हिमालयन, एनसीसी र सेन्चुरी बैंकले किन गर्न सकेनन साधारणसभा ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 05, 2020 | 05:22:58 PM मा प्रकाशित

laxmi  sunrise bank

तीन वाणिज्य बैंक पुष मसान्त भित्र साधारणसभा गर्न असफल भएका छन् । नेपाल स्टक एक्सचेन्ज, (नेप्से) मा सुचिकृत २७ वाणिज्य बैंक मध्ये १७ वटाले साधारणसभा गरिरसकेका छन् भने ७ वटा बैंकले पुस मसान्त भित्रै साधारणसभा सम्पन्न गर्दै छन् । एनसीसी बैंक, हिमालयन बैंक र सेञ्चुरी कर्मशियल बैंकले अझै साधारणसभा आह्वान नै गर्न सकेका छैनन् । जस मध्ये सेञ्चुरीले लाभांश समेत घोषणा गर्न सकेको छैन ।

कम्पनी ऐनको दफा ७६ ले पब्लिक लिमिटेड कम्पनीले आर्थिक वर्ष सकिएको ६ महिना भित्र वार्षिक साधारणसभा गर्नुपर्ने ब्यवस्था गरेको छ । तर नेप्से मै सुचिकृत ३ बैंक ऐनले तोकेको समयमा सभा गर्न असफल भएका हुन्।

किन रोकियो साधारणसभा ?

हिमालयन बैंकले लाभांश प्रस्ताव गर्नुको साथै राष्ट्र बैंकबाट समेत स्वीकृति पाईसकेको छ । तर बैंकले साधारणसभाको मिति तय गर्न सकेको छैन । राष्ट्र बैंकले हिमालयनको लाभांश शसर्त रुपमा स्वीकृत गरेको हो। यसै कारण बैंकले साधारणसभा बोलाउन नसकेको हो । राष्ट्र बैंकले बैंकलाई संस्थापक र साधारण शेयर संरचना ८५/१५ बाट ७०/३० बनाउनुपर्ने, संचालक चयन गर्दा चुनावी प्रक्रियाबाट गर्नुपर्ने र कुुनै एक मात्रै लघुवित्त वित्तीय संस्थाको मात्रै संस्थापक शेयर १० प्रतिशतभन्दा माथि राख्न पाउने लगायतका शर्त सहित साधारणसभाको लागि स्वीकृत दिएको छ । यी शर्त कार्यान्वयनमा अन्यौलता हुँदा साधारणसभा बोलाउन नसकेको बैंक स्रोतले जनाएको छ ।

उता नेपाल क्रेडिट एण्ड कर्मश (एनसीसी) बैंकको लाभाशं राष्ट्र बैंकबाट स्वीकृत हुन बाँकी नै रहेको बैंक सुपरीवेक्षण विभागले जनाएको छ । सोही कारण बैंकको साधारणसभा हुन ढिलाई भएको हो । बैंकले वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा ढिलो आवेदन दिएकोले प्रक्रिया ढिलो भएको हो ।

सेञ्चुरीले भने लाभांश नै घोषणा गर्न सकेको छैन । राष्ट्र बैंकले बैंकको केही विषयमा अध्ययन गरिरहेको स्रोतले जनाएको छ । स्रोतका अनुसार बैंकका तत्कालिन डेपुटी सीइओ जीवन भट्टराईको विषयमा केन्द्रीय बैंकले अध्ययन गरिरहेको छ । यहि कारण वित्तीय विवरण स्वीकृत र लाभांश घोषणामा ढिलाई भएको स्रोतले जनाएको छ ।

कम्पनी ऐनमा सूचीकृत कम्पनीले साधारणसभा बोलाउँदा कम्तिमा पनि २१ दिन अगाडी सूचना प्रकाशित गर्नुपर्ने प्रवधान छ । यस ब्यबस्था अनुसार साधारणसभा बोलाउन बाँकी रहेका ३ वटै बैंकले पुष मसान्त भित्रमा साधारणसभा गर्ने सम्भावना सकिएको छ ।

के पर्छ प्रभाव ?

कम्पनीले साधारणसभा गर्न ढिलाई गर्दा त्यसको प्रत्यक्ष प्रभाव मार्जिन कारोबारमा पर्दछ । कुनै पनि कम्पनी मार्जिन कारोबारको लागि योग्य हुन आर्थिक वर्ष सकिएको ६ महिनाभित्रमा साधारणसभा सम्पन्न गरिसकेको हुनुपर्छ । साधारणसभा समयमा नहुँदा यी कम्पनी मार्जिन कारोबारको लागि योग्य हुने छैनन् ।

त्यस्तै नेप्सेले गर्ने कम्पनी वर्गीकरणमा 'ए' वर्गमा पर्न ६ महिनाभित्रमा साधारणसभा सम्पन्न गरिसकेको हुनुपर्छ । पुस मसान्तसम्म साधारणसभा नगर्ने कम्पनी ए वर्गमा पर्न पाउने छैनन् । त्यस्तै समय मै साधारणसभा नगर्ने कम्पनीहरुमा संस्थागत सुशासन पनि कमजोर भएको मानिन्छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved