ग्लोबल आईएमई बैंक Global IME Bank Limited र जनता बैंक Janata Bank Nepal Limited को एकिकृत कारोबार आगामी मङ्सिर २० गतेदेखि हुने भएको छ। राष्ट्र बैंकले मर्जरमा जान अन्तिम स्वीकृति दिएसंगै बैंकले एकिकृत कारोबार मिति तय गरेको हो । नेपाल राष्ट्र बैंकको यसै साता बसेको संचालक समितिको बैठकले मर्जरको लागि अन्तिम स्वीकृत दिएको हो ।
मर्जरपछि बन्ने बैंकको नाम ग्लोबल आइएमइ नै रहने छ। जुन नेपालकै ठूलो बैंक बन्नेछ । बैंकको चुक्ता पुँजी करिब १९ अर्ब, कुल निक्षेप २ खर्ब १० अर्ब भन्दा बढी र कुल कर्जा लगानी करिब २ खर्ब पुग्नेछ । त्यस्तै बैंकको शाखा सञ्जाल करिब ३०० तथा सेवा केन्द्रको संख्या ८५० भन्दा बढी हुनेछ । बैंकमा ३ हजार २५० भन्दा बढी कर्मचारीहरु रहने छन् । त्यस्तै बैंकको २५६ एटीएम, २४१ शाखा रहित बैंकिङ्ग सेवा, ३३ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर ३ वटा बैदेशिक सम्पर्क कार्यालय र करिब २० लाख ग्राहक संख्या रहने छन् ।
मर्जपछि बन्ने बैंकको सञ्चालकमा ग्लोबलको पाँच जना र जनताबाट दुई जना आउने छन्। बैंक अध्यक्षमा चन्द्रप्रसाद ढकाल रहने छन् भने पर्शुराम कुँवर क्षेत्री प्रमुख कार्यकारी अधिकृत रहने छन्।