राजनीतिक परिवर्तनले छोएन मजदुरलाई, उनीहरुका पीडा जस्ताको त्यस्तै

निरोज कुमार थापा

निरोज कुमार थापा

May 01, 2018 | 01:55:31 PM मा प्रकाशित

laxmi  sunrise bank

आज १ सय २९ औँ श्रमीक दिवस । नेपाल सहित विभिन्न देशमा श्रमीकका हक र अधिकारका विषयमा चेतनामूलक कार्यक्रम गरी मनाईँदैछ ।  

सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ भन्ने नारा सहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा हरेक वर्ष मे १ तारिखका दिन विश्वभर श्रमिक दिवस मनाइन्छ । उक्त आन्दोलनमा सिकागोको हेय मार्केट भन्ने स्थानमा बम विस्फोट भयो । तर विस्फोट कसले गराएको भन्ने खुल्न नसकेपनि प्रहरीले आन्दोलनकारी माथी गरेको दमनमा परी सातजना मजदुरको मृत्यु भयो । त्यसपछि सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवम् श्रमिक नेताको बैठकले विश्वभर श्रमिक दिवस मनाउने निर्णय गरेको थियो । सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन सुरु गरिएको हो । 

नेपालमा विभिन्न मजदुर संगठनले विभिन्न कार्यक्रम गरी अन्तराष्ट्रिय मजदुर दिवस मनाउँदै आएका छन् । विसं २००७ सालमा विराटनरगमा भएको मजदुर आन्दोलनसँगै नेपालमा दिवस मनाउन थालिएको हो । विसं २०४६ सालमा भएको राजनीतिक परिवर्तनपछि नेपालले मजदुर दिवसमा सार्वजनिक बिदा दिन थालेको थियो । 

सामान्यतय ज्यालामा काम गरेर दैनिकी कटाउनेलाई मजदुर भनिन्छ । अरुको काम गरेर उसले दिएको ज्यालाको भरमा आफ्नो दुई छाक गुजार्दै आएकाहरुको आफ्नै पीडा छ । उनीहरुलाई काम गर्न भन्दापनि काम गरेपश्चात ज्यालामा गरिने विभेदमा दुखेसो छ । उनीहरुले कर्म अनुसारको ज्याला पाएका छैनन्, मजदुरहरुको श्रमको शोषण भईरहेकै छ । तर पनि मजदुरको नाराले नेता बनेर आज नेतृत्व तहमा पुगेकाहरुले आजको दिनमा भावुक भाषण दिने बाहेक कुनै काम गरेका छैनन् मजदुरको लागी । हरेक राजीतिक परिवर्तनमा अग्रभागमा रहेर योगदान गरेका श्रमीकका पीडा आज पनि जस्ताको त्यस्तै छन् । 

देशमा धेरै परिवर्तन भयो । हरेक परिवर्तनमा मजदुर निर्णायक बने । तर आज उनीहरुको पक्षमा वकालत गर्ने कोही छैन् । घरबार बिहिन छन्, सडकमा गिटी कुटेर दुइ छाक टारिरहेका श्रमीकको पीडा हामीले भावनामा कोर्न सक्दैनौ । हिजोका मजदुर नेताहरु आज चिल्लो कारमा हुईकिन्छन्, हरेक आन्दोलनमा साथ दिएका मजदुरको पीडा आज पनि उस्तै छ । काममा विभेद छ, जब कर्ममै विभेद हुन्छ अनि कसरी हामी समाजवादको कल्पना गर्न सक्छौ ? मुठ्ठिमा ठेला उठुन्जेल घन बजारेर परिवार पालिरहेका, हातका छाला सोहोरिएर फेरि अर्को छाला पलाउँदा सम्म पनि निरन्तर कुटो र कोदालोमा नै ज्यान सुम्पिरहेका ती वास्तविक मजदुरलाई चिल्लो कार होईन केवल कामको सम्मान चाहिएको छ । मजदुरको नाममा खोलिएका विभिन्न संस्थाका मालिक तीनै मजदुरबाट उठाएको पैसाले आफ्नो सुख भोग गरिरहेका छन् । यसरी श्रमको शोषण गरेर हामी हामीले परिकल्पना गरेको समाजवादमा पुग्न सक्दैनौ । त्यसैले बेलैमा श्रमीकका हर समस्या र उनीहरुमाथी हुने गरेका विभेदको अन्त्य गर्न तर्फ लागौ । तर श्रम नगरी आत्मनिर्भर भईदैन र परनिर्भरले समाजवाद ल्याउने पनि होईन । समाजवाद हामी आत्मनिर्भर भएपछि मात्रै आफै आउने हो । 

म भन्ने गर्छु ‘एउटा गरिब बिहान उठ्नासाथ दौडिन्छ, एउटा धनी पनि बिहान उठ्नासाथ दौडिन्छ । तर फरक यति हो गरिब पेट भर्न दौडिन्छ, धनी पेट घटाउन दौडिन्छ ।’ जहानियाँ राणा शासन, निरङ्कुश राजतन्त्र, बहुदलीय पञ्चायत व्यबस्था र लोकतन्त्र गणतन्त्रसम्म आईपुग्दा पनि श्रमीकले आनन्दको स्वास फेर्न पाएका छैनन् । राजनीतिक परिवर्तनले श्रमीकका पीडामा खासै मलहम लगाउन सकेको छैन । आज लाखौ युवा अरबको मरुभूमिमा भेडा चराईरहेका छन्, कयौ जनशक्ति अर्काको देश बनाउँदै छ । यो हिजो सबै परिवर्तनमा अग्रणी भूमिका खेलेका श्रमीक/मजदुरका लागी दुर्भाय हो ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved