्ट्र बैंकले यो ब्यवस्था लागु गर्ने बताएको हो।
अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नेपालको अर्थतन्त्रको गति अनुसार कर्जा विस्तार नहुँदा वित्तीय क्षेत्रमा जोखिम बढ्न सक्ने भएकोले काउन्टर साइक्लिकल बफर गर्न दिएको सुझाव अनुसार केन्द्रिय बैंकले यो व्यवस्था लागु गर्न लागेको हो ।
नेपालका लागि आइएमएफको कार्यकारी प्रमुखले गत पेब्रोअरीमा प्रकाशित गरेको चौथो प्रतिवेदनमा वित्तीय क्षेत्रको जोखिम कम गर्न समग्र वित्तीय क्षेत्रको लागि नितिगत ब्यवस्था ल्याउन सुझाव दिएको छ ।
राष्ट्र बैंक अनुसन्धान विभागका प्रमुख डा. गुणकर भट्ट पनि नेपालमा लगानीयोग्य बैंकहरुले अर्थतन्त्रको विस्तारको तुलनामा कर्जा विस्तारको अन्तर धेरै हुनुु तरलता अभावको प्रमुख कारण रहेको बताउँछन् । ४ वर्षमा अर्थतन्त्रको आकार १३ खर्बले बढ्दा बैंकहरुको कर्जा लगानी करीब १६ खर्बले बढेको उनको भनाई छ । २०७३ असारमा १३ खर्ब ४५ अर्ब रहेको कर्जा २०७६ असार मसान्तमा २९ खर्ब पुगेको छ । सोही अवधिमा २१ खर्ब २० अर्ब रहेको नेपालको अर्थतन्त्रको आकार हाल ३४ खर्बको पुगेको छ ।
के हो काउन्टर साइक्लिकल बफर ?
काउन्टर साइक्लिकल बफर बैंकहरुलाई जोखिमरहित बनाउन क्षमता अनुसार कर्जा विस्तारलाई एउटा सिमा भित्र राख्ने वित्तीय उपकरण हो । यसले क्रेडिट ग्याप एनोलाइसिल पनि भनिन्छ । काउन्टर साइक्लिकल बफर लागु भएपछि बैंकहरुले कर्जा लगानी गर्दा नियामकिय ब्यवस्थाको अतिरीक्त तोकीएको प्रतिशत पुँजीकोष थप गर्नुपर्ने हुन्छ ।
पछिल्लो समय नेपालको अर्थतन्त्रविस्तार भइरहेको र अर्थतन्त्र विस्तार सँगै कर्जा विस्तार पनि उच्च भइरहेको छ । कुनै समय अर्थतन्त्र फेरी स्थीर हुनसक्छ । त्यस्तो अवस्थामा बैंकहरुले थप पुँजी ल्याउन सक्दैनन् । त्यस कारण पनि कैंकहरुलाई काउन्टर साइक्लिकल बफर लागु गर्नुपर्ने डा। भट्टको भनाई छ ।
अर्थतन्त्र विस्तार भइरहेको बेलामा बैंकहरुले पनि सोही अनुरुप कर्जा विस्तार गर्दा आफ्नो पुँजीको आधार विर्सिएमा वित्तीय क्षेत्रमा जोखिम आउन सक्छ । आइएमएफले पनि यसैमा चिन्ता प्रकट गरिरहेको र सोही अनुसार राष्ट्र बैंकले मौद्रिक नीतिमा काउन्टर साइक्लिकल बफर ल्याएको राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणकर भट्ट बताउँछन् ।
कर्जा विस्तारलाई व्यवस्थित गर्न काउन्टर साइक्लिकल बफर लागु गर्न लागेको नेपाल राष्ट्र बैंकले अर्कोतर्फ निजी क्षेत्रमा विस्तार हुने कर्जालाई गत वर्षको २० प्रतिशतको लक्ष्य भन्दा बढाएर चालु आर्थिक वर्षमा २१ प्रतिशत भित्र कायम राख्ने लक्षय लिएको छ । यसलाई हेर्दा राष्ट्र बैंकले् एकातिर विस्तारकारी निति लिएको छ भने अर्कोतर्फ नियन्त्रण गर्ने प्रयास पनि गरेको देखिन्छ ।