नागरिकलाई तेजाव हान्ने प्रहरी कसरी 'मेरो साथी' ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 23, 2018 | 04:16:19 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल प्रहरीले ‘प्रहरी मेरो साथी’ अभियान संचालनमा ल्याएको २ बर्ष पुरा हुन लागेको छ । त्यस्तै ट्राफिक प्रहरीले 'जिब्रोको गरिमा मिठो बोली' अभियान सुरु गरेको ३ बर्ष पुरा भएको छ । अब अभियानको प्रभावकारिता बारे समीक्षा गर्ने समय आएको छ ।

दिनदिनै हुने घटनाक्रमले यी अभियान नाममा मात्र सिमित भएका हुन् कि भन्ने भान हुन्छ । अझ आईतबारको घटनाले त प्रहरीले मेरो सुरक्षा गर्छ भन्नेमा अझ आशंका उब्जेको छ। गोरखा घर भई भरतपुर महानगरपालिका– ४ त्रिचोकमा डेरा गरी बस्ने २८ वर्षीय कल्पना श्रेष्ठमाथि नजिकैको चोकमा एक प्रहरी नायब निरीक्षकले तेजाब खन्याए । दंगा नियन्त्रण गण हेटौँडा दरबन्दी भई अस्थायी ट्राफिक पोष्ट टाँडीमा कार्यरत प्रहरी नायब निरीक्षक रामचन्द्र खनियाले महिलामाथी एसिड हाने । प्रहरी नायब निरीक्षक जस्तो जिम्मेवार र राष्ट्रको सेवा गर्न खटिएको भन्ने एक सिपाहीले बाटोमा हिड्दै गरेकी महिलालाई एसिड हान्ने जस्तो जघन्य अपराध हुँदा प्रहरीलाई कसरी साथी मान्न सकिन्छ ?

यो त केवल प्रतिनिधि उदाहरण मात्र हो । यस्ता सयौ घटना हुन्छन् जुन बाहिर आएका हुदैनन । आए पनि समय संगै सेलाएर जान्छन् । नागरिक माथी प्रहरी जवान अथवा प्रहरीकै उच्च तहको अफिसरले गर्ने व्यबहार कस्तो छ भनेर अब हामीले थाहा पाईसकेका छौँ, भोगिसकेका छौँ । भर्खरै मात्र प्रहरी महानिरीक्षकमा नियुक्त भएका सर्वेन्द्र खनालले यतातिर पनि ध्यान दिनुपर्छ । लामो समय ट्राफिक महाशाखामा काम गरेको अनुभव छ उनीसँग । उनले अब त्यो अनुभव प्रयोग गर्नुपर्छ । जनयुद्धदेखी हालसम्म निकै ठूलो उपलब्धि देखाएर सरकारले समेत विश्वास गरेर आईजीपी बनेका खनालले अब संगठन भित्रैको फोहोरी खेल पखाल्नुपर्छ । कच्चा तर सच्चा सिपाही हुँ भनेर स्वघोषणा गर्नेमाथी निगरानी बढाउनुपर्छ । हुनत यो हामीले भन्ने र निर्देशन गर्ने विषय होईन । तर पनि देखिएको यही छ, प्रहरीले साँच्चै प्रहरी नागरिकको साथी हो भन्ने आभास दिलाउन आफैँ सच्चिनुपर्छ । एउटा प्रहरीले गरेको गल्तीका कारण सिङ्गो संगठन बदनाम हुन्छ ।

काठमाडौँमा सवारी चाप उल्कै छ । जति नै गाडी थप गरेपनि नागरिकले कहिल्यै आनन्दले यात्रा गर्न पाएका छैनन् । हुन त मानिसको चाप पनि दिनदिनै बढिरहेको छ काठमाडौँमा । काठमाडौँ सबैको रोजाई र कर्मथलो । गाउँबाट झोला बोकेर शहर हिडेपछि मान्छे सोझै काठमाडौँ आईपुग्छ । काम खोज्छ, पाए गर्छ नपाए भौतारिन्छ । यसरी दैनिक सयौ युवा काठमाडौँ भित्रिन्छन् । यसरी भित्रिएको जनसंख्यालाई कसरी व्यबस्थित गर्ने त ? यहाँ कसैसँग योजना छैन ।

