मर्जर प्रकृयामा रहेका ग्लोबल र जनता बैंकबीच पुन: मर्जर सम्बन्धित सम्झौतापत्रमा हस्ताक्षर भएको छ। दुवै बैंकले यस सम्झौतालाई 'मर्जरसम्बन्धी अन्तिम सम्झौता' भनेका छन।
यस अघि गत असार २० गते नै दुवै बैंकबीच मर्जरमा जाने लिखित सहमति भएकाले फेरी सम्झौतापत्रमा हस्ताक्षर हुनुलाई बिगतको कुनै सहमतिमा संसोधन भएको अर्थ्याइएको छ।
मर्जरपछि बन्ने बैंकको नाम, संचालक समिति अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत, मुख्य कार्यालय लगायतका बिषयमा गरिएका पुर्व सहमति यथावत रहेपनि कर्मचारीको बिषयलाई लिएर गरिएको पुर्व सहमतिमा हेरफेर गर्नुपर्ने भएकाले पुन: सम्झौतापत्रमा हस्ताक्षर भएको आशंका गरिएको छ।
कर्मचारी व्यबस्थापनका विषयमा असन्तुष्टी बढेपछि पुनः सम्झौता भएको बताइएको छ। अहिलेलाई खाइपाई आएको तलब सुविधा र पद यथावत राखेर नै कर्मचारी समायोजन हुनेगरि सहमति जुटेको बताइएको छ। यद्दपी बैंकका उच्च अधिकारिले भने डीडीए प्रतिबेदन पश्चातको बिषयमा सहमति गर्नुपर्ने भएकाले मर्जरसम्बन्धी अन्तिम सम्झौता भएको दाबि गरेका छन।
सम्झौताअनुसार मर्जरपछि बैंकको अध्यक्ष ग्लोबल आइएमईको हुने र सीईओ जनता बैंकको रहनेछन। त्यस्तै कर्मचारी समायोजनका सन्दर्भमा हाल दुवै बैंकमा कार्यरत कर्मचारीहरुको तत् पद र सेवा सुविधामा नै कायम रहनेछ।
दुवै बैंकले मङ्सिर २ गते छुट्टाछुटै बार्षिक साधारणसभा बोलाएका छन। सभामा गत आर्थिक बर्षको लाभांश तथा मर्जर सम्बन्धित प्रस्ताव लगिने भएको छ। सभाले मर्जर प्रस्ताव पारित गरेपछि र नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएपछि मात्र एकीकृत कारोबार हुनेछ।
जनता बैंकका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षेत्रीले प्रकृया योजनाअनुसार अघि बढे मङ्सिर अन्तिमसम्ममा एकीकृत कारोबार हुने बताएका छन।
मर्जरपछि बन्ने ग्लोबल आईएमई बैंक
मर्जपछि यो बैंक ७७ जिल्लामै शाखा संजाल भएको नेपालकै सबैभन्दा ठूलो बैंक बन्नेछ। यस अघि ग्लोबलले १० वटा विभिन्न वित्तीय संस्थासँग र जनताले ७ वटासँग मर्ज गरिसकेकोले यो १८ औं मर्ज हो।
मर्जर पछि बन्ने बैंकको नाम ग्लोबल आइएमई बैंक, अध्यक्ष चन्द्रप्रसाद ढकाल हुनेछन भने सञ्चालक समितिमा ग्लोबलको तर्फबाट ५ जना र जनताको तर्फबाट २ जना रहनेछन।
त्यस्तै मर्जरपछि बन्ने बैंकको सीईओ परशुराम कुँवर क्षेत्री रहने र ग्लोबल आइएमई बैंकका कामु सीईओ महेश शर्मा ढकाल वरिष्ठ डेपुटी सीईओ हुनेछन।
बैंकको चुक्ता पुँजी करिब १९ अर्ब, कुल निक्षेप २ खर्ब १२ अर्ब भन्दा बढी र कुल कर्जा लगानी २ खर्ब पुग्नेछ । त्यस्तै बैंकको शाखा सञ्जाल तथा सेवा केन्द्रको संख्या ८५० भन्दा बढी हुनेछ । बैंकका ३०० भन्दा बढी शाखा र ३ हजार २५० भन्दा बढी कर्मचारीहरु रहने छन् । त्यस्तै बैंकको २५६ एटीएम, २४१ शाखा रहित बैंकिङ्ग सेवा, ३३ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक सम्पर्क कार्यालय रहने छन् ।