बैंकिङ्ग प्रणालीमा अधिक तरलता हुँदा किन घट्न सकेको छैन ऋणको ब्याजदर ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 30, 2018 | 01:52:25 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंकिङ प्रणालीमा अधिकतरलता भएपनि ब्याजदर अपेक्षाकृतरुपमा कम नभएपछि बैंकहरुको नियामक नेपाल राष्ट्र बैंकलाई नै निर्देशन दिनुपर्ने आवाज उठेको छ। अधिक तरलता भएपनि बैंकहरुको बदमासीकै कारण ब्याज नघटेको भन्दै व्यवसायी तथा सांसद मोतिलाल दुगडले ब्याजदर घटाउन अर्थसमितिले राष्ट्र बैंकलाई नै निर्देशन दिनुपर्ने बताए। 

आफुले अहिलेपनि १३ प्रतिशतले ऋणको ब्याज तिर्नुपरेको सुनाउदै दुगडले बैंकको पक्षमा नीति बन्दा अन्य क्षेत्र घाटामा रहेका बेला समेत बैंकहरुले उच्च मुनाफा कमाएको भनाई राखे। 'अब अर्थसमितिले राष्ट्र बैंकलाई नै निर्देशन दिएर बैंकहरुलाई बढी ब्याज लिनलाई रोक्नुपर्छ' अर्थसमितिमा बोल्ने क्रममा दुगडले भने। 

हो, दुगडले भनेझै बैंकहरुको ब्याजदर अपेक्षाकृत रुपमा घट्न नसकेको गुनासो बढेको छ। सबै क्षेत्र नोक्सानीमा हुँदा बैंकहरु मात्रै नाफामा रहनु ऋणमा लिईने उच्च ब्याजदर भएको व्यवसायी तथा सर्वसाधारणको भनाई छ। 

एकातर्फ बैंकिङ प्रणालीमा अधिकतरलता भएको भन्दै राष्ट्र बैंकले धेरै भएको रकम खिच्न रिभर्स रिपो जारी गर्देछ। उसले पटक पटक गरि करौडौ रुपैयाँ बैंकिङ प्रणालीबाट खिचेको छ। यता तरलता सहज भएपनि ऋणको ब्याजदर किन घटेन भन्ने जनगुनासो छ। 

आखिर किन घट्न सकेको छैन ऋणको ब्याजदर ? 

बिभिन्न बाणिज्य बैकहरुको प्रमुख कार्यकारी तथा उच्च अधिकारिहरुले गत बर्ष महँगो ब्याजमा निक्षेप संकलन भएकाले अपेक्षाकृत रुपमा ऋणको ब्याजदर घट्न नसकेको बिजपाटीसंगको कुराकानीमा बताएका छन। 

'१३ प्रतिशतसम्मको ब्याजमा निक्षेप सकारिएको छ, त्यो पनि संस्थागत निक्षेप हो, यस्तो निक्षेप धेरै हुँदा बेस रेट तत्कालै ठुलै अंकले तल आउने सम्भावना कम छ, बिस्तारै ऋणको ब्याजदर घट्ला, तर अहिलेनै घटिहाल्छ भन्ने छैन' एक बाणिज्य प्रमुख कार्यकारीले भने। 

असार मसान्तमा २८ वटा बाणिज्य बैंकहरुको आधार ब्याज दर औषत १०.४७ प्रतिशत भएकोमा अहिले साउनमा १०.१२ प्रतिशतमा झरेको छ। यो तथ्यांकलाई आधार मान्ने हो भने बैंकहरुको आधार दर घटेर ऋणको ब्याजदर बिस्तारै घट्ने देखिन्छ तर तत्कालै सस्तो भईहाल्ने सम्भावना कम देखिन्छ। 

चाडपर्व नजिकिदै गर्दा रेमिट्यान्समा समेत वृद्धि हुँदा आन्तरिक निक्षेप परिचालनमा समेत सुधार हुँदै गर्दा ऋणको ब्याजदर बिस्तारै घट्ने देखिन्छ। हाल अधिकांश बैंकहरुको साधारण बचत खाताको ब्याजदर घट्ने क्रममा छ। नयाँ निक्षेप बढ्दै जाँदा पुराना महंगा निक्षेपको अवधि सकिन्दै जाने र त्यसले बैंकको आधार दर कम हुने भएकाले ब्याजदर घट्ने देखिन्छ।    

राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीमा धेरै भएको रकम खिच्ने 

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा धेरै भएको रकम खिच्न (तरलता प्रशोचन) फेरी रिभर्स रिपो जारी गर्देछ । राष्ट्र बैंकले आइतबार ५ अर्बको रिभर्स रिपो जारी गर्ने भएको हो ।

गत साता ५ अर्ब रिभर्स रिपो गरेको राष्ट्र बैंकले आज असोज १४ मा पनि ५ अर्ब रिभर्स रोपो जारि गरेको हो। राष्ट्र बैंकले गत साता विभिन्न ९ बैंक तथा वित्तीय संस्थाहरुबाट एक अर्ब ७७ करोड ५० लाख रुपैयाँ खिचेको छ । चालु आर्थिक बर्ष सूर भए यता राष्ट्र बैंकले तीन पटक गरेर १५ अर्बको रिर्भस रिपो जारी गरिसकेको छ । 

आज जारि भएको रिर्भस रिपोमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुले लगानी गर्न पाउनेछन। सहभागी हुन चाहने बैंकहरुले दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ्ग गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।


राष्ट्र बैंकले ७ दिनका लागि असोज २१ गते परिपक्व हुने गरी उक्त रिभर्स रिपो जारी गरेकोे हो । जसअनुसार बैंकहरुले असोज २१ गते सो रकम फिर्ता पाउनेछन् ।


बजारमा पैसा बढी हुने बित्तीकै राष्ट्र बैंकले विभिन्न मौद्रिक उपकरण मार्फत पैसा उठाएर बजारलाई व्यवस्थित गर्ने गर्छ। राष्ट्र बैंकका अनुसार हाल बैंकिङ प्रणालीमा करिब ५० अर्ब अधिक तरलता छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved