बैंक वित्तीय सँस्थाले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) शिर्षकमा गरेको खर्चको विवरण नेपाल राष्ट्र बैंकलाई बुझाएका छन्। राष्ट्र बैंकले दिएको निर्देशनअनुसार बैंकहरुले सीएसआर शिर्षकमा गरिएको खर्चको विवरण बुझाएका हुन्।
बैंक, बिकास बैंक र फाइनान्स कम्पनीहरुले गत आर्थिक बर्ष सीएसआर शिर्षकमा कुल १ अर्ब २० करोड रुपैयाँ बराबर खर्च गरेका छन्। जसमध्ये २७ वटा बाणिज्य बैंकले १ अर्ब १० करोड, विकास बैंकहरुले ८ करोड र फाइनान्स कम्पनीहरुले २ करोड ४५ लाख रूपैयाँ खर्च गरेका छन्।
आर्थिक वर्ष २०७३/७४ को मौद्रिक नीतिमार्फत खुद नाफाको एक प्रतिशत रकम सीएसआरमा खर्च गर्नुपर्ने व्यवस्था गरेपनि बैंक तथा वित्तिय संस्थाहरुले गत आर्थिक बर्षको विवरण मात्र राष्ट्र बैंकलाई बुझाएका छन्। पेश गरिएको विवरणअनुसार सीएसआर शिर्षक अन्तर्गतको बजेटलाई बिभिन्न ५ शिर्षकमा छुट्याएर खर्च गरिएको छ।
सीएसआर को पैसा संचालक तथा उच्च व्यवस्थापनमा कार्यरत बैंकरहरुले आफू अनुकुल दायरा भन्दा बाहिर गएर खर्च गरेको आशंकामा बैंक वित्तीय संस्थासँग यसको विवरण माग गरिएको राष्ट्र बैंकले जनाएको छ। गत आर्थिक बर्षको विवरणलाई सतही रुपमा हेर्दा त्यस्तो कुनै दुरुपयोग नभेटिएपनि पछिल्ला ३ आर्थिक बर्षको पनि अध्ययन जारी रहेको राष्ट्र बैंक स्रोतले जनाएको छ।
'४ आर्थिक बर्षमा गरेको खर्चमा आशंका उब्जिएको छ, अहिले गत आर्थिक बर्षको विवरण मात्र आएको छ थप अध्ययन गर्दै जाँदा यसको उपलब्धी र प्रभावबारे थाहा हुन्छ' राष्ट्र बैंक स्रोतले भन्यो।
बैंक वित्तीय संस्थाहरुले खुद नाफाको १ प्रतिशत रकम सीएसआर का लागि छुट्याउनुपर्छ। उक्त रकम सीएसआर अन्तर्गत छुट्याइएका बिभिन्न ५ शिर्षकमा राखेर बैंक वित्तीय संस्थाहरुले खर्च गर्नुपर्ने हुन्छ। १ प्रतिशत रकममा पनि प्रत्येक प्रदेशमा १० प्रतिशत छुट्याउनुपर्ने हुन्छ भने पछिल्लो एकीकृत निर्देशनअनुसार वित्तीय साक्षरताको लागि अनिवार्य ५ प्रतिशत छुट्याउनुपर्ने हुन्छ।