बैंकहरुलाई अर्थमन्त्रीको निर्देशन: व्यवसायीको लागतबाट नाफा नखोज्नुहोस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 06, 2019 | 12:29:03 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा. युबराज खतिवडाले व्यवसायीको लागतमा बैंकले नाफा खोज्न नहुने बताएका छन। जनता र ग्लोबल आइएमई बैंकको एकीकृत कारोबारको उद्घाटन समारोहमा बोल्दै अर्थमन्त्री खतिवडाले बैंकले व्यवसायीको लागतबाट आफ्नो नाफा कमाउने सोच राख्न नहुने र त्यहि अनुसार ब्याजको दर निर्धारण गर्नुपर्ने बताएका छन। 

कुनै पनि बैंक वित्तीय संस्थाले निक्षेपमा दिने ब्याज भन्दा कर्जामा लिने ब्याज थोरै नगर्ने तर व्यवसायीले तिर्ने ब्याजलाई नै नाफाको आधार भने बनाउन नहुने अर्थमन्त्री खतिवडाको भनाई रहेको छ। 

व्यवसायीले धेरै महँगो ब्याज भयो भनिरहेको सन्दर्भलाई कोट्याउदै अर्थमन्त्री खतिवडाले निक्षेप र कर्जाको ब्याजको अन्तर मिलाउन ब्याजदर अन्तरको व्यवस्था भएकाले यसको भावलाई बुझेर काम गर्न बैंकका संचालक तथा व्यवस्थापनलाई निर्देशन दिएका छन। 

अहिलेको अवस्थामा निश्चित अवधिका लागि निश्चित दरमा व्यवसायीलाई ब्याज दिन सकिने तर त्यो केहि बढी हुन सक्ने अर्थमन्त्री खतिवडाले सुझाएका छन। 

त्यस्तै बैंक वित्तीय सँस्थाले लगानीको स्रोत जुटाउने क्रममा डिबेन्चर ल्याउनु राम्रो भएपनि यसको ब्याजदर निर्धारणमा भने ध्यान पुर्याउनुपर्ने बताए। डिबेन्चरमा दिने ब्याजको दर र ब्यवसायीबाट लिने ब्याजलाई ध्यानमा राखेर डिबेन्चरको ब्याजदर निर्धारण गर्न समेत उनले सुझाब दिएका छन। 

मर्जरको सन्दर्भमा बोल्दै अर्थमन्त्री खतिवडाले ग्लोबल र जनता बैंकबीचको मर्जर अन्य बैंक वित्तीय संस्थालाई गतिलो उदाहरण भएको बताए। अहिलेपनि केहि व्यक्ति तथा परिवारका सदस्यहरुको धेरै संस्थामा सेयर रहेकाले क्रस होल्डिंङ सेयर भएकाहरुलाई मर्जरमा जानलाई अर्थमन्त्री खतिवडाले सुझाब दिएका छन। 

अहिले भनेको बेला मर्जरमा नजाने र मर्जरमा जान आनाकानी गर्नेहरुलाई कारबाहीको भागीदार हुनलाई समेत अर्थमन्त्री खतिवडाले चेतावनी दिएका छन। बैंक लहड, रहर र हचुवाको भरमा संचालन गर्ने संस्था नभएकाले इमान्दार भएर बैंक संचालन गर्नलाई समेत अर्थमन्त्री खतिवडाले निर्देशन दिएका छन।

२०६५-६६ सालमा बैंकिङ क्षेत्रमा जनताको बिश्वास हराएको र उक्त समयमा करिब ४५ संस्थालाई बन्द गर्न बिश्व बैंकले सुझाब दिएपनि आफुले समस्याग्रस्त संस्थालाई अवसर दिनुपर्छ भन्ने नीति लिएकाले अहिले धेरै संस्था रहेको अर्थमन्त्री खतिवडाले बताए। समस्याग्रस्त संस्थालाई बलियो संस्थामा प्रवेश गराउने उदेश्यबाट नै मर्जर नीति सुरु भएको अर्थमन्त्री खतिवडाले जानकारी दिए।

अर्थमन्त्री खतिवडाले ठुलो संस्थाको जिम्मेवारी पनि ठुलो नै हुने भएकाले मर्जर पश्चात बनेको ग्लोबल आइएमई बैंकलाई साना तथा मझौला व्यवसायी, उद्योगी तथा पूर्वाधारको क्षेत्रमा लगानीलाई प्राथमिकतामा राख्न सुझाब दिएका छन।     

मर्जपछि बैंकको प्राथमिक पुंजी २४ अर्ब पुगेको छ भने निक्षेप् २ खर्ब १३ अर्ब भन्दा बढी पुगेको छ । त्यस्तै बैंकको कर्जा लगानी १ खर्ब ९४ अर्ब पुगेको छ।  बैंक अध्यक्षमा चन्द्रप्रसाद ढकाल रहने छन् भने पर्शुराम कुँवर क्षेत्री प्रमुख कार्यकारी अधिकृत रहने छन्। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved