यस्तो थियो कौटिल्यको राज्यव्यवस्था नीति जसले उनलाई सर्बाधिक सफल बनायो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 30, 2016 | 11:48:43 AM मा प्रकाशित

laxmi  sunrise bank

कौटिल्यको जन्म इसापूर्व चौथो शताब्दीमा नेपालको तराईमा भएको थियो । पहिलेको मिथिला विदेह माथि मगधका अजात शत्रुले विजय प्राप्त गरेपछि सो प्रदेश त्यसबेला मगधको अधीनमा आएर लामो समयसम्म मगधको अधीनमा रहेको वा गाभिएपछि मिथिलाको अस्तित्व समाप्त भई गुमनाम रूपमा रह्यो । त्यसबेला मगधको सिमाना हिमालयको काखसम्म विस्तार भएको कुरा इतिहासमा उल्लेख छ ।

डा प्रकाश ढकाल

 आचार्य कौटिल्य प्राचीन नेपालका एक महान् राजनीतिज्ञ तथा विचारकका रूपमा रहेका छन् । आचार्य कौटिल्यलाई चाणक्य, विष्णु गुप्त, विष्णु शर्मा आदि नामले जानिन्छ । चाणक्यको नाममा अर्थशास्त्रलाई ‘कौटिल्यको अर्थशास्त्र’ भनिन्छ ।


   उनले व्यवहारिक राजनीति दर्शन प्रतिपादन गरेका छन् र आचार्य कौटिल्यको राजनीतिक दर्शनले नेपालमात्र होइन, पूर्वीय राजनीति तथा राजनीति दर्शन अत्यन्त बढी प्रभाव पारेको देखिन्छ  । 

कस्तो थियो त उनको राज्य ब्यबस्था ?

कोष 

कौटिल्यले कोषलाई निकै बढी महत्व  दिएका छन् । त्यसैले उनले कोषलाई राज्यका पाँचौ प्रकृति वा अंगका रूपमा वर्णन गरेको पाइन्छ । कोष राज्यको आधार हो । सारा कार्य कोषमा निर्भर हुने भएकाले राज्यले सबभन्दा पहिले कोष माथि ध्यान दिनुपर्ने सल्लाह दिएका छन् । प्रजाको सम्पन्नता नै राज्य कोषको सम्पन्नताको आधार हो । सम्पन्न भएमा नै प्रजाले कर दिन सक्छन्, निर्धन जनताले कुनै किसिमको राज्यलाई धन दिन सक्दैनन् । कोषधन लेनदेन गरेर कोष बढाउनु प्रयोग हो । प्रजाको आचरणको शुद्धता राजकोष वृद्धिको दोस्रो कारण हो । राज्यका जनता आचरणवान् भएमा उनीहरूको नियन्त्रणका लागि बढी धन खर्च गर्नु पर्दैन, साथै आचरणयुक्त प्रजाबाट कर मुक्तिको प्रयास पनि हुँदैन ।

चोरी नियन्त्रण राजकोष वृद्धिको तेस्रो कारण हो । चोरहरूबाट राजकीय कोषको सम्पत्ति गुप्त रूपमा अपहरण हुन्छ । त्यसैले राजकोष वृद्धिका लागि चोरहरूको नियन्त्रण जसरी छ । अन्नको वृद्धिबाट राज्य स्वावलम्बी हुनु पर्छ । यसको अभावमा जनता राजकोषमाथि आश्रित हुन पुग्छन्  । त्यसैले राजकोषको वृद्धिका लागि सत्य सम्पत्तिको वृद्धि आवश्यक छ । उद्योग,व्यापार,ऋण वृद्धिले प्रजा सम्पन्न हुन्छन् । व्यापारले धन वृद्धि हुन्छ धन वृद्धिबाट राजकीय कोषका लागि करका रूपमा अधिक धन संचय हुन्छ । उद्योग तथा व्यापारको विकासलाई राजकीय कोषको वृद्धिको आधार मानिएको छ । बाह्य तथा आन्तरिक अफवाहले जनधनको नाश हुने भएकाले राज्यलाई बाह्य तथा आन्तरिक विषयहरूबाट मुक्त राख्न पनि कोषवृद्धिको उपाय हो । राज्यले उद्योग धन्दा तथा अन्य कार्यका लागि जनतालाई दिएको धनको समयमा पूर्ण असुलि लाई पनि कोष वृद्धिको आधार कौटिल्यले मानेका छन् ।

