सरकार ! मेरो आँगनको खाल्डो कहिले पुर्ने ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 16, 2016 | 11:36:13 AM मा प्रकाशित

laxmi  sunrise bank

घरभाडाबापत महिनामा लाखौँ रुपिया आम्दानी हुन्छ । राजधानीमै चार पाँचतलाको भवन छ । तै पनि घरको अगाडी सानो खाल्डो देखियो भने त्यो खाल्डो पुर्न घरबेटीको चाँसो जाँदैन । सरकारको थाप्लोमा त्यो बोझ राखिदिन्छन । उनिहरु नै खोक्दै  हिड्छन , यो सरकारको चाला के हो के हो ? यस्ता खाल्डा खुल्डी हुँदा पनि किन नबनाएको होला ? एउटा सामान्य काम गर्नपनि सरकारको बाटो कुर्नुपर्ने कस्तो दर्दनाक आर्थिक हैसियत   सुन्दा पनि अचम्म लाग्छ । राजधानीका भित्री गल्लीमा हेर्ने हो भने बाटो हिडिसाध्य छैन । त्यहीँका घरबेटीहरु भने महिनामा लाखौँ आम्दानी गर्छन । टोलका बासिन्दा मिलेर धेरथोर विकास गरौँ भन्ने भावना कहिल्यै पनि आउन सकेन ।
 
हिलाम्मे बाटोमा कष्टकर यात्रा गर्दा उनिहरुलाई पनि कष्ट त हुन्छ तर पैसाको लोभमा उनिहरु बरु कठिन यात्रा गर्न राजी हुन्छन तर एक पैसा खर्च गर्न अघि सर्दैनन । उल्टै सरकारलाई सराप्छन । सरकारले यो बाटोको लागि केही पहल गरिदिएन । यस्तो सरकारको के काम ? सरकारले सत्ता चलाउने मात्र हो हाम्रो टोल किन हेथ्र्यो र ? उनिहरुको सधैको गुनासो यही रहन्छ । सरकारले खाना पनि खुवाइदिए हुन्थ्यो जस्तो आश गर्छन हुनेखानेहरु नै । अवस्था नभएर सरकारको आशा गर्नु स्वभािवक हो तर आर्थिक अवस्था हुँदाहुँदै पनि सरकारको आलोचना गर्ने आफुले सिन्को नभाँच्ने प्रवृति जायज होइन ।


 
लाखौँ पर्ने महगा कारमा हुँइकिनेलाइृ आफ्नो आगनको खाल्डो ठूलो लाग्छ । आफ्नो घरको भित्ता वरिपरि उम्रिएको जार उखेल्न पनि सरकार चाहिन्छ । घरको भित्रीभाग आफैले सफा गर्ने तर बाहिरको जिम्मा सरकारलाई । घरको फोहोरजति सडकमा जम्मा हुन्छ । किनकी घर आफ्नो हो त्यो सफा हुनुपर्छ तर बाटो भनेको जो पनि हिड्ने , सरकारी हो त्यहाँ जे गरेपनि हुन्छ ।  बाटो फोहोर भए त्यो सफा गर्ने काम सरकारको हो गरिहाल्छ भन्ने मानसिकता छ । सरकारको मुख ताक्नमा हामी नेपाली निकै माहिर छौँ । अझ विपतिको बेलामा त माग्न पनि निकै खप्पिस बन्छौँ हामी । भूकम्प या बाढी पहिरो यी विपत्तिमा दातासँग हात पसार्न हामी निकै अघि सर्छौ । केही आफैले गर्ने भन्दा पनि जसरी हुन्छ हात थाप्ने र निर्भर हुनेमै हाम्रो मानसिकता निर्भर रहन्छ ।
 
सरकारले गर्दिन्छ भन्ने आशमा डेढवर्ष देखी भुकम्पपिडित प्रतिक्षामा बसेका छन । भूकम्प पिडितलाई यसरी आशा देखाइदिएको छ कि मानौँ उनिहरुको घर सरकार आफै गएर बनाइदिने हो जसरी । स्थानिय काठपातको उपयोग गरेर निर्वाहको लागि वस्न योग्य बास बनाउन सकिन्छ भन्ने जानकारी उनिहरुलाई गराइएको छैन । हिऊद बर्खा उनिहरु सरकारको बाटो हेरेर गुर्जारीरहेका छन । शुशिल कोइरालाको पालामा भूइचालो गयो । कोइरालाको पालामा पनि आशा थियो । कोइरालापछि केपि शर्मा ओली प्रधानमन्त्री बने । उनले पनि भूकम्प पिडितको पक्षमा निकै  आशा देखाए त्यो आशा पनि आशा मै सिमित बन्यो । त्यसपछि अहिले आशा देखाउने प्रमको लाइनमा प्रचन्ड देखिएका छन ।
 
प्रचन्डले त आफ्नो सरकारले भूकम्प पिडितको लागि आठ लाखसम्म सहयोग गर्ने बचन दिएका छन । दुइलाखको आशमा डेढ वर्ष गुजारेका भूकम्प पिडितहरु आठ लाखको लागि कति वर्ष गुजार्नुृ पर्ने हो थाहा छैन । सरकारको मुख ताक्दा र आश गर्दा आकाशको फल आँखा तरी मर हुने त होइन भन्ने आशंका पनि बढेको छ । सरकारले आश मात्र देखाउँछ तर गर्नुपर्ने त आफुले हो यो कुराको हेक्का स्वयम पिडितलाई छैन ।
 
भूकम्पको मात्रै पिडा होइन । वर्षेनी बाढी पहिरोको पिडामा उस्तै अवस्था दोहोरिन्छ । सर्वसाधारणहरु घरबार गुमाउँछन । आफन्त गुमाउँछन । सरकारले केही राहत दिन्छ कि भन्दै आशैआशमा उनिहरुको जिन्दगी वित्छ त्यो भन्दा अर्थोक उपलब्धी केही हुदैन । पिडितहरु सरकारको प्रतिक्षाामा रहनु एउटा पक्ष हो  । आफ्नो औकात हुँदाहुँदै पनि सरकारको मुख ताकेर आशे बन्ने परम्पराले के कुराको संकेत गर्छ ? आफैले गर्न सकिने काममा पनि सरकारको मुख ताक्ने प्रवृतिले नेपालीलाई झनझन परनिर्भर बनाएको छ । सरकारले बाटो देखाइदिने हो तर घरभित्र छिराउने काम सरकारले गर्दैन । आफु पनि सचेत भएर आफ्नो क्षेत्रको लागि केही गर्नतिर लागिपर्ने हो कि ?

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved