बैंकर्स संघको अध्यक्षको निर्वाचन १९ गते, को बन्लान बैंकरका 'नेता' ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 27, 2019 | 01:29:44 PM मा प्रकाशित

laxmi  sunrise bank

बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको आगामी नेतृत्त्वलाई लिएर चर्चा सुरु भएको छ। यहि मङ्सिर १९ गते बस्ने संघको साधारणसभाले आगामी नेतृत्त्व चयन गर्ने भएपनि नेतृत्त्व कसको हुने भन्ने बिषयले बैंकिंङ क्षेत्रमा चर्चा पाएको छ। 

यसअघि संघको उपाध्यक्ष नै अध्यक्ष बन्ने अभ्यास रहेपनि वर्तमान उपाध्यक्ष भारतीय नागरिक भएकाले अध्यक्ष को बन्ने भन्ने बिषयले बैंकिङ वृत्तमा धेरै चर्चा पाएको छ। संघको बिधानमा नै बिदेशी नागरिक अध्यक्ष बन्न नसक्ने व्यवस्था भएपनि उपाध्यक्ष पदमा रहेका नेपाल एसबिआई बैंकका प्रमुख कार्यकारी अधिकृत अनुकुल भट्नागरले अध्यक्ष नहुने बताइसकेका छन। 

नेपाल बैंकर्स संघ नेपाल सरकारको बिभिन्न कार्यक्रममा प्रतिनिधित्व गर्नुपर्ने संस्था भएकाले नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयले नै बिदेशी नागरिकलाई अध्यक्ष बनाउन नहुने सुझाब दिएपछि अनुकुल भट्नागर पछि हटेको बताइन्छ।

अहिले अध्यक्ष को बन्ने भन्ने बिषयमा संघमा दुई धार रहेको बताइन्छ। संघका केहि सदस्य वर्तमान अध्यक्ष ज्ञानेन्द्र ढुंगानालाई नै निरन्तरता दिनुपर्ने पक्षमा रहेपनि बहुसंख्यक सदस्यले भने अध्यक्ष पद दोहोरिन नहुने पक्षमा रहेका छन। 

त्यसो त वर्तमान अध्यक्ष ढुंगानाले थप एक कार्यकालको लागि संघको नेतृत्त्व आफुलाई दिनलाई प्रस्ताव गरेको बैंकर्स संघका पदाधिकारी बताउँछन। संघको कार्यसमितिमा रहेका एक बाणिज्य बैंकका सीईओ भन्छन, 'वित्तीय क्षेत्र अस्थिरताको अवस्थामा रहेका बेला पनि सफलतापुर्व नेतृत्त्व सम्हालेको र जिम्मेवारी पुरा गरेको तथा अर्थमन्त्रीको चाहना पनि भएको भन्दै तर्क पेश गर्दै थप एक कार्यकाललाई आफुलाई नै अध्यक्ष बनाउनु पर्ने ढुंगानाको प्रस्ताव रहेको छ।' तर संघका अध्यक्ष ढुंगानाले दोहोर्याएर संघको अध्यक्ष बन्ने आफ्नो चाहना नभएपनि साथिहरुले आग्रह गरेमा नेतृत्त्व लिन तयार रहेको बताएका छन।  

यता एक कार्यकाल पुरा गरेको व्यक्ति पुन अध्यक्ष बन्न नहुने पक्षधरका संघका सदस्यहरु सकेसम्म नयाँ व्यक्तिलाई नै अध्यक्ष बनाउनुपर्नेमा जोड दिएका छन। संस्थामा एक कार्यकाल नै आफ्नो क्षमता प्रदशन गर्न पर्याप्त रहेको तर्क पेश गर्दै उनिहरु नयाँ व्यक्तिलाई नै अध्यक्ष बनाउनुपर्ने पक्षमा रहेका छन। 

त्यसो त नबिल बैंकका सीईओ अनिल शाह यसअघि संघको अध्यक्ष भएपनि उनले पुरा कार्यकाल काम गर्न नपाएकाले संघका केहि सदस्य शाह नै अबको अध्यक्ष बन्नुपर्ने तर्क अघि सारेको पाइएको छ। संघका सदस्यहरुले आवश्यक ठाने आफु संघको नेतृत्त्व लिन तयार रहेको प्रतिकृया शाहले दिएको स्रोत बताउँछ। 

त्यसो त पाका र ठुला बैंकका सीईओले संघ हाक्नुपर्ने भन्दै संघका धेरैले ग्लोबल बैंकसंग मर्जर प्रकृयामा रहेको जनता बैंकका सीईओ परशुराम कुवँर क्षेत्रीलाई अबको अध्यक्ष बनाउनुपर्ने प्रस्ताव अघि सारेका छन।

बजार चर्चालाई आधार मान्ने हो भने संघको नेतृत्त्वमा ज्ञानेन्द्र प्रसाद ढुंगाना, अनिल केशरी शाह, परशुराम कूवर, अशोक राणाको सम्भावना धेरै देखिएको छ। अगामी नेतृत्वको लागि संघले निर्वाचन कमिटि पनि गठन गरिसकेको छ। संघको आगामी नेतृत्वको लागि आगामी मंसिर १७ गतेसम्म उम्मेद्धारी दिने, १८ गते उम्मेद्धारी फिर्ता लिने र १९ गते हुने साधारणसभाले नेतृत्व चयन गर्ने कार्यतालिका छ। संघले अध्यक्षसँगै उपाध्यक्ष र ५ जना सदस्य पनि चयन गर्नेछ। संघको कार्यकारी निर्देशक अनिल शर्मा निर्वाचन समितका संयोजक तोकिएका छन्।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved