शेयर लगानीकर्ता संघले नेपाल राष्ट्र बैंकको कमजोरीका कारण बैंकहरुको मनपरी बढेको भन्दै हस्तक्षेपकारी भूमिका निर्वाह गर्न अर्थमन्त्रालयलाई आग्रह गरेको छ।
संघका उपाध्यक्ष तारा प्रसाद फुल्लेलको नेतृत्त्वमा अर्थमन्त्रालय पुगेको लगानिकर्तासंघका पदाधिकारीहरुले अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसंग भेट गरि बैंकहरुले आफुखुसि ब्याजदर वृद्धि गरि ऋणीहरुलाई त्रसित बनाउँदा समेत राष्ट्र बैंक मौन बसेकोमा असन्तुष्टि व्यक्त गरेका छन।
नबिल बैंकले १३.०२ प्रतिशत र एनएमबि बैंकले १३.०५ प्रतिशतको ब्याजदरमा संस्थागत निक्षेप स्वीकार गर्दा बजारमा आर्थिक संकट देखिएको विश्लेषण गरिएकोमा राष्ट्र बैंकले भने बैंकिङ प्रणालीमा ३४ अर्ब अधिक तरलता रहेको जवाफ दिएको उदाहरण पेश गर्दै संघले अर्थमन्त्रालयसंग हस्तक्षेप गरी समाधान निकाल्न आग्रह गरेको छ।
संघले बैंकहरुले आफूखुसी ब्याजदर बढाएर ऋणीहरुलाई तर्साउदै गर्दा राष्ट्र बैंकले भर्खरै लागू गरेको ब्याजदर करिडोरको सार्थकता माथि नै प्रश्न खडा भएको अर्थमन्त्री कार्कीलाई जानकारी गराएको छ।
'देशमा आर्थिक संकट देखिएको हो वा बैंकहरुले जथाभावी ब्याजदर वृद्धि गर्दा पनि राष्ट्र बैंक रमिते बनेको हो ?' भन्ने प्रश्न गर्दै संघले अर्थमन्त्री कार्कीसंग ब्याजदर वृद्धिकै कारण वित्तीय बजारमा भयावह अवस्था आउँदा समेत सम्बन्धित निकाय एक अर्कालाई दोष थुपारेर बस्नु दुखद भएको बताएको छ।
देशमा विद्यमान तरलता संकटले निम्त्याएको समस्या समाधान गर्न राष्ट्र बैंक 'असफल' भएको संदेश बोकेर अर्थमन्त्री भेट्न पुगेको लगानीकर्ताको पत्र बुझ्दै अर्थमन्त्री कार्कीले समस्या समाधानका लागि आफुले यथाशक्य पहल थाल्ने वचन दिएका थिए।