नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ विरुद्ध
छानविन गर्न बनेको समितिले आज मंगलबार प्रतिवेदन तयारी गरेको छ । समितिले छानविन
सकिसकेको र आज साँझ राष्ट्र बैंकको संचालक समिति समक्ष उक्त प्रतिवेदन बुझाउने तयारी
गरेको समितिका संयोजक श्रीराम पौडेलले बिपाटीलाई बताए।
नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले नै श्रेष्ठ माथि छानविन
गर्ने निर्णय गरेको थियो । सोही निर्णयको आधारमा अर्थमन्त्रालयले डेपुटी गभर्नर
श्रेष्ठमाथि छानविन गर्न राष्ट्र बैंक संचालक समितिलाई पत्र काटेको थियो ।
गत कार्तिक १८ गते बसेको राष्ट्र बैंकको संचालक समितिको
बैंठकले राष्ट्र बैंककै संचालक समिति सदस्य श्रीराम पौडेलको नेतृत्वमा ३ सदस्यीय
छानविन समिति गठन गरेको थियो । श्रेष्ठ माथि बैंक तथा वित्तीय संस्थाहरूको खराब
कर्जा लुकाउन सघाएको, सम्पत्ति शुद्धीकरण
निवारणसम्बन्धी सूचना संकलन गर्न राष्ट्रसंघको सहयोगमा पाँच वर्षअघि लिइएको
सफ्टवेयर प्रणाली लागू गर्न असहयोग गरेको, लाभांश लैजाने
प्रक्रिया र सर्वोच्चमा परेको मुद्दामा एनसेललाई सघाएको, रकम
फुकुवा गर्ने सर्वोच्चको फैसला आइनपुग्दै व्यापारी अजयराज सुमार्गीलाई साथ दिएको लगायतका
आरोप लागेको थियो । यिनै आरोपमाथि छानविन गरेर समितिले प्रतिवेदन बुझाउने तयारी
गरेको हो ।
समितिले प्रतिवेदन लेख्ने कार्यलाई अत्यन्तै गोप्य राखेकोले
प्रतिवेदनले के सिफारिस गरेको छ भन्ने खुलेको छैन। समितिले छानविनको क्रममा प्राविधिक
कार्यको लागि राष्ट्र बैंककै कर्मचारी प्रयोग गरेको थियो । तर प्रतिवेदन लेख्ने कार्यको लागि भने समितिले
राष्ट्र बैंकभन्दा बाहिरका व्यक्ति प्रयोग गरेको थियो । साथै
प्रतिवेदन लेखनको कार्य स्वयं श्रेष्ठ कै कार्यकक्षमा भएको थियो । छानविन समितिले आरोपीत श्रेष्ठसँग
पनि कुनै संवाद नगरेको बुझिएको छ ।