नबिल बैंक Nabil Bank Limited ले नयाँ पुस्तालाई लक्षित गर्दै 'डिजी बैंक' बैंक अर्थात् डिजिटल बैंकिङको सुरुवात गरेको छ । बैंकको ३६ औ वार्षिकोत्सवको अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले 'डिजी बैंक' को घोषणा गरेका हुन् ।
बैंकिङको भविष्य मात्र डिजिटल नभई वर्तमान पनि डिजिटल बनाउनु पर्न भएकोले वर्तमान मै बैंक डिजिटलमा जान लागेको सीईओ शाहले बताए । उनले यो बैंक बैंकभित्रको पनि बैंकको रुपमा रहने र यसको लागि ७२ जना कर्मचारी नियुक्त गरिएको बताए । बैंकले डिजी बैंकको प्रमुखमा निरज शर्मालाई नियुक्त गरेको छ भने चिफमा बिनय कुमार रेग्मीलाई नियुक्त गरेको छ । बैंकले हुवावेसँग सहकार्यमा डीजी बैंकको शुरुवात गरेको हो ।
बैंकले ३६ वर्षसम्म पुरानो पुस्तालाई ढुक्क बनाएको र अब नयाँ पुस्तालाई ढुक्क बनाउन बैंकले डिजिटलमा जाने निर्णय गरेको सीइओ शाहले बताए । यस अन्तर्गत बैंकले सबै काम ग्राहकले घर बाट नै गर्न सक्ने प्रविधिको विकास गर्ने र ग्राहकलाई बैंकमा आउनै नपर्ने ब्यबस्था गर्ने बैंकले जनाएको छ। बैंकले अहिलेको बैंकिङलाई पूर्णरुपमा डिजिटलमा लैजाने जनाएको हो ।
डिजी बैंकका चिफ रेग्मीले आगामी दिनमा डेविट र क्रेडिट कार्ड पनि अनलाइनमार्फत नै उपलब्ध गराउने बताए । चीनमा विच्याटबाट मोबाइलको माध्यमबाट नै सबै काम भएजस्तै नेपालमा पनि एउटै मोबाइलबाट सम्पूर्ण बैंकिङ समबन्धि काम हुने प्रविधि विकास हुने जनाए ।
डिजिटल कारोबार गर्न ग्राहकलाई पनि प्रोत्साहन गरिने र डिजिटलमा जाँदा खर्च कम हुने भएकोले त्यसको फाइदा ग्राहकले पनि पाउने बैंकले जनाएको छ ।