कौटिल्यले राजकोषबाट हुने खर्चका बारेमा पनि उल्लेख गरेका छन् । देवपूजा, पितृपूजक, दान, स्वस्ति वाचन आदि धार्मिक काम, अन्तपूर, भान्छा, दूतप्रेषण, कोषाकार, शास्त्राकार, पण्यगृह, कुप्यगृहका खर्च, कृषि, व्यापार आदिको कर्माहत खर्च, चारैप्रकारका सेना संग्रहका व्यय, गाई, भैँसी, बाख्रा आदि उपयोग पशुहरूको खर्च,मृग,पंक्षि तथा अन्य हिंस्रक जंगली जनावरको रक्षाको खर्च, स्थान, घाँस, काठ आदि जंगलको सुरक्षाको खर्च आदि मुख्य खर्च हुन् । यसलाई ‘स्थान’ व्यय भनिन्छ । प्रतिदिनको नियमित खर्चलाई ‘नित्य’ भनिन्छ । पाक्षिक, मासिक तथा वार्षिक खर्चलाई ‘लाभ’ भनिन्छ । नियमित व्ययभन्दा बढी खर्च भएमा यसलाई नित्योत्पादिक वा लाभोत्पादिक खर्च भनिन्छ  । आयव्ययबाट भएको वचत निवी हो । खजानामा जम्मा भएको धनलाई प्राप्त तथा जम्मा हुन आउने धनलाई अनुवृत भनिन्छ ।
चाणक्यको अर्थशास्त्रले लौकिक आधारमा व्यवहारिक राजनीति प्रतिपादित गर्ने काम गरेको छ । राजनीतिलाई विज्ञानको श्रेणीमा राखी राजनीति शास्त्रमा साम्यक् र असाम्यक् राजनीतिको विवेचना गरिएको छ । उनले राजनीतिक कारबाही तथा प्रशासनिक र राजकीय निर्देशनलाई आवश्यक मानेका छन् । उनले व्यवहारिक राजनीतिलाई शक्तिशाली र कठोर शासनको लागि रूपरेखा प्रस्तुत गरी प्राप्त गर्ने उपाय समेत उल्लेख गरेका छन् । राज्यका प्रचलित ऐन कानुन धर्म नैतिकताको अनुरूप मात्र होइन  । राज्य र शासकको लाभ र हितको लागि हुनुपर्ने कुरालाई  समेत अगाडि ल्याउने काम गरेको छ । त्यसैले निर्णायक तत्त्व धर्म भन्दा ‘राजनीतिक हित’को धारणा प्रतिपादित भएको छ ।

गुप्तचर व्यवस्था
   कौटिल्यको नीतिमा गुप्तचरद्वारा मुख्यतः तीनवटा मुख्य कार्य सम्पन्न गरिने कुरा उल्लेख छ । यसमा राजाका आँखाका रूपमा गुप्तचरहरूद्वारा नै राजालाई शत्रुको शक्ति तथा गतिविधि थाहा हुन्छ । चरद्वारा नै राज्यलाई आन्तरिक तथा बाह्य घटनाहरूको सही सूचना प्राप्त हुन्छ र यसको अभावमा राज्य भंग हुन्छ, त्यसैले चरले सूचनादाताका रूपमा काम गर्दछ । चरद्वारा नै राज्य तथा राजाको रक्षा हुन्छ । चरका सहायताद्वारा शत्रुको शक्तिको विनाश गर्नुपर्छ ।कापटिक, उदास्थित, ग्रहपतिक, वैदेहक, तापस, शत्री, तीक्ष्ण, रसद तथा भिक्षुकी आदि अनेकौँ प्रकारका गुप्तचर हुन्छन् । धर्माेपधा उपायबाट अमात्य वर्गको परीक्षा गरेपछि राजाले गुप्तचरको नियुक्ति गर्नुपर्ने राय कौटिल्यको छ ।