काठमाडौँको सडक चौडा गर्ने योजना सुन्दा सुन्दा यहाँका बासिन्दाका कान पाक्न थालिसके । आज सडक चौडाको भाषण सुन्यो, भोली त्यही, पर्सी त्यही दिनै त्यही भाषण । वाक्क मान्न थालेका छन् नागरिकहरु । साँघुरो सडक, दोहोरो सवारी आवतजावत गर्न निकै मुस्किल । त्यसमाथि साना २ पाङ्ग्रे सवारी छलेर ठूला गाडी चलाउन चालकलाई पनि समस्या । यहाँ बाटोमा पुलिस देखिएन भने जहाँ पनि ट्राफिक नियम उल्लङ्घन भईहाल्छ । मान्छे गाडीबाट झर्ने छ भने छिटो छिटो भनेर सहचालक कनिकनि कराउँछ । यहाँ रोक्न दिँदैन, अहिले पुलिस आउँछ भनेर ३ किलोमिटर पर लैजान्छ खनि रोक्छ । विचरा गाडीमा उभिएर बसेका बुढा बा आमा बल्लतल्ल झर्ने तर्खर गर्छन, सहचालक छिटो छिटो भनेर फेरि कराउँछ । यो त एउटा उदाहरण हो । बाटो काट्ने ठाउँ जेब्रा क्रसिङमै गाडी मस्त रोकिएका हुन्छन् । ट्राफिक टिर्र....... टिर्र सिठ्ठी बजाईरहेको हुन्छ तर जेब्रा क्रसिङमै गाडी रोकिँदा सडकको वारपार गर्ने नागरिकलाई कति असर परेको छ भनेर उ पनि अनविज्ञ नै छ । केही दिन काठमाडौँका केही ठाउँमा ट्राफिक बत्ती जडान गरियो, जसले निश्चित समयसम्म ट्राफिक संकेत गर्छ भनिएको थियो । तर धेरै ठाउँको ट्राफिक लाईटले जडान गरेको केही दिनमै हावा खाईसक्यो । अनि फेरि ट्राफिक प्रहरी नै तैनाथ । उही ताल टिर्र ............... टिर्र.............. । सडकमा वारपार गर्ने नागरिकलाई प्रहरीले नै वारपार गर्ने गरिदिने व्यबस्था होस् । यदि यो सम्भव छैन भने कमसेकम जेब्रा क्रसिङ नै ढाकेर गाडी रोक्ने परम्पराको त अन्त्य होस् । ट्राफिकले त्यतातिर ध्यान दिने हो, मान्छे चढ्ने भेट्यो भने जहाँपनि रोक्ने, झर्ने बेलामा यहाँ होईन रोक्न दिँदैन भन्ने यो पद्धति ठिक होईन । हो ट्राफिक नियम हुन्छ, तर कतिपय अबस्थामा व्यबहार पनि हेनुपर्छ । कुप्री परिसकेका बुढा बा आमालाई यदि कुनै गाडीले रोक्न नहुने वा रोक्न निषेध गरिएको ठाउँमा रोकेर ओराल्दै गरेको कुनै ट्राफिकले देख्यो भने सिठ्ठी फुक्दै किन रोकिस् ? भन्दै आईपुग्छन् । यसरी चालकलाई अनादार शब्द प्रयोग गर्नुपनि उचित्त होईन । बाउ समानका ड्राईभर हुन्छन, २०÷२२ वर्षको ट्राफिक आएर त त र म म गर्न सुहाउँदैन ।

ट्राफिक पनि सच्चिनुपर्छ अब, सवारी चालकले पनि जेब्रा क्रसिङमा गाडी रोकेर मान्छे चढाउने परिपाटी रोक्नुपर्छ । पैदल हिड्नेलाई सहज बनाउनुपर्छ । गाडी गुड्दै गर्दा कसैले हतार हतार बाटो काट्दै गर्दा अधिकांश चलाक मुरमुरिन्छन् । मर्लास मर्लास, उनीहरुको भाषा यही हो । यसरी बोल्नु बास्तवमै सान्दर्भिक होईन । ढोकामा टाँसेको हुन्छ, ‘जिब्रोको गरिमा, मिठो बोलीमा’ अनि चालक यस्तो बोल्छन् । कतैपनि मेल नहुने त्यो स्लोगन चाँही किन टाँसेको भन्ने पनि लाग्छ ।

सिटको माथितिर टाँसिएको हुन्छ, अपाङ्गा सिट, महिला सिट, जेष्ठ नागरिक सिट भनेर । तर जेष्ठ नागरिकको सिटमा भर्खरका युवा कपाल ठड्याउँदै बसेका हुन्छन् । कथमकदाचित हतारमा गाडी चढ्दा लरवरिएर बुढो मान्छे महिला सिटमा बस्न पुग्यो भने १७÷१८ वर्षकी युवती मगमग बसाउँदै आएर बा यो त महिला सिट हो, खै उठ्नुस म बस्छु भन्छन् । यस्ता कुरा कहिलेकाही यात्रा गर्दा देखिन्छन्, हुन त खासै महिला सिटमा पुरुष बसेको पाईँदैन, तर बुढा मान्छेहरु अगाडी नै बस्ने हुनाले कहिलेकाही यस्तो भएको पाईन्छ । तर विरलै । तैपनि महिला बनेर आएका उभिन सक्ने युवतीले उठाएर बसेको देख्दा अलि ननिको लाग्ने । यस्ता विषयमा व्यबहार हेर्नुपर्छ । जेष्ठ नागरिकको सम्मान गर्नुपर्छ, फेरि यसो भनेर महिलाको अपमान गर्न भने खाजेको होईन । अब ट्राफिक प्रहरीले यस्ता विषयमा पनि खोजि गर्नुपर्छ । अब त झन सादा पोशाकमा प्रहरी तैनाथ हुँदैछन्, उनीहरुको जिम्मेवारी यो पनि हो । मोफसलमा जस्तो टिर्र ................... टिर्र ................ सिठ्ठी फुकेर मात्रै हुदैन । नागरिकलाई गुणस्तरीय सेवा दिन लाग्नुपर्छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved