संसदमा पेस भएको वीमा सम्बन्धि बिधेयक अहिलेकै अवस्थामा पारित भएको अवस्थामा बीमा कम्पनीमा प्रमुख कार्यकारी अधिकृत सहित सयौं कर्मचारीले जागिर छोड्नुपर्ने देखिन्छ।
नयाँ बिधेयकको प्राधनमा संस्थापक सेयर धारण गर्ने कोहि व्यक्तिले कर्मचारीका रुपमा काम गर्न नपाउने व्यवस्था छ। प्रस्तावित बिधेयकले संस्थापक सेयरधनीलाई कर्मचारीको रुपमा काम गर्न बन्देज लगाएको छ।
'प्रस्तावित विधेयक बिना संसोधन पास हुने हो भने केहि नाम चलेका बीमा कम्पनीका प्रमुख कार्यकारी, उच्च व्यवस्थापक लगायतका सयौंको जागिरधरापमा पर्ने निश्चित छ' वीमा क्षेत्रका एक जानकारले भने, 'यस्तो अवस्थामा बीमा कम्पनीको काम कसरि अगाडी बढ्छ ?'
प्रस्तावित बिधेयकको दफा ५७ को उपदफा २ मा बिमकले बीमा व्यवसाय संचालन गर्नका लागि बीमकसंग वित्तीय स्वार्थ भएको व्यक्तिलाई कर्मचारीमा नियुक्त हुन नसक्ने व्यवस्था गरेको छ।
विधेयकको परिच्छेद १ को २ को 'ल' मा वित्तीय स्वार्थ भन्नाले बिमकको संस्थापक, संचालक, आधारभूत सेयरधनी, कार्यकारी प्रमुख वा त्यस्तो व्यक्तिको एकाघरको परिवारको सदस्य वा संचालक मनोनित गर्ने अधिकार पाएको व्यक्ति फर्म, कम्पनी वा संगठित संस्थामा बिमकको संचालक, कार्यकारी प्रमुख, आधारभूत सेयरधनी वा त्यस्तो व्यक्तिको एकाघरको परिवारको सदस्यको संलग्नता रहेको अवस्था सम्झनुपर्ने उल्लेख छ।
विधेयकको परिच्छेद १ को २ को 'ङ' मा एकाघर परिवार भन्नाले सम्बन्धित व्यक्तिको पति वा पत्नी, छोरा, बुहारी, छोरी, धर्म पुत्र, धर्म पुत्री, बाबु, आमा, सौतेनी आमा र आफुले पालन पोषण गर्नुपर्ने वा आफुलाई पालन गर्ने अन्य व्यक्तिलाई सम्झनुपर्ने उल्लेख छ।
त्यस्तै बिधेयकको दफा ४७ को उपदफा ४ मा बिमकको संचालक, कार्यकारी प्रमुख, लेखा परीक्षक, कम्पनी सचिब वा बिमकको व्यवस्थापन तथा लेखा सम्बन्धि कार्यमा प्रत्यक्ष रुपमा संलग्न व्यक्ति, तथा निजको एकाघर परिवारका सदस्यले त्यस्तो पदमा बहाल रहंदाको बखत वा त्यस्तो पदबाट अवकास प्राप्त गरेको मितिले एक बर्षसम्म सम्बन्धित बिमक वा त्यसको सहायक कम्पनीको सेयर आफ्नो वा आफ्नो एकाघरको परिवारको सदस्य वा अन्य कुनै पनि व्यक्ति वा त्यस्ता व्यक्तिको नियन्त्रणमा रहेको फर्म कम्पनी वा संस्थाको नाममा लिन वा राख्न नहुने उल्लेख छ।
प्रस्तावित बिधेयकमा भएको प्राबधानले हाल संस्थापक सेयर रहेका कुंनै पनि व्यक्तिलाई कर्मचारी बन्न रोक लगाएको छ भने उनीहरुलाई पदबाट अवकास प्राप्त गरेको एक बर्षसम्म पनि बिशेष परिस्तिथि बाहेक उक्त सेयर बिक्रि गर्न नपाउने व्यवस्था गरेको छ। यस आधारमा यो बिधेयक अहिलेकै अवस्थामा पारित भए संस्थापक सेयरधनी समेत रहेका सयौं कर्मचारीले जागिरबाट हात धुनुपर्ने देखिन्छ।
अधिकांश बीमा कम्पनीहरुमा प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत व्यक्तिहरुको संस्थापक सेयर भएकाले उनीहरुले पदबाट राजिनामा दिनुपर्ने बाहेकको दोस्रो बिकल्प नरहने देखिन्छ। अहिले आफुसंग भएको संस्थापक सेयर पदबाट अवकास भएको एक बर्षसम्म बिक्रि गर्न नपाइने भएकाले उनीहरुले एकातर्फ सेयरधारण गरेर पदमा बस्न नमिल्ने र संस्थापक सेयर पनि एक बर्षपछि मात्र बिक्रि गर्न पाउने भएकाले पदबाट राजिनामा दिनुबाहेकको दोस्रो बिकल्प नरहने देखिन्छ।
प्रस्तावित बिधेयक अन्तर्राष्ट्रिय मुल्य मान्यता बिपरित देखिन्छ। संसारभर कर्मचारीलाई संस्थाको अपनत्व दिए उनीहरुले राम्रो योगदान दिने मान्यता रहेको छ। तर नेपालमा बिमा कम्पनीमा यसको ठिक बिपरितको व्यवस्था गर्न लागिएको छ।
बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन बाफियाले बैंकमा कार्यरत कर्मचारीले कुल चुक्ता पुंजीको १ प्रतिशतसम्म संस्थापक सेयर, विकास बैंकमा २ प्रतिशत र वित्तीय संस्थामा ३ प्रतिशतसम्म संस्थापक सेयर लिन पाउने व्यवस्था छ। तर बैंकहरुमा बीमा कम्पनीहरुमा बढी कडाई गर्न लागिएको विश्लेषण गरिएको छ।
आइतबार संसदमा बिधेयक पेस गरेका अर्थमन्त्री युबराज खतिवडाले बीमा कम्पनीहरुमा समेत कर्मचारी, व्यवसायी र लगानीकर्ता अलग अलग व्यक्ति हुनुपर्छ भन्ने मान्यता बोकेको विश्लेषण गरिएको छ।