 महामन्त्री, मन्त्री, पुरोहित आदिकहाँ गुप्तचर नियुक्ति गरेपछि आफूप्रति प्रजाहरू तथा नगर निवासीको अनुराग द्वेष आदि जान्नका लागि राजाले गुप्तचरहरूको नियुक्त गर्नुपर्छ । गुप्तचरहरूले आपसमा विवाद खडा गरेर जनताको प्रतिक्रिया बुझ्न सक्छन् । त्यसमा राजा विरोधी र समर्थनको विवाद खडा गर्दा जनताको राजाप्रतिको धारणा बुझ्न सकिन्छ । राजालाई सहयोग गर्ने तथा राजासँग क्रुद्धहरूप्रति पनि जासुसले ध्यान दिनुपर्छ  । राजाप्रतिका दोषीलाई चुपचाप मार्नुपर्छ । यसरी नै शत्रु देशमा राज्यले कृत्य पक्षका पुरुषलाई विभिन्न तरिकाबाट आफ्नो पक्षमा मिलाउनुपर्छ । त्यस्तै अकृत्य पक्षका पुरुषलाई भेट तथा दण्डबाट आफ्नो पक्षमा पार्नुपर्छ । यी काम गुप्तचरद्वारा सम्पन्न गरिनु पर्छ । यसरी कौटिल्यले गुप्तचरको कार्यलाई राज्य सञ्चालनमा अत्यन्त महŒवपूर्ण स्थान दिएका छन्  ।

जनपद
  राजाले अर्का देशका मानिस बोलाएर वा आफ्नै देशको आवादी बढाएर पुरानो वा नयाँ जनपद बसाउनुपर्छ । प्रत्येक जनपदमा कमसेकम सय घर तथा बढीमा पाँच सय घर हुनुपर्छ  । यस्तो गाउँ बसाउँदा शूद्र तथा किसान बढी हुनु जरुरी छ । एउटा गाउँ र अर्को गाउँबीचको दूरी एक  वा दुई कोसभन्दा टाढा हुनु हुँदैन ।

यसले गर्दा आवश्यक पर्दा एक अर्कालाई सहयोग गर्न सक्छन् । नदी, पहाड, जंगल, वैरको रूख, खाडी, तलाउ, सिमलका रूख, शमीका रूख तथा वरका वृक्ष लगाएर बसाएको गाउँको सीमा निर्धारण गर्नुपर्छ । ऋत्विक,आचार्य,पुरोहित तथा क्षेत्रीय आदि ब्राह्मणका लागि बिना शुल्क भूमि दिनुपर्छ । विभागीय अध्यक्ष, कर्मचारी, गोप (दश गाउँका अधिकारी), नगरका अधिकारी, स्थानिक, अनिकस्धा (हस्ती शिक्षक), वैध, अश्व शिक्षक, दूर देशमा जीविकोपार्जन गर्नेजस्ता अधिकारी र प्रजालाई पनि भूमि दिनुपर्छ  ।

 राजद्रोह हुने वा फुट पार्ने जनसंघ वा सहकारी संख्यासमेत प्रतिबन्धित गरिएको छ । गाउँमा नाचगृहजस्ता विलासी कुरा हुनुहुँदैन । धन खर्च हुने तथा विलासिता बढाउने क्रीडाहरू बहिष्कार गरिनुपर्छ । दण्ड बाहेक करबाट हुने कृषिमा आउन बाधा तथा चोर, हिंस्रक जन्तु, विष प्रयोग तथा कष्टबाट किसानलाई रक्षा गरिनुपर्छ । राज्यले दाउराका वन, हात्तीका वन, पुल तथा खानी आदिको रक्षा गरेपछि आवश्यकतानुसार नयाँ वन, पुल,बजार आदि निर्माण गर्नुपर्छ । राजाका नजिकका व्यक्तिहरूबाट कर असुल गर्ने, सीमा रक्षक,बाँध,राजपुरुष,लुटेरा आदिबाट र व्यापारी बाटोका बाधाबाट र देशमा सबै खाले आपत्तिबाट रक्षा गर्नु राज्यको दायित्व निर्धारण कौटिल्यले गरेका छन् ।

कौटिल्यका यिनै नीतिले उनलाई सर्बाधिक सफल बनाएको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved