गभर्नर अधिकारी र विश्व बैंक समूहबीच छलफल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 20, 2020 | 10:01:11 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ का कारण नेपालको अर्थतन्त्र र वित्तीय क्षेत्रमा परेको असर एवम् त्यसको न्यूनीकरणका निम्ति अवलम्बन गरिएका नीतिगत व्यवस्थाका बारेमा अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंक समूहलाई जानकारी गराएका छन् । गभर्नर अधिकारी आईएमएफ र विश्व बैंक समूहको संयुक्त वार्षिक बैठकमा श्रव्य दृश्य माध्यमबाट सहभागी भई नेपालमा भइरहेका सकारात्मक अभ्यासको बारेमा जानकारी गराएका हुन् ।

गभर्नर अधिकारीले यही अक्टोबर १२ देखि १८ तारिखसम्म आयोजित वार्षिक वैठकमा सहभागिता जनाउँदै कोषले नेपालको विकास प्रक्रियामा गरेको आर्थिक तथा प्राविधिक सहयोगबाट पुगेको योगदानको बारेमा धन्यवाद दिएका हुन् ।

यस्तै, उनले अन्तर्राष्ट्रिय वित्त निगम ( आईएफसी) को एसिया प्यासिफिक क्षेत्रका उपाध्यक्ष अल्फोन्सो गारसिया मोरासँगसँग छलफल गरेका छन् । सो अवसरमा उपाध्यक्ष मोराले नेपालको वित्तीय क्षेत्रको संस्थागत पुनर्संरचना, वित्तीय क्षमताको अभिवृद्धि, जलविद्युत् क्षेत्रमा लगानी, स्वदेशी मुद्रामा बण्ड जारी गर्नेलगायतका विषयमा चासो प्रकट गरेका थिए । यस्तै, अक्टोबर १५ मा आयोजित छलफल सत्रमा गभर्नर अधिकारीले सहभागिता जनाएका थिए । त्यस्तै उनले अक्टोबर १६ को भर्चुअल साइड मिटिङको अवसरमा आईएमएफका प्रतिनिधिसँग विश्वव्यापी महामारीको रूपमा देखिएको कोभिड–१९ ले नेपालको आर्थिक स्थिति र मानव स्वास्थ्यमा परेको असरबारे छलफल गरेका थिए ।

सो अवसरमा बैंकका आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक एवम् प्रवक्ता डा.गुणाकर भट्टले आईएमएफको मनिटरी एण्ड क्यापिटल मार्केट डिपार्टमेन्टसँग श्रव्यदृश्यका माध्यमबाट बैठकमा सहभागिता जनाएका थिए। विभिन्न बैठकका क्रममा द्विपक्षीय हित प्रवद्र्धन, आर्थिक तथा प्राविधिक सहयोगका क्षेत्रहरू, कोभिड–१९ का कारण नेपालको वित्तीय क्षेत्रमा परेका असर र त्यसको न्यूनीकरणका निम्ति लिइएका नीतिगत व्यवस्थाका विषयमा विस्तृत छलफल भएको राष्ट्र बैंकले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved