बिमा कम्पनीको सुशासनमा कडाइ, कुलिङ पिरियड र डेपुटी सीईओ सहितका नयाँ ब्यबस्था लागु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 07, 2018 | 08:12:40 AM मा प्रकाशित

laxmi  sunrise bank

बिमा कम्पनीहरुको नियामक निकाय बिमा समितिले कम्पनीहरुको संस्थागत सुशासनमा कडाइ गर्दै बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ जारी गरेको छ  । समितिले आइतबारदेखि लागु हुने गरी विभिन्न नयाँ प्रावधान समेट्दै निर्देशिका जारी गरेको हो ।

निर्देशिकामा तीन महिनाभित्र डेपुटी सीईओ राख्नुपर्ने, सीईओलाई ६ महिना ‘कुलिङ पिरियड’ लागु हुने , प्रतिस्पर्धाका आधारमा मात्र कर्मचारी नियुक्त गर्नुपर्ने लगायतका प्रावधान समेटिएका छन्।  नयाँ व्यवस्थाअनुसार हरेक बिमा कम्पनीले नायब (डेपुटी) प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्नुपर्ने भएको छ ।  निर्देशिका जारी भएको मितिले तीन महिनाभित्र डेपुटी सीईओ नियुक्त गरी समितिमा जानकारी दिनुपर्ने छ ।हाल कायम रहेका ३९ वटा कम्पनी मध्ये कुनैमा पनि डेपुटीसीईओ छैनन् ।

त्यस्तै निर्देशिकाले बैंकमा जस्तै बिमामा पनि कुलिङ पिरियडको अवधारणा  ल्याएको छ । यस ब्यबस्था अनुसार एउटा बिमा कम्पनीबाट जागिर छोडेको सीईओ ६ महिनासम्म अर्को बिमा कम्पनीमा सोही पदमा काम गर्न जान पाउदैन ।  यसअघि प्रमुख कार्यकारी अधिकृतले कम्पनी सचिवको रुपमा समेत काम गर्न पाउने व्यवस्था रहेकोमा अब कम्पनी सचिवका रुपमा काम गर्न रोक लगाइएको छ ।सीइओको योग्यतामा भने समिति केहि लचिलो भएको छ । हालसम्म बिमा कम्पनीमा सीईओका लागि स्नातकोत्तर पास हुनुका साथै बिमा क्षेत्रको न्यूनतम ५ वर्ष वा बैकिङ क्षेत्रको न्यूनतम ७ वर्ष वा दुवै क्षेत्र भए न्यूनतम ६ वर्षको अनुभव हुनुपर्ने थियो । 

अब भने प्रमुख कार्यकारी अधिकृत हुन बीमा, वित्त, व्यवस्थापन, अर्थशास्त्र, बाणिज्यशास्त्र, कानुन, गणित, तथ्यांकशास्त्र वा इन्जिनियरिङ विषयमा स्नातकोत्तर उतिर्ण गरेको हुनुपर्नेछ । स्नातकोत्तर उपाधि हािसल गरी कम्तिमा व्यवस्थापक तहमा बीमा क्षेत्रमा भए पाँच बर्ष, बैंक तथा वित्तीय क्षेत्रमा भए आठ बर्ष वा दुबै क्षेत्रमा भएमा बीमामा एक बर्षको अनभुव सहित कम्तिमा सात बर्षको अनुभव भएको व्यक्ति हुनुपर्नेछ ।

चाटर्ड एकाउटेन्सी, वा व्यवस्थापन, बीमा, अर्थशास्त्र, बाणिज्यशास्त्र, तथ्यांकशास्त्र, लेखा, गणित, र कानुन विषयमा स्नातक हासिल गरि व्यवस्थापक तहमा बीमा क्षेत्रमा १२ बर्ष कार्य गरेको, वित्तिय क्षेत्रमा हकमा १५ बर्ष वा दुबै क्षेत्रमा एक बर्षको अनुभवन सहित १३ बर्ष काम गरेका पनि सीईओ बन्न सक्ने छन्। तिनै बिषयमा स्नातकोत्तर उत्तीर्णहरुले भने बीमा क्षेत्रमा पाँच बर्ष, वित्तिय क्षेत्रमा ८ बर्षको अनुभव भएकाले सिईओ बन्न पाउनेछन्।एउटा कम्पनीमा दुई कार्यकालसम्म सिइओ बन्न पाइनेछ तर ७० वर्ष उमेर पुगेका ब्यक्ति सिइओ बन्न अयोग्य हुने व्यवस्था गरिएको छ ।

त्यसैगरि बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले पदमा वा पदबाट हटेको एक वर्षसम्म कुनैपनि कम्पनीको शेयर खरिद बिक्री गर्ने तथा सञ्चालक सर्भेयर, बीमा दलाल, सहजकर्ता वा परामर्शदाता भएर काम गर्न रोक लगाइएको छ ।


यस्तै कम्पनीहरूले बिमा समितिबाट स्वीकृत गराएर मात्र कर्मचारी सेवासर्तसम्बन्धी विनियमावली र आर्थिक प्रशासन विनियमावली कार्यान्वयन गर्नुपर्नेछ । कम्पनीहरुले प्रक्रिया पुर्‍याएर प्रतिस्पर्धाका आधारमा मात्र कर्मचारी नियुक्त गर्नुपर्ने भएको छ ।

हेर्नुस पुरा निर्देशिका र नयाँ ब्यबस्थाहरु  ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved