हेलिकप्टरबाटै सामान ढुवानी गरेर स्थानीय तहमा बैंक, ३१ ठाउँमा शाखा खोल्न समस्या

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 18, 2018 | 06:10:48 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल अहिले संघियता कार्यान्वयनको चरणमा छ। सरकारले प्रत्येक स्थानीय तहलाई सोझै बजेट पठाएको छ। स्थानीय तहको बैंकिङ कारोबार गर्न प्रत्येक स्थानीय तहमा बाणिज्य बैंक आवश्यक पर्छ र सोही अनुसार राष्ट्र बैंकले सबै बाणिज्य बैंकहरुलाई स्थान नै किटान गरेर तोकिएको स्थानीय तहमा शाखा खोल्न भनेको निर्देशन दिएको छ।

तर राष्ट्र बैंकले नै सार्वजनिक गरेको मौद्रिक नीतिमा १ सय ९७ स्थानीय तह बैंक बिहिन भएको देखाईएको छ। जबकी स्थानीय तहको निर्वाचन अगावै २ सय ९५ मा बाणिज्य बैंकका शाखा थिए। पछिल्लो समय २ सय ६१ स्थानीय तहमा मात्रै बाणिज्य बैंकको शाखा विस्तार भएका छन। राष्ट्र बैंकले असार मसान्तसम्म सबै स्थानीय तहमा बाणिज्य बैंकको शाखा पुर्याउने घोषणा गरेपनि त्यो योजनामा राष्ट्र बैंक चुकेको छ। 

दुरदराजका ग्रामिण क्षेत्रमा शाखा बिस्तारका लागि चाहिने न्युनतम पूर्वाधार समेत नभएकाले बैंकहरुले राष्ट्र बैंकले तोकेका स्थानीय तहमा शाखा स्थापना गर्न सकेका छैनन।  

राष्ट्र बैंकका प्रवक्ता नारायण प्रसाद पौडेलले भने हालसम्म ६ सय ३१ स्थानीय तहमा बैंकको शाखा पुगिसकेको बताएका छन। ९१ वटा स्थानीय तहमा अब केही दिनमै बैंक जाने र ३१ वटा स्थानीय तहमा केही समस्या देखा परेको उनको भनाई छ। “हालसम्म ६३१ स्थानीय तहमा बैंकको शाखा पुगिसकेको छ, ९१ वटा तहमा प्रक्रियामा छ भनेर बैंकहरुले खबर गरेका छन, बाँकी ३१ वटामा केही समस्या छ, कहीं बाटो छैन, काही विजुली छैन, कहिँ घर नै छैन, इन्टरनेट लगायतका पूर्वाधार नभएको भन्ने गुनासो आएकोले बैंकहरुले केही समय थपिदिए हुन्थ्यो भन्ने संकेत गरेका छन्, हामी अहिले सोही विषयमा छलफल गर्दै छौँ” उनले भने।

प्रवक्ता पौडेलको यस्तो भनाईले पनि बैंकहरुलाई राष्ट्र बैंकले तोकेका सबै स्थानीय तहमा शाखा खोल्न अप्ठ्यारो परेको स्पष्ट छ। गाउँगाउँमा सिंहदरबार पुर्याउने सरकारको लक्ष्यलाई साथ दिन प्रत्येक तहमा एउटा बैंक शाखा अनिवार्य छ। तर कतिपय ठाउँमा न्युनतम पूर्वाधार पनि नभएकाले अझैं पनि १ सय ९७ स्थानीय तहमा बैंक पुग्न सकेका छैनन। 

दुर्गम ग्रामिण क्षेत्रमा शाखा खोल्न प्रोत्साहन गर्नका लागि बैंकहरुलाई राष्ट्र बैंकले बिभिन्न सेवा सुविधा र छुट दिएपनि राष्ट्र बैंकको लक्ष्य अनुरुप बैंक पुग्न सकेका छैनन। 

बैंक शाखा खोल्न चाहिने न्युन्तम पूर्वाधार बिजुली, सडक, इन्टरनेट, पक्कि घर पनि नभएकाले बैंकहरुले राष्ट्र बैंकले तोकेका स्थानमा शाखा खोल्ने हिम्मत नगरेको बैंकर संघका अध्यक्ष तथा नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले बताएका छन। बैंकहरुले आफ्नो सामर्थ्यले भ्याएसम्म राष्ट्र बैंकले तोकेका स्थानीय तहमा बैंक खोल्न प्रयासरत छन, कतिपय ठाउँमा हिडेर दश दिन लाग्ने ठाउँमा हेलिकप्टरबाट सामान पठाएर समेत बैंकको शाखा खोलिएको उनको भनाई छ।   

गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले स्थानीय तहमा बैंक नहुँदा बेहोर्नु परेको समस्या सुनाईसाध्यै नभएको बताएका छन।  सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका अध्यक्ष समेत रहेका श्रेष्ठले आफ्नो ठाउँमा बैंक नहुँदा धेरै समस्या भोग्नुपरेको बताएका छन। 

“बैंक नहुँदा निकै समस्या भएको छ, बाणिज्य बैंक नभए ‘ख’ वर्गको बैंकमार्फत काम चलाउने भनिएपनि कोष तथा लेखा नियन्त्रक कार्यालयहरुले निर्णय कार्यान्वयन नगर्दा यो समस्या थप जटिल बनेको हो” उनले भने। बाणिज्य बैंक नपुगेका स्थानीय तहमा ख बर्गको विकास बैंकलाई पनि स्थानीय तहको बैंकको काम गर्न दिनुपर्ने श्रेष्ठ जस्ता जनप्रतिधिनिधिहरुको माग छ